• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ७, सोमबार ०३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    डा. जयराज आचार्य

    सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले (२५ जनवरी २०१९ का दिन) दिएको भेनेजुएला सम्बन्धी कडा वक्तव्यले नेपाल-अमेरिका सम्बन्धलाई सन् २०१५ को महाभूकम्पले नेपालमा धेरै नराम्रो क्षति पुर्‍याएजस्तै क्षति पुर्‍याएको छ । त्यो वक्तव्य अनावश्यक, अपरिपक्व र नेपालको राष्ट्रिय हितलाई हानि गर्ने खालको थियो भन्ने प्रतिक्रिया नेपालका शिक्षित मानिसहरूको मुखबाट सुनियो ।

    अन्तरराष्ट्रिय सम्बन्धलाई यथार्थवादी, आदर्शवादी र मार्क्सवादी दृष्टिकोणबाट हेर्न सकिन्छ । अरू पनि विभिन्न दृष्टिकोण हुन सक्छन् । तर नेपालले चाँहि यथार्थवादी दृष्टिकोणले नै हेर्नुपर्छ – मार्क्सवादी दृष्टिले होइन । सीधा र साधारण प्रश्न छ – नेपाललाई अमेरिकासितको सम्बन्ध महत्वपूर्ण छ कि भेनेजुएलासितको ? अमेरिकामा कति नेपाली बस्छन् ? भेनेजुएलामा कति ? अमेरिकाले त झण्डै एक लाख भुटानी शरणार्थी पनि लगेर राखिदिएको छ ।

    परराष्ट्र सम्बन्धको मुख्य उद्देश्य भनेको आफ्नो राष्ट्रिय हितको संवर्धन र संरक्षण गर्नु हो । नेपालले सोच्नुपर्छ – विश्वशक्ति अमेरिकालाई चिढ्याएर हामीले आफ्नो राष्ट्रिय हितलाई कसरी संवर्धन गर्छौं ? नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध सन् १९४७ अप्रिल २५ तारीखका दिन स्थापना भएको हो । दोस्रो विश्वयुद्ध समाप्त भएको लगत्तै पछि नेपाल र अमेरिकाले एक-अर्काको महत्व बुझेर यो कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन् । यो ऐतिहासिक सन्दर्भ र महत्वलाई हामीले अहिले पनि गहिरिएर बुझ्नुपर्छ ।
    अमेरिका नेपालको ठूलो दातृराष्ट्र हो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अमेरिकाले औलो उन्मूलन लगायत स्वास्थ्य, शिक्षा, जनसंख्या, वातावरण, प्रजातन्त्र, मानव अधिकार, प्राकृतिक प्रकोप आदि अनेक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । शुरूदेखि आजसम्म नेपाललाई अमेरिकी सहयोग क्रमिक रूपमा वृद्धि भइरहेको छ । कुनै वर्ष पनि त्यो घटेको छैन । बढिरहेकै छ । हाल आएर त अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत पाँच वर्षमा नेपालको ऊर्जाक्षेत्र, क्षेत्रीय ऊर्जासञ्जालमा सुधार र परिवहनमा हुने खर्चमा नियन्त्रण गर्न सहयोग पुर्‍याउने उद्देश्यले ५० करोड अमेरिकी डलर सहायता छुट्ट्याएको छ । यसले नेपालमा आर्थिक वृद्धि, निजी क्षेत्रमा लागानी र रोजगारीका अवसर पैदा गर्न सहयोग हुने आशा गरिएको छ ।

    भेनेजुएला सित नेपालको कूटनीतिक सम्बन्ध सन् १९८७ अप्रिल २८ तरीखका दिन भएको हो । राजा वीरेन्द्रले सन् १९७५ मा नेपाललाई शान्ति क्षेत्र प्रस्ताव गरेपछि त्यसको समर्थनका लागि संसारका साना-ठूला धेरै देशसित सम्बन्ध राखेर तिनको समर्थन जुटाउने अभियान अन्तर्गत त्यो सम्बन्ध स्थापना गरिएको जस्तो देखिन्थ्यो ।
    नेपालले आफ्नो कूटनीति सञ्चालन गर्दा हाम्रा दुई छिमेकी चीन र भारतले के गरिरहेका छन् भनी अध्ययन पनि गरिरहनुपर्छ । हाल भेनेजुएलाका विषयमा उनीहरूले लिएको नीति र दिएका वक्तव्यहरू हेर्दा उनीहरूका आ-आफ्ना राष्ट्रिय हित अनुकूल देखिन्छन् । तर अध्यक्ष प्रचण्डले भने नेपालको राष्ट्रिय हितलाई हानि पुग्ने गरी बोलेको देखियो भन्ने भनाइ नै सर्वत्र सुनियो । प्रचण्डको वक्तव्यबाट रुष्ट भएको अमेरिकाले सरकारको पनि त्यही धारणाको हो कि फरक छ भनी परराष्ट्र मन्त्रालयलाई लिखित प्रश्न गरेको कुरा आयो । सरकारले त्यस पत्रको जबाफमा आफ्नो पोजिसन फरक रहेको भनी उम्किने मौका थियो । तर त्यसो नगरेर प्रचण्डकै लाइनलाई दोहोर्‍यायो जसले अमेरिकी पक्षको क्रोध यथावत् रहेको देखियो किनकि उसले अमेरिकाका लागि नेपाली राजदूतलाई स्टेट डिपार्टमेण्टमा बोलाएर स्पष्टीकरण माग्नुका साथै प्रधानमन्त्री र अर्थमन्त्रीका रोहवरमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले फेब्रुअरि १ का दिन आयोजना गरेको काठमाडौंस्थित कूटनीतिक प्रमुखहरूको ब्रिफिङमा अमेरिकी राजदूत र्‍याण्डी बेरी अनुपस्थित रहेको कुरा पनि छापामा आयो ।

