लामो समयदेखिको अध्ययन अनुसार उत्तरपश्चिम प्रशान्त क्षेत्रमा आउने एक विशाल भूकम्पले उत्तरी क्यालिफोर्नियादेखि वाशिंगटनसम्मको तटवर्ती क्षेत्रहरूलाई ठुलो जोखिम र व्यापक क्षति हुने निश्कर्ष निकाल्दै जोखिम कम गर्ने उपाय अपनाउन सुझाव दिएको छ । त्यो भुकम्पको संभावना रहेको र त्यसबाट हुने जोखिमहरुमा सामुद्रिक तटीय भूभागहरू छिटो बगाउने र समुद्री सतह नाटकीय रूपमा बढाउने सम्भावना रहेको दावी गर्दै समुदायहरूमा बाढीको जोखिमलाई न्यूनिकरण गर्ने उपाय अपनाउन सुझाइएको छ ।

यो कुरा प्रोसिडिंग अफ दि नेसनल एकाडेमी अफ साईन्समा प्रकाशित एक नयाँ अध्ययनले जनाएको हो । जसले क्यानडादेखि क्यालिफोर्नियासम्म फैलिएको तटीय कास्काडिया फाल्टमा आउने सम्भावित शक्तिशाली भूकम्पको प्रभावको अध्ययन गरेको छ । त्यो भुकम्प जुनसुकै बेला जान सक्दछ त्यसैले त्यसबाट बच्न तयारी गर्न सुझाइएको छ । उक्त क्षेत्रमा लामो समयदेखि भुकम्प जानसक्ने खतरा औल्याउँदै यदि गएको खण्डमा ठूलो सुनामी ल्याउनेछ, व्यापक विनाश निम्त्याउनेछ र सम्भवतः हजारौंको ज्यान जाने खतरा हुनेछ ।
एक ठूलो भूकम्पले तटीय क्षेत्रमा जमिन छ फिटभन्दा बढीसम्म बस्न सक्नेछ र तटीय बाढी प्रभावित क्षेत्रलाई उल्लेखनीय रूपमा विस्तार गर्नेछ, जसको “तटीय जनसंख्या, पूर्वाधार र पारिस्थितिक प्रणालीमा दीर्घकालीन प्रभाव“ पर्ने अध्ययनले बताएको छ । अध्ययन अनुसार आगामी ५० वर्षमा कास्काडिया फाल्टमा ८.० म्याग्निच्युडभन्दा ठूला भूकम्प आउने सम्भावना १५% छ भन्दै अमेरिकी सन्चारमाध्यम द गार्जियने समाचार छापेको छ ।
“कास्काडिया सबडक्शन जोनको भूकम्पपछि तटीय बाढी प्रभावित क्षेत्रको विस्तार पहिले कहिल्यै मात्रामा मापन गरिएको थिएन, र यसले भूमिको प्रयोगमा पर्ने प्रभावले पुनःस्थापनाको समयावधि उल्लेखनीय रूपमा बढाउन सक्छ,“ अध्ययनकी प्रमुख लेखक तथा भर्जिनिया टेककी भू–विज्ञान सहप्राध्यापक टीना डुरा, वीलियम चिल्टन र डेभिड स्मलले विश्वविद्यालयको एक प्रकाशनसँग भनेकी छिन् ।
जलवायु परिवर्तनका कारण समुद्री सतहको वृद्धिले क्रमिक रूपमा असर गर्छ, तर यी भूकम्प–जन्य परिवर्तनहरू भने एकैचोटि हुने र दशकौंदेखि शताब्दीसम्म टिकिरहने खालका हुन्छन्, डुरा र उनका सहलेखकहरूले लेखेका छन् । सबैभन्दा ठूलो प्रभाव “घना जनसंख्या भएको“ दक्षिणी वाशिंगटन, उत्तरी ओरेगन, र उत्तरी क्यालिफोर्नियाका भागहरूमा पर्नेछ । यदि अर्को ठूलो भूकम्प सन् २१०० मा आयो भने जुन ८.० म्याग्निच्युडभन्दा ठुलो हुने सम्भावना २९% रहेको अध्ययनमा उल्लेख गरिएको छ । त्यो जलवायु–प्रेरित समुद्री सतह वृद्धिसँगै आयो भने, फाल्टको छेउका केही “निम्न भूभागहरू“ सायदै कहिल्यै सतहमा नआउने गरी भासिने संभावना छ ।
अध्ययनका लेखकहरूले आशा गरेका छन् कि उनीहरूको पत्ता लगाइएका निष्कर्षहरूले नीति निर्माता र तटीय समुदायहरूलाई भूकम्प र जलवायु–प्रेरित समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमहरूको तयारी गर्न सहयोग पु¥याउनेछ ।
“यी मिश्रित जोखिमहरूको तयारीले दीर्घकालीन क्षति घटाउन, समुदायहरूको लचिलोपन सुनिश्चित गर्न, र महत्वपूर्ण तटीय पारिस्थितिक प्रणालीहरूलाई स्थायी विनाशबाट जोगाउन सकिन्छ,“ लेखकहरूले लेखेका छन् । लेखकहरूका अनुसार, उनीहरूले आशा गरेका छन् कि यो अनुसन्धानका निष्कर्षहरूले नीति निर्माताहरू र तटीय समुदायहरूलाई भूकम्प तथा जलवायु–प्रेरित समुद्री सतह वृद्धिबाट उत्पन्न हुने जोखिमहरूको तयारीमा सहयोग पु¥याउनेछ । कास्काडिया सबडक्शन जोनमा पछिल्लो ठूलो भूकम्प सन् १७०० मा आएको थियो, जसले केही मिनेटमै समुद्री सतहलाई छ फिटभन्दा बढी उचाइमा उठाएको थियो र विशाल सुनामी उत्पन्न गराएको थियो, जसले समुद्रकिनारका बस्तीहरू ध्वस्त पा¥यो र यसको असर टाढासम्म—यहाँसम्म कि जापानमा पनि—देखिएको थियो ।
हालैको अनुसन्धानले देखाएको छ कि यदि कास्काडिया सबडक्शन जोनमा ९.० म्याग्निच्युडको भूकम्प आयो भने ३०,००० भन्दा बढी मानिसको ज्यान जान सक्छ, तटीय क्षेत्रमा १ लाख ७० हजारभन्दा बढी संरचना क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त हुन सक्छ । आर्थिक क्षति ८१ अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्छ । एक २०२२ को अध्ययनले देखाएको छ कि यस्ता ठूला भूकम्पद्वारा उत्पन्न हुने सुनामी २०० फिटभन्दा अग्लो हुन सक्नेछ ।
विस्तृतमा अध्ययन तलको लिंकमा पढ्न सकिनेछ ।
https://www.pnas.org/doi/10.1073/pnas.2424659122#executive-summary-abstract




