• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

८० लाख तिरेर अबैध बाटोबाट अमेरिका पुगेको ११ महिनामा कार दुर्घटनामा निधन

  •  
  • २०८१ मंसिर १२, बुधबार ०६:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुकुम पूर्व, बर्दिया — अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पूर्व आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो ।

    उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने पहिचान खुलिसकेको छैन । कार चालक विजय तामाङलाई भने सामान्य चोट मात्र लागेको त्यहाँको प्रहरीले बताएको छ ।

    स्थानीय समयअनुसार बिहीबार राति १२:३० बजे भएको कार दुर्घटनापछि प्रहरीले ३० वर्षीय चालक तामाङलाई हिरासतमा लिएको छ । न्युयोर्कबाट प्रकाशित हुने नेप्योर्क अनलाइनका अनुसार प्रहरीले विजयलाई मद्यपान गरी सवारी चलाउँदा दुई जनाको ज्यान गएको अभियोगमा हिरासतमा लिएर मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएसँगै सुरेश र विवेकको परिवार शोकमा डुबेको छ । अवैध बाटो हुँदै अमेरिका पुगेका आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेशको घरमा भेला भएका आफन्तजन बोल्न सकिरहेका छैनन् ।

    अमेरिका जान भनेर २०७९ फागुन १८ मा घरबाट हिँडेका सुरेश २०८० पुस २० मा पुगेका थिए । बुबा हरिबहादुर खत्रीका अनुसार त्यहाँ पुगेर सुरेश रेस्टुरेन्टमा काम गर्थे । सधैंझैं कामबाट डेरामा फर्कने बेला कार दुर्घटना हुँदा सुरेशसहित बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको जानकारी उनले पाएका थिए ।

    Two Nepalis, including a young man who came to America after paying 80 lakhs, lost their lives in the accidentअमेरिकामा कार दुर्घटनामा मृत्यु भएका विवेक सुवेदीका आमाबुबा लगायत शोकाकुल आफन्त । तस्बिर :कमल पन्थी/कान्तिपुर

    उता, बर्दियामा विवेकको मृत्युको खबर पाउनासाथ मूर्छित आमा कुसुम सुवेदी अझै पूर्ण रूपमा होसमा आउन सकेकी छैनन् । बर्दिया मधुवनको कुसुम्बा बजारमा सामान्य पान पसल सञ्चालन गरेका यमप्रसादले उच्च शिक्षाका लागि एक्ला छोरा विवेकलाई अमेरिका पठाएका थिए । गेरुवा गाउँपालिका मनाउस्थित घरमा ०५७ कात्तिक १७ मा अढाई वर्षीया छोरी रेवतीको घरनजिकै कुलोमा डुबेर मृत्यु भएको घटनापछि बसाइँ सरेका सुवेदी परिवार हाल मधुवन नगरपालिका–८ गाउँ नम्बर १ मा बसोबास गर्दै आएको छ ।

    रुकुमका सुरेश करिब ८० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो (विभिन्न देश हुँदै स्थल र जलमार्गबाट) अमेरिका पुगेका थिए । यसबीच उनले ११ महिनामा करिब १४ लाख रुपैयाँ घरमा पठाएको बाबु हरिबहादुरले बताए । ‘३ देखि ५ प्रतिशत ब्याजमा ऋण काढेर छोरालाई अमेरिका पठाएँ, कमाइरहेकै थियो, एक दिन ऋण तिरेर सकिएला र फेरि बचत होला भन्ने सोचेका थियौं,’ भक्कानिँदै उनले भने, ‘घटना हुनु दुई दिनअघि छोरासँग कुरा भएको थियो, त्यही नै अन्तिम सम्पर्क भयो ।’

    पछिल्लोपल्ट कुरा हुँदा छोराले केही दिनमा तलब आउँछ अनि पठाउँछु भनेको सुरेशकी आमा रामकुमारी खत्रीले सुनाइन् । ‘८० लाख ऋणको ब्याजसहित तिर्नुपर्ने रकम करोड नाघेको छ, अहिलेसम्म थोरै मात्र तिरेका छौं,’ छोराको मृत्युको खबर पाएदेखि मुखमा अन्नपानी नहालेकी उनले रुँदै भनिन्, ‘लाख पनि मुस्किलले देखेका हाम्रा थाप्लामा करोडको ऋण आइलाग्यो । कमाउने मान्छेसमेत गुमायौं ।’ सुरेशको परिवारमा आमा, बुबा, तीन बहिनी र ३ वर्षका एक भाइ छन् । अमेरिकामा रहेका सुरेशका साथी सरेश गौतमले त्यहाँको प्रहरीले घटनाबारे छानबिन गरिरहेको जानकारी गराउँदै अहिलेसम्म शव अस्पतालमै रहेको बताए । ‘शुक्रबारसम्म अन्त्येष्टिका लागि शव दिने भनिएको छ, त्यसपछि हामी दाहसंस्कार गर्ने प्रक्रियामा लाग्छौं,’ उनले भने ।

    सुरेशका फुपाजु तप्तबहादुर बटालाले उता दाहसंस्कारको काम अघि बढेपछि यता कुशको शव बनाएर विधिपूर्वक अन्त्येष्टि गर्ने सल्लाह भएको बताए । अकल्पनीय शोक र करोडको ऋणमा डुबेको पीडित परिवारलाई सहयोगको खाँचो रहेको छिमेकी दीपक केसीले बताए । ‘एक–दुई हजारले समस्या टर्ने देखिन्न, ठूलो मात्रामा सहयोगको खाँचो छ,’ उनले भने, ‘देशविदेशमा रहेका साथीभाइ र आफन्तबाट सहयोग हुने अपेक्षा गरेका छौं ।’

