राजधानीमा आज दुई परस्पर विचारधाराका गणतन्त्रवादी–राजावादीले एकैदिन एकै समयमा काठमाडौं उपत्यकामा प्रदर्शनको तयारी गरेका छन । उपत्यकाका विभिन्न ठाउँहरुबाट नारा जुलुससहित सभा गर्ने उनीहरुको तयारी छ । गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् । भने राजावादीहरुको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । तर शुक्रबारको प्रदर्शनको कमाण्डर भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति प्रशासनको छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार गणतन्त्रवादीहरुको नेतृत्व गरेको समाजवादी मोर्चालाई प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा सभा गर्ने ठाउँ नै तोकिएको छ । यी दुई फरक विचारधाराका समूहबीच एकैपटक प्रदर्शन हुने भएपछि सुरक्षा चुनौतीबारे छलफल गर्न १० चैतमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत डाकिएको थियो ।
गृह मन्त्रालयमा बसेको उक्त बैठकमा गृहमन्त्री रमेश लेखकका साथै गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव, नेपाली सेनाका बलाधिकृत रथी, प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका महानिर्देशक हुतराज थापा र गृह मन्त्रालयका सहसचिव ९सदस्य सचिव० सहभागी थिए ।
१५ चैतमा एसईई परीक्षा समेत भएकाले ११ बजेपछि मात्रै जुलस निकाल्न अनुरोध गरिएको प्रहरीको भनाइ छ । जसले गर्दा बाटो समेत जाम नहुने र परीक्षामा असर नपर्ने बुझाइ प्रहरीको छ ।
काठमाडौंमा हुने छुट्टाछुट्टै प्रदर्शनलाई लिएर हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्न नेपालस्थित अस्ट्रेलियन राजदूतावासले आग्रह गरेको छ । ट्राभल एड्भाइजरी जारी गर्दै दूतावासले काठमाडौंमा शुक्रबार ट्राफिक अवरुद्ध हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरेको हो । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । सो प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता पनि बढाइएको छ ।
त्यसतर्फ ध्यान दिँदै दूतावासले आवतजावत सीमित गर्न आग्रह गरेको छ । आवश्यक नभएसम्म बाहिर ननिस्कन आग्रह गर्दै प्रभावित क्षेत्रमा नपुग्न सर्वसाधरणलाइै आग्रह गरेको हो । स्थानीय सुरक्षा निकाय, प्रहरी अधिकारी लगायतले जारी गरेको निर्देशन पालना गर्न दूतावासको आग्रह छ ।


