यो हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पद सम्हालेको एक सय दिन पुग्दैछ । यो अवधिमा सार्वजनिक गरिएको एक सर्वेक्षण अनुसार, धेरैजसो अमेरिकीहरू जसमा केही रिपब्लिकनहरू समावेस छन उनिहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति विभिन्न महत्वपूर्ण मुद्दाहरूमा विश्वास गुमाउँदै गएको बताएका छन । सर्वेक्षणले देखाएको छ कि बहुमतले ट्रम्पको दोस्रो कार्यकाललाई अहिलेसम्म “डर लाग्दो” भनेर वर्णन गरेका छन् । आर्थिक मामिला र ट्रम्पको आप्रवासन नीतिको कमजोर मूल्यांकनसँगै, शनिबार सार्वजनिक गरिएको अर्को सर्वेक्षणमा केवल २४% अमेरिकीहरूले मात्र ट्रम्पले राष्ट्रपति हुँदा सहि प्राथमिकताहरूमा ध्यान दिएको विश्वास बताइएको छ ।
राष्ट्रपति ट्रम्पप्रति झुकाव राख्ने फक्स न्यूजले सञ्चालन गरेको सर्वेक्षणले पनि उनलाई राहत दिएको छैन । बुधबार सार्वजनिक गरिएको एक सर्वेक्षण अनुसार, केवल ३८% अमेरिकीहरूले ट्रम्पको आर्थिक प्रदर्शनलाई अनुमोदन दिएका छन् भने ५६% ले अस्वीकृति जनाएको सर्भेक्षणमा उल्लेख छ ।

फक्स न्यूजको सर्वेक्षण अनुसार ५८% सहभागीहरूले ट्रम्पको समग्र प्रदर्शनप्रति असन्तुष्टि जनाएको, ५९% ले मुद्रास्फीतिसम्बन्धी नीतिमा अस्वीकृति जनाएको, केवल तीनमध्ये एक अमेरिकीले ट्रम्पका नीतिहरू अर्थतन्त्रलाई सहयोग पु¥याइरहेको बताएका छन्, र केवल ४०% ले मात्र यी नीतिहरूले देशलाई लाभ पु¥याउने विश्वास गरेका छन् । यो सर्वेक्षण यस्तो समयमा आएको हो जुन बेला ट्रम्पको लोकप्रियता, कार्यकालको यति प्रारम्भिक चरणमै, ऐतिहासिक रूपले न्यून देखिएको समाचार माध्यमहरुले जनाएका छन । आधाभन्दा बढी मतदाताहरूले राष्ट्रपति ट्रम्पको कामप्रति असन्तुष्टि जनाएका छन्, र बहुसंख्यकले उनको भन्सार नीति र संघीय कर्मचारी कटौतीको विरोध गरेका छन् ।
यी तीव्र आलोचनाहरू ट्रम्पको दोस्रो कार्यकालको १०० दिन पुग्न लाग्दा आएका हुन्, र यसले संकेत गर्छ कि अमेरिकी जनताले जुन उत्साहका साथ जिताएका थिए अहिले थाकेका छन । उता राष्ट्रपति ट्रम्पद्धारा आलोचना गरिने एसोसिएटेड प्रेस सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको एक सर्वेक्षणले देखाएको छ कि डोनाल्ड ट्रम्पको प्राथमिकता सही स्थानमा केन्द्रित रहेकोमा रिपब्लिकनहरू समेत पूर्ण रूपमा विश्वस्त छैनन् । सर्वेक्षणमा सहभागी भएका रिपब्लिकनहरूको संकीर्ण बहुमत ५४% ले मात्रै ट्रम्पले “सही प्राथमिकता” मा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । तर स्वतन्त्र मतदाताहरू बीचमा ट्रम्पको स्थिति निकै कमजोर देखिएको छ ।
यसैबीच, न्यू योर्क टाइम्स÷सिएना कलेजको शुक्रबार सार्वजनिक गरिएको अर्को सर्वेक्षणले ट्रम्पको स्वीकृति दर ४२% रहेको देखाएको छ, तर स्वतन्त्र मतदाताहरूमा त्यो संख्या झरेर २९% मात्र रहेको छ । आधाभन्दा बढी मतदाताहरूले ट्रम्प “आफ्नो अधिकारभन्दा बढी शक्ति प्रयोग गरिरहेका भनेका छन्, र ५९% ले उनको दोस्रो कार्यकाल “डर लाग्दो” भएको बताएका छन् । यद्यपि परम्परागत रूपमा रिपब्लिकन नेताहरूलाई आर्थिक मामिलामा उच्च मूल्याङ्कन गरिन्छ, अमेरिकीहरू ट्रम्पको आर्थिक प्रदर्शनबाट सन्तुष्ट छैनन् । टाइम्सको सर्वेक्षण अनुसार अहिले केवल ४३% मतदाताहरूले ट्रम्पको आर्थिक व्यवस्थापनलाई समर्थन गरिरहेका छन् जुन अप्रिल २०२४ मा भएको टाइम्सको सर्वेक्षणको ६४% स्वीकृति दरको तुलनामा ठूलो गिरावट आएको देखाएको छ ।
यस्ता विभिन्न सर्भेक्षणहरुमा जेनरेशन जे यूवा पुस्ता (सन् १९९५ देखि २०१२ बीच जन्मिएका) मा स्थिति झन् गम्भीर देखिएको छ । सर्वेक्षणमा ६९% जेन जे सहभागीहरूले ट्रम्पको आर्थिक नीति र जीवनयापनको लागत व्यवस्थापनप्रति अस्वीकृति जनाएका छन् । उनीहरूले धेरै ठाउँमा भाडा तिर्नसमेत समस्या भइरहेको बताएका छन् घर किन्ने कुरा त झन टाढाको विषय भयो र मुद्रास्फीति प्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।


