जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले पोल्यान्डमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण गर्ने भएको छ।

दूतावासले जारी गरेको सूचनाअनुसार गत जनवरीमा पोल्यान्डमा सञ्चालित घुम्ती सेवा शिविरमा प्राप्त आवेदनबमोजिम तयार पारिएका राहदानी वितरण गर्न लागिएको हो।
सेवाग्राहीको सहजताका लागि पोल्यान्डका मुख्य ठूला तीन सहरबाट तीन दिनसम्म लगातार राहदानी वितरण गरिने दूतावासले जनाएको छ।
पहिलो दिन मार्च ७ तारिख पोल्यान्डको भ्रोस्वावस्थित हिमालय रेस्टुरेन्टबाट, दोस्रो दिन ८ तारिख उचको थर्ड आई रेस्टुरेन्टबाट र तेस्रो दिन ९ तारिख वारसाको एभरेस्ट रेस्टुरेन्टबाट बिहान ९ बजे बजेदेखि अपराह्न ४ बजेसम्म राहदानी वितरण गर्ने कार्यक्रम रहेको दूतावासको सूचनामा उल्लेख छ।
बर्लिन दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले घुम्ती शिविरमा आवेदन दिएका ४ सय ९६ जनामध्ये समयमा राजस्व नबुझाएका १६ जनाबाहेक बाँकी सबैको राहदानी वितरण गरिने जानकारी दिए।
बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।





