नेपालमा विदेशी पर्यटक पठाउने प्रमुख स्रोत मुलुकका रूपमा पहिलोपटक अमेरिकाले भारतलाई उछिनेको छ। अगस्टमा आएको बाढीका कारण भारतीय पर्यटकको आगमनमा उल्लेख्य गिरावट आएपछि अक्टोबरमा नेपालको पर्यटन बजारमा यस्तो परिवर्तन देखिएको हो।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा अमेरिकाबाट १७ हजार ४३७ जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ३१।२४ प्रतिशतले बढी हो। सेप्टेम्बरमा नेपाल आउने अमेरिकी पर्यटकको संख्या ८ हजार २९९ मात्रै थियो।
परम्परागत रूपमा नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार रहँदै आएको भारत भने अक्टोबरमा दोस्रो स्थानमा झरेको छ। अक्टोबरमा भारतबाट १२ हजार ९७ जना पर्यटक नेपाल आएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले कम हो। सेप्टेम्बरमा भारतबाट १७ हजार ४२५ जना पर्यटक नेपाल आएका थिए।
अक्टोबरमा चीन तेस्रो स्थानमा रहेको छ। चीनबाट ११ हजार ६९५ जना पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ७३ प्रतिशतले बढी हो। सेप्टेम्बरमा चीनबाट ११ हजार २१२ जना पर्यटक नेपाल आएका थिए।
भोटेकोशी र त्रिशूली नदी प्रणालीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक अन्तर्राष्ट्रिय प्रचार हुनुका साथै होटल तथा पर्यटन व्यवसायमा बुकिङ रद्द हुने क्रम बढाएको थियो। त्यसका बाबजुद अमेरिकी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको हो।
अक्टोबरमा नेपालमा कुल १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन्। यो गत वर्षको सोही महिनाको तुलनामा ३।४ प्रतिशतले बढी हो। सेप्टेम्बरमा भने बाढीपहिरोको तत्कालीन प्रभावका कारण यात्रा योजना प्रभावित हुँदा पर्यटक आगमनमा ठूलो गिरावट आएको थियो। अगस्टमा नेपालमा ८८ हजार २४८ जना विदेशी पर्यटक आएका थिए।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले अमेरिकी पर्यटक पहिलोपटक नेपालको प्रमुख पर्यटक स्रोत बजार बनेको घटनालाई पर्यटन उद्योगका लागि उत्साहजनक भएको बताएका छन्।
ुइतिहासमै पहिलोपटक अमेरिकाबाट आउने पर्यटकको संख्या नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। यो पर्यटन उद्योगका लागि उत्साहजनक खबर हो,ु लामिछानेले भने, ुअमेरिका पहिलो स्थानमा आउनुको मुख्य कारण भारतीय पर्यटकको संख्यामा आएको गिरावट हो।ु
बाढीपहिरोले ठूलो मानवीय क्षति पनि पुर्याएको थियो। बेपत्ता हुनेमा सयौं विदेशी नागरिकसमेत रहेको विवरण सार्वजनिक भएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६३६ जना विदेशी नागरिक बेपत्ता भएको विवरण छ। तीमध्ये अधिकांश नेपाल हुँदै तिब्बतको कैलाश मानसरोवर तीर्थयात्रामा गएका गैरआवासीय भारतीय हुन्।
विपद्मा हालसम्म १ हजार ४५१ जनाको मृत्यु भएको छ भने ५ हजार ७४५ जना अझै बेपत्ता छन्। विपद्को विनाशकारी दृश्य र भिडियो अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भए पनि अमेरिकी पर्यटकको नेपाल भ्रमण भने खासै प्रभावित नभएको देखिएको छ।
