काठमाडौं महानगरपालिका विगतदेखि नै चर्चामा रह्यो । कामले भन्दा हल्लाका भरमा बढी चर्चा बटुलेको नगरपालिका पछिल्लो समय व्यापक विवादमा फसेको छ । आर्थिक मितव्ययिताको सिद्धान्तविपरीत आफ्ना जनप्रतिनिधिहरूका लागि सुन र चाँदीजस्ता बहुमूल्य धातुको लोगो बनाउन आधा करोड रुपैयाँभन्दा बढी खर्च गरेको विषयमा महालेखा परीक्षकले काठमाडौं महानगरपालिकामाथी प्रश्न उठाएको छ । जुन कुरा अनावश्यक मानिन्छ । महालेखा परीक्षकको कार्यालयले यस खर्चलाई ‘अनुचित’ भन्दै महानगरको खर्च गर्ने प्राथमिकतामाथि प्रश्न उठाएको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार महानगरले १ सय ६२ जना पदाधिकारीका लागि लोगो बनाउन कुल ५५ लाख ८९ हजार ४१२ रुपैयाँ खर्च गरेको उल्लेख छ ।

यसका लागि ४८६ ग्राम सुन र १९४४ ग्राम चाँदी खरिद गरिएको थियो । प्रतिवेदनले सामान्य प्रकृतिको लोगो बनाएर खर्च कटौती गर्न सकिने अवस्थामा पनि विलासितामा रकम खर्च गरिएको भन्दै प्रश्न उठाएको हो । महालेखाले प्रतिवेदनमा भनेको छ, ‘लोगो निर्माण गर्दा खर्चमा मितव्ययिता हुनेगरी सामान्य प्रकृतिको बनाउन सकिनेमा सुन र चाँदी राखी गरेको खर्च औचित्यपूर्ण देखिएन ।’
त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि पनि छानबिन अघि बढाएको छ । आफ्नो क्षत्राधिकार नै अस्तव्यस्त हुनेगरी सल्लाहकार राखेर अनावश्यक खर्च गरी रहेको व्यापक जनगुनासो पहिलेदेखि नै आएको हो । उनले विदेश भ्रमणमा जाँदा निजी सल्लाहकारहरुलाई पनि महानगरकै खर्चमा लगेको पाइएपछि अख्तियारले छानबिन अघि बढाएको हो । महानगरको पैसामा विदेश घुम्ने र ठेक्का पट्टामा संलग्न हुने र अकुत सम्पति जोडेको जनगुनासा पनि सुनिन थालेका छन । अनि एक जना मेयरले कति सल्लाहकार राख्न पाउने कुनै कानुनी दायरा नभएकाले लोनका आधा दर्जन सल्लाहकार रहेको र उनले संधै उनै सल्लाहकारका भर महानगर हाक्न खोजे पनि कार्यकारी अधिकृत र बडा सदस्यहरुसंग विविद बढी रहेको बताईन्छ ।
गत वर्षको जेठमा बालेन) विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन दुईजना सल्लाहकारसहित फ्रान्स गएका थिए । त्यतिखेर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल भ्रमण टोलीमा सहभागी थिए । उक्त टोली जेठ ७ गते नेपाल फर्किएको थियो । त्यसैलाई आधार बनाएर अख्तियारले छानवीन शुरु गरेको हो ।
सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रूपमा सहभागी गराएको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । त्यस्तै महानगर प्रमुख बालेन सल्लाहकार सुनील लम्सालका साथमा अर्कोपल्ट ब्राजिल भ्रमणमा गएका थिए । यस भ्रमणको खर्च पनि अनियमितरूपमा गरिएको महालेखाले उल्लेख गरेको छ । अख्तियार स्रोतअनुसार, अख्तियारले उनका सल्लाहकारहरूसँग बयान लिइसकेको छ । बालेनसँग पनि सोधपुछ गरेपछि मुद्दा चल्ने कि नचल्ने भन्ने विषयमा अख्तियारले निर्णय गर्नेछ । महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले काठमाडौँ महानगर प्रमुखसहित विभिन्न पदाधिकारी तथा कर्मचारीले विदेश भ्रमण गर्दा ५२ लाख ५४ रुपैयाँभन्दा बढी अनियमित रूपमा खर्च गरेको औँल्याएको छ । त्यसमध्ये ३२ लाख ७९ हजार रूपैयाँबराबरको अनियमित खर्च बालेन र उनका सल्लाहकारका नाममा भएको भेटिएको छ ।
महालेखा प्रतिवेदनअनुसार, स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं. ४ मा महानगरपालिकाको प्रमुखको विदेश भ्रमणका लागि मनोनयन गर्ने अधिकार नेपाल सरकारको हुने उल्लेख छ । निर्देशिकाको बुँदा नं. ८ (१) मा दफा ५ बमोजिम सम्बन्धित स्थानीय तहको सिफारिसमा मनोनयन भएको पदाधिकारीले सम्बन्धित स्थानीय तहबाट भ्रमण खर्च पाउने र यसबमोजिम बाहेक विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण वापतको खर्च कुनै पनि सरकारी कोषबाट नव्यहोरिने उल्लेख छ । त्यस्तै स्थानीय तहका कर्मचारीहरूको विदेश भ्रमण सम्बन्धी निर्देशिका, २०७५ बुँदा नं. ४ मा कर्मचारीको विदेश भ्रमणका लागि राजपत्रांकित विशिष्ट श्रेणी र राजपत्रांकित प्रथम श्रेणीबाहेक अन्य कर्मचारीको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवले मनोनयन गर्ने व्यवस्था छ ।
तर, काठमाडौँ महानगरपालिकाका पदाधिकारी तथा कर्मचारी वैदेशिक भ्रमण गरी ५२ लाख ५४ हजार ७७ रुपैयाँ खर्च लेखेकोमा निर्देशिकामा तोकिए बमोजिम मनोनयनबेगर वैदेशिक भ्रमण गरेको देखिएकोले भुक्तानी भएको खर्च रकम नियमसम्मत नदेखिएको नभएको प्रतिवेदनमा उल्लेख छ । संधै चर्चामा रहेको काठमाठौं महानगर भन्दा उपल्लोस्तरको काम गरी रहेको करिब २ दर्जन भन्दा बढी महानगर, उपमहानगर एवं नगरपालिकाहरु रहेको विभिन्न अनुसन्धान तथा रिसर्चहरुले पुष्टि गरेका छन । उनिहरु प्रचारमा भन्दा काममा बढी ध्यान दिने गरेका छन ।





