भिजिट भिसा प्रकरणपछि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा हुन सक्ने ’सेटिङ’ भत्काउन गृह मन्त्रालयले कर्मचारी खटनपटनमा विशेष तरिका अपनाउन थालिएको छ । जसले केहि हद सम्म ’सेटिङ’ भत्किएको र सुधार भएको बताइएको छ । भिजिट भिसामा विभिन्न देशमा रोजगारीका लागि जाने नेपाली नागरिकसँग विमानस्थलको अध्यागमनमा रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । जस अनुसार “अध्यागमन कार्यालयका यसअघिको भन्दा अनुगमन र निगरानी बढाइएको छ । अध्यागमन विभागले ती सुधारका कामहरू गरिरहेको छ ।

अध्यागमनको ’सेटिङ’ भत्काउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा खटिने कर्मचारीलाई दोहो¥याएर उक्त कार्यालयमा सरुवा नगर्ने निर्णय लिइएको अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले बताएका छन । पटकपटक उक्त कार्यालयमा सरुवा भएर जाने कर्मचारीहरू अनियमिततामा संलग्न भएको आशङ्का र गुनासोपछि यस्तो कदम चालिएको अध्यागमन अधिकारीहरूको भनाइ छ ।
अध्यागमन विभागले निश्चित व्यक्तिहरू अध्यागमन कार्यालयमा दोहोरिएर जाने अवस्था निम्तिन नदिन थप ४५ जना कर्मचारीहरूलाई अध्यागमनसम्बन्धी कामको तालिम दिन सुरु गरिएको जनाएको छ । “विभागले विमानस्थलको अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारीहरू नराख्ने र कर्मचारीहरूलाई त्यहाँ दोहो¥याएर सरुवा पनि नगर्ने निर्णय लिएको बताइएको छ ।
त्यसैगरी “विमानस्थल अध्यागमन कार्यालय हुँदै भिजिट भिसामा बाहिरिने नागरिकहरूका ’नो अब्जेक्शन लेटर’देखि स्वदेश फर्कने टिकट र होटेल बुकिङका कागजातका प्रतिलिपिहरू पनि राख्न सुरु गरिएको छ । “व्यवस्थापकीय सुधार लागि राहदानी विभाग, एनओसी दिने कार्यालय लगायतसँग पनि हाम्रो सफ्टवेअर इन्टरलिङ्क गर्ने काम गरिरहेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले बिहीवार एक सूचना जारी गर्दै विमानस्थलमा खादा र मालाजस्ता सजावटका वस्तु लगाएर जान रोक लगाएको छ । अध्यागमन कार्यालयले कुनै समूह, ’म्यानपावर कम्पनी’ वा सङ्गठनको परिचयपत्र वा उस्तै किसिमका टोपी र चस्मालगायतका पहिचान झल्कने वस्तुहरू लगाएर अध्यागमन क्षेत्रभित्र जान पनि रोक लगाएको छ ।
मानव तस्करहरूसँगको मिलेमतोमा भिजिट भिसामा रोजगारीका लागि बाहिरिने नेपालीहरूसँग विमानस्थलको अध्यागमन कार्यालयमा रकम असुली हुने गरेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठमा विमानस्थल अध्यागमन कार्यालयमा छापा मारेको थियो।