    केही वर्षयता रुकुमका विभिन्न गाउँबाट युवालाई मानव तस्करले अमेरिका पुर्‍याउने गरेका छन् । त्यहाँ पुगेपछि काम नपाउनेदेखि अपेक्षित कमाइ नभएर मानसिक तनाव व्यहोरेका र विभिन्न दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बर्सेनि थपिँदै गएको छ । तर पनि अमेरिका जानेको संख्या दिननानुदिन बढिरहेको छ । आफ्नो टोलबाट मात्र १४ युवा अवैध बाटो भएर अमेरिका गएको केसीले बताए । ‘एकपछि अर्को गर्दै अमेरिका जाने लहर चलेको छ, गएकामध्ये केहीले वर्षौंपछि ऋण तिर्न भ्याएका छन् । कमाइ गरेर घरपरिवारको सुख त धेरै परको कुरा भयो, अमेरिका भन्नु मात्रै रहेछ ।’

    छोराको दुर्घटनामा मृत्यु भएको खबर सुनेयता बर्दियामा कुसुम बेलाबेला अचेत छन् । ‘बिहीबार छोराले फोनमा सञ्चै छु, खाना खान जाँदै छु भनेको थियो,’ बुबा यमप्रसादले भने, ‘त्यसपछि कुरै हुन पाएन, त्यहीँ कुराकानी नै अन्तिम भयो ।’ एक मात्र छोरा पनि गुमाएपछि सन्तानविहीन भएको पीडा सहन नसकेर यमप्रसाद र कुसुम भक्कानो छाडेर रोइरहन्छन् । विवेकको मृत्युले गाउँ शोकमग्न भएको आफन्त विष्णु गौतमले बताए । पढाइमा निकै जेहेन्दार विवेक छात्रवृत्ति पाएर गत वर्ष असोज ४ मा अमेरिका गएका थिए । त्यहाँस्थित वासिङ्टन युनिभर्सिटीमा कम्प्युटर साइन्स विषयमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहेका थिए ।

    ‘छोराले फुर्सदको समयमा एउटा रेस्टुरेन्टमा काम गर्दै आएको बल्ल मात्र थाहा पाएँ,’ यमप्रसादले भने, ‘पढाइ सकेर घर आउने कुरा हुन्थ्यो, अब सबै सपना चकनाचुर भयो । अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो । छोराको दाहसंस्कार गर्न अमेरिका जाने अवस्था नभएकाले सरकारले शव यहाँ ल्याउने व्यवस्था गरिदिए हुन्थ्यो ।’

    दुर्घटनाको खबर शुक्रबार राति थाहा पाए पनि त्यसबाहेक केही बुझ्न नसकेको उनले बताए । ‘कारको पछाडि सिटमा बसेका छोरा विवेक र रुकुमका एक जनाको ज्यान गएको खबर पाएको छु । कारको अगाडि बसेका व्यक्ति सुरक्षित रहेको सुन्नमा आएको छ,’ उनले भने, ‘आफू सम्हालिने कि श्रीमती सम्हाल्ने ? कि छोरालाई के कसो भएको हो बुझ्ने ? केही भेउ पाउन सकेको छैन ।’

    सुवेदीले छोरालाई अमेरिका पठाउन ३० लाख जति खर्च भएको बताए । अध्ययनमा निकै अब्बल विवेकले नेपालगन्जस्थित पब्लिक मार्डेन निजी आवासीय विद्यालयबाट कक्षा १२ सम्म पढेका थिए । उनी त्यहाँका सर्वोत्कृट विद्यार्थी भएका कारण उक्त विद्यालयले अध्ययनका लागि काठमाडौं जाने बेलामा १५ हजार पुरस्कारसमेत दिएको थियो । काठमाडौंमा स्नातक सकेर उनी अमेरिका गएका थिए । विवेकलाई गुमाउँदा गाउँमा चार दिनदेखि सन्नाटा छाएको छ ।

    महेश केसी, कमल पन्थीले कान्तिपुरमा प्रकाशित समाचार साभार गरिएको हो (सम्पादक

    Post Views: 164
    प्रकाशित मिति: २०८१ मंसिर १२, बुधबार ०६:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?
    राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन
    एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी
    Advertisement
    ताजा अपडेट
    • १. “चिकेन नेक” दक्षिण एसियाको रणनीतिक सन्तुलन र भारतका लागि सदैव संवेदनशिल किन ?

    • २. राजनीतिक दलहरूका नाममा आयोगको ६३ बुँदे निर्देशन

    • ३. एक करोड ९१ लाख मतपत्र छापियो, करिब १२ लाख बाँकी

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    चर्चित
    • १. यूरोपेली मुलुक ग्रीसमा अमेरिकी नागरिकका लागि गोल्डन कार्ड प्रणाली लागु

    • २. अमेरिकामा टीपीएस खारेजलाई अदालतद्धारा सदर गरेपछि साँढे ७ हजार नेपाली प्रभावित

    • ३. काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ

    • ४. ‘भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापालाई

    • ५. नेपाली चुनावमा अमेरिकी सिनेटरको चासो, प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.