मुख्य रूपमा अमेरिकी पर्यटकलाई लक्षित गरी पदयात्रा सेवा दिँदै आएको नेपाल हाइकिङ टिमका प्रबन्ध निर्देशक गंगाबहादुर थापाले विपद्पछि आफ्नो कम्पनीले एउटा पनि बुकिङ रद्द गर्नुपरेको बताए। केही पर्यटकले यात्रा मिति सारे पनि अधिकांशले पूर्वनिर्धारित योजना कायम राखेका थिए।
ुवास्तवमा हामीले एउटा पनि बुकिङ रद्द भएको पाएनौं। केहीले मात्रै यात्रा पछाडि सारे वार्षिक रूपमा १ हजार २०० भन्दा बढी अमेरिकी पर्यटकलाई सेवा दिने थापाले भने।
थापाका अनुसार अमेरिकी पर्यटकले यात्रा निर्णय गर्दा समाचारका शीर्षक र यात्रा चेतावनीमा मात्र भर नपरी सम्बन्धित स्थानको वास्तविक अवस्था बुझ्ने गर्छन्। अगस्ट २६ को विपद्ले लोकप्रिय लाङटाङ पदयात्रा क्षेत्रलाई प्रभावित पारेको थियो। तर अन्य क्षेत्र सुरक्षित थिए भन्ने कुरा उनीहरूलाई थाहा थियो,ु उनले भने।
पर्यटन व्यवसायीका अनुसार पछिल्लो समय पदयात्रा र पर्वतारोहणजस्ता साहसिक गतिविधिमा रुचि राख्ने युवा अमेरिकी पर्यटक पनि नेपाल आउन थालेका छन्।
विपद् आएपछि थापाको कम्पनीले लाङटाङ पदयात्राका लागि बुकिङ गरेका पर्यटकलाई अन्नपूर्ण सर्किट र एभरेस्ट बेस क्याम्पजस्ता वैकल्पिक गन्तव्य प्रस्ताव गरेको थियो। त्यसका लागि अतिरिक्त शुल्कसमेत लिइएको थिएन।
विपद् आएपछि लाङटाङ पदयात्राका लागि बुकिङ गरेका ग्राहकलाई हामीले अन्नपूर्ण सर्किट र एभरेस्ट बेस क्याम्पलगायतका विकल्प दियौं। लागतसमेत बढाएनौं। उनीहरू त्यसमा सहमत भए। त्यसैले एउटा पनि बुकिङ रद्द भएन,ु थापाले भने।
अमेरिकी पर्यटकमाझ लोकप्रिय अर्को ट्राभल कम्पनी धर्मा एड्भेन्चर्सका संस्थापक तथा सञ्चालक पवन तुलाधरले अमेरिकालाई नेपालको भरपर्दो पर्यटक स्रोत बजारका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार अमेरिकी पर्यटकलाई लक्षित गरेर नेपालले सीमित प्रचारप्रसार गरे पनि यो बजार निरन्तर विस्तार भइरहेको छ।
अमेरिकी बजार सधैं नेपालको भरपर्दो पर्यटक स्रोत बजार रहँदै आएको छ। उनीहरू उच्च खर्च गर्ने पर्यटकको समूहमा पर्छन् र पछिल्ला वर्षमा यो बजार निरन्तर बढिरहेको छ,ु तुलाधरले भने।
नेपालमा अमेरिकी होटल चेनहरूको विस्तारले पनि अमेरिकी पर्यटकको विश्वास बढाउन सहयोग गरेको उनको भनाइ छ। परिचित आवास सुविधा र अन्तर्राष्ट्रियस्तरको सेवा उपलब्ध हुँदा पर्यटकलाई नेपाल भ्रमण सहज भएको उनले बताए।
विश्वमै सबैभन्दा बढी खर्च गर्ने पर्यटकमध्ये अमेरिकीहरू पर्छन्। उनीहरूको संख्या बढ्नु नेपालको पर्यटन उद्योगका लागि निश्चित रूपमा राम्रो खबर हो,ु उनले भने।
केही पर्यटन व्यवसायीले अमेरिकी पर्यटकको आगमन बढ्नुमा अमेरिकामा बढ्दो नेपाली डायस्पोराको पनि भूमिका रहेको बताएका छन्। अमेरिकी राहदानी लिएका नेपालीहरू आफ्नो जन्मभूमि भ्रमण गर्न आउने क्रम बढिरहेको छ। विशेषगरी दसैं र तिहारजस्ता ठूला चाडपर्वका बेला उनीहरूको नेपाल आगमन हुने गरेको छ।
