स्पेन सरकारले मंगलबार देशमा पहिलेदेखि बसोबास गरिरहेका कागजातविहीन आप्रवासीहरूलाई कानुनी हैसियत दिने प्रक्रिया सुरु गर्न स्वीकृति दिएको छ। यस कदमबाट पाँच लाखभन्दा बढी मानिस लाभान्वित हुने अपेक्षा गरिएको छ। यसलाई “ऐतिहासिक दिन” भन्दै स्पेनकी आप्रवासन मन्त्री एल्मा साइसले सरकारले “मानव अधिकारमा आधारित र आर्थिक वृद्धिसँग अनुकूल आप्रवासन मोडललाई सुदृढ गरिरहेको” बताएकी छिन ।

उनका अनुसार मन्त्रिपरिषद्ले शाही आदेशको मस्यौदा तयार गर्न अनुमति दिएको छ । जसअनुसार २०२५ डिसेम्बर ३१ अघि स्पेन आएका, कम्तीमा पाँच महिना निरन्तर बसोबास गरेको प्रमाण पेश गर्न सक्ने, र कुनै आपराधिक अभिलेख नभएका आप्रवासीहरूले कानुनी हैसियत प्राप्त गर्न सक्नेछन्।
स्पेनको आप्रवासन नियममा गरिएको सुधारअनुसार, आवेदन स्वीकृत भएको पहिलो दिनदेखि नै काम गर्न पाउने अधिकार आप्रवासीहरूलाई दिइनेछ, साइसले भनिन्। साथै, यस वर्षको अन्त्यअघि असाईलमका लागि आवेदन दिएका सबै व्यक्तिहरू पनि यसमा योग्य हुनेछन्।
उनका अनुसार आवेदन प्रक्रिया अप्रिलको सुरुआतमा सुरु भई जुनसम्म खुला रहने अपेक्षा गरिएको छ। यो कदम वामपन्थी दल पोदेमोससँग सहमतिमा लिइएको हो। पोदेमोसकी नेता आयोने बेलार्राले यस कानुनीकरण प्रक्रियाबाट ५ लाखदेखि ८ लाखसम्म मानिस लाभान्वित हुन सक्ने बताइन्। “यी मानिसहरू पहिल्यै यहाँ बसिरहेका छन् ‘ तर अधिकारविना काम गरिरहेका छन्,” उनले सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा भनिन्, र यस कदमलाई पछिल्ला वर्षहरूमा श्रमिक अधिकारको क्षेत्रमा भएका सबैभन्दा ठूला प्रगतिहरूमध्ये एक को रूपमा वर्णन गरिन्।
म्याड्रिडको यो निर्णय त्यतिबेला आएको हो, जब युरोपेली संघका बढ्दो संख्यामा देशहरूले अनियमित आप्रवासीविरुद्ध कडा उपायहरू अपनाइरहेका छन्।
स्पेन पछिल्ला दुई वर्षयता युरोजोनको प्रमुख अर्थतन्त्रहरूमध्ये सबैभन्दा तीव्र रूपमा बढिरहेको देश बनेको छ। मंगलबार सार्वजनिक गरिएको आर्थिक तथ्यांकअनुसार, स्पेनको बेरोजगारी दर १७ वर्षपछि पहिलो पटक १० प्रतिशतभन्दा तल झरेको छ। यस प्रक्रियाबाट लामो समयदेखि स्पेनमा रहेका करिब १० हजार भन्दा बढी नेपाली सुमदाय लाभान्वित हुनेछन ।





