नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा ढाका टोपी र दौरा सुरुवालमा दौडिएर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाएका हुन् ।


शुक्रवार फ्लोरिडाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुकका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरेका छन । अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो । अत्यन्त चुनौतीपूर्ण मानिने ‘विश्व म्याराथन च्यालेञ्ज’ २०१५ बाट सञ्चालन हुदै आएको छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । म्याराथनमा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।

जोशीले आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि दौरा सुरुवालमा म्याराथन पुरा गरेको बताएका छन । म्याराथुनका लागि पहिरिएको दौरा सुरुवाल काठमाण्डौंमा तयार गरीएको बताइएको छ । अमेरिकाको टेक्ससको ग्रेपभाईनवासी जोशी पशुपतिनाथ मन्दिर, चेम्बरको संस्थापक हुन् । उर्नी पेशाले बैंकर्स हुन् । उनि सन्चार कर्म गर्न रुचाउँछन । केहि समय अघि उनि सेतो पाटी अनलाईनका अमेरिका प्रतिनिधि थिए ।