तर पर्यटन व्यवसायीका अनुसार अक्टोबरमा अमेरिका नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार बन्नुको मुख्य कारण अमेरिकी पर्यटकको आगमनमा भएको वृद्धि मात्र होइन। अगस्टको विपद्पछि भारतीय पर्यटकको आगमनमा आएको तीव्र गिरावट पनि यसको प्रमुख कारण हो।
कैलाश टुर अपरेटर्स एसोसिएसन नेपालका अध्यक्ष बिमल नाहार्कीका अनुसार बाढीपहिरोपछि सेप्टेम्बरमा कैलाश मानसरोवर यात्राका लागि जाने तयारीमा रहेका ५ हजारभन्दा बढी भारतीय तीर्थयात्रीले आफ्नो यात्रा रद्द गरेका थिए।पर्यटन व्यवसायीका अनुसार भारतीय पर्यटक सुरक्षा चिन्ता र यातायात पूर्वाधारमा हुने अवरोधप्रति विशेष संवेदनशील हुन्छन्। उनीहरूमध्ये धेरैजसो ठूलो पारिवारिक समूहमा वा धार्मिक तीर्थयात्राका लागि नेपाल आउने गर्छन्। त्यसैले भरपर्दो सडक पहुँच, समूहमा बस्न मिल्ने आवास, शाकाहारी खाना तथा परिवारमैत्री सेवाहरू उनीहरूका लागि महत्त्वपूर्ण हुन्छन्।
एक्लै वा सानो समूहमा यात्रा गर्ने पर्यटकले छोटो समयमै गन्तव्य वा यात्रा योजना परिवर्तन गर्न सक्ने भए पनि संगठित तीर्थयात्रा समूहहरू निश्चित तालिका र समन्वित यातायात व्यवस्थामा निर्भर हुन्छन्।
पर्यटन व्यवसायीका अनुसार नेपालको सडक र पर्यटकीय गन्तव्य सुरक्षित रहेको विश्वास यात्रुमा पुनः स्थापित हुन केही महिना लाग्न सक्छ। त्यसपछि मात्रै भारतीय पर्यटकको आगमन पुरानै अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
भारतीय पर्यटकको पछिल्लो गिरावट नेपालको परम्परागत सबैभन्दा ठूलो पर्यटन बजारमा सुधार देखिन थालेको अवस्थामा आएको अर्को धक्का हो।
कोभिड महामारीपछि सन् २०२३ मा नेपालले हवाई मार्गबाट ३ लाख १९ हजार ९३६ जना भारतीय पर्यटक भित्र्याएको थियो। यो अहिलेसम्मकै उच्च वार्षिक संख्या थियो। तर सन् २०२४ मा प्राकृतिक विपद् र अन्य अवरोधका कारण लगातार केही महिना भारतीय पर्यटकको आगमन घटेको थियो।
राजनीतिक तनाव, प्राकृतिक विपद्, हवाई दुर्घटना र हवाई भाडामा भएको वृद्धिका कारण केही समय उतारचढाव आए पनि पछिल्लो समय भारतीय पर्यटकको आगमन पुनः बढ्न थालेको थियो। यसले नेपालको सबैभन्दा ठूलो पर्यटन बजारमा दिगो सुधार हुने आशा जगाएको थियो।
नेपाल पर्यटन बोर्डका अनुसार यसै वर्षको मे महिनामा हवाई मार्गबाट ४० हजार ७८२ जना भारतीय पर्यटक नेपाल आएका थिए। यो अहिलेसम्मकै उच्च मासिक आगमन हो। उक्त संख्या गत वर्षको सोही महिनाको तुलनामा ३२।६६ प्रतिशतले बढी थियो। यसले नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजारमा उल्लेख्य सुधार भइरहेको संकेत गरेको थियो। तर अगस्ट २६ को बाढीपहिरोले भारतीय पर्यटकको आगमनमा भइरहेको सुधारलाई फेरि प्रभावित पारेको छ।