    छापामा यस्तो पनि पढियो – ओली डाभोसमा भएकै वेला अमेरिका र संयुक्त राष्ट्र संघसहित पश्चिमा राष्ट्रका कूटनीतिक प्रमुखहरूले संक्रमणकालीन न्यायका वारेमा नेपाल सरकारको धारणा प्रष्ट हुनुपर्ने भन्दै एक संयुक्त वक्तव्य जारी गरेका थिए । त्यसबाट असन्तुष्ट प्रधानमन्त्री ओलीले जुरिचमै हुँदा शान्ति प्रक्रियामा नेपाललाई कसैले सिकाइरहनु नपर्ने भन्दै उक्त पश्चिमा वक्तव्यको विरोध जनाएका थिए । त्यसरी उच्च स्तरमा क्रमशः चुलिँदै गएको परराष्ट्र सम्बन्धको तनावपूर्ण स्थितिमा आगोमा घिउ हाले झै गरी प्रचण्डले फेब्रुअरि १ तारिखकै दिन “शुक्रवार पुनः वक्तव्य निकाल्दै भेनेजुएलामा अमेरिकाको साम्राज्यवादी हस्तक्षेप भएको भन्ने आफ्नो अघिल्लो वक्तव्य सही भएको र आफू त्यसमा अडिग रहेको बताएका छन्” भनी कान्तिपुर दैनिकले (२ फेब्रुअरि २०१९) का दिन छाप्यो । वक्तव्यको विषय सँगसँगै त्यसको अकूटनीतिक भाषाले अमेरिकी सरकार झन् बढी रुष्ट भएको हो कि जस्तो देखियो । प्रचण्डको वक्तव्य सरकारमा रहेको पार्टीको जिम्मेवार नेताले भन्दा पनि कम्युनिष्ट क्रान्तिको आह्वान गर्दै हिंडेको उत्तेजक मानिसको जस्तो सुनियो । त्यसले प्रचण्डलाई मात्र होइन, नेकपा, सरकार र नेपाल देशैलाई हानि गरेको छ भनी सर्वसाधारण नेपालीले भन्दै हिँडेको सुनिन्छ ।
    नेपालको परराष्ट्र नीतिका प्रमुख तत्वहरू मध्ये असंलग्नता एक प्रमुख तत्व हो । तर अहिले असंलग्नता छोडेर अमेरिकाको विरोध र भेनेजुएलाको समर्थन अझ त्यसमा पनि एउटा पार्टीको नेताको समर्थनमा उभिनाले नेपालको असंलग्नतामा नै प्रश्न उठ्ने स्थिति आयो ।

    नेपाल-अमेरिका सम्बन्धमा अहिले आएको तनावको बृहत्तर सन्दर्भ पनि बुझ्न आवश्यक छ । गत २०१८ को दिसेम्बरको तेस्रो हप्ता नेपालका परराष्ट्र मन्त्रीले अमेरिकाको भ्रमण गर्नुअघि भन्नुभयो – अमेरिकाले नेपाललाई भारतको चश्माले नहेरोस् भन्न गइरहेछु । तर परराष्ट्र मन्त्रीको अमेरिका-भ्रमणका अन्त्यमा अमेरिकाले त्यसको ठीक उल्टो भन्यो – नेपाल अमेरिकाको भारत-प्रशान्त क्षेत्रीय रणनीति (इन्डो-प्यासिफिक स्ट्र्याटेजी) को अङ्ग हो र अझ यस रणनीतिमा नेपालको त केन्द्रीय स्थान छ ! अनि नेपालका परराष्ट्र मन्त्रीले नेपाल आएपछि यसको खण्डन गर्नुभयो र नेपाल कसैको रणनीतिको अङ्ग हुन सक्तैन भनेको कुरा छापामा आयो । त्यसरी मतभेदमा टुङ्गिएको भ्रमण सफल कि भयो कि असफल ? त्यस मतभिन्नताले नेपाल-अमेरिका सम्बन्ध, नेपाल-भारत सम्बन्ध र नेपाल-चीन सम्बन्धमा केही असर पार्‍यो कि पारेन ? के ती सम्बन्धहरू अलग अलग कुरा हुन् ? कि ती परस्परमा गाँजिएका कुरा हुन् ? कतै नेपाल भारत-अमेरिका-चीनको त्रिकोणात्मक भुँवरीमा फस्दै गइरहेको त छैन ?

    एसिया-प्रशान्त क्षेत्रको अमेरिकी रणनीति अहिलेको ट्रम्प प्रशासनले बनाएको होइन । त्यो त बाराक ओबामा प्रशासन कालकै “एसियातिर केन्द्रित” (पिभट टु एसिया) र “नयाँ सन्तुलन” (रिब्यालेन्स) को निरन्तरता मात्र हो । वास्तवमा अमेरिकाको दक्षिण एसिया र खास गरी भारतसितको सम्बन्धलाई यसै शताब्दीको शुरूमा (सेप्म्बर ११, २००१) अमेरिकामाथि भएको आतङ्ककारी आक्रमणले प्रभावित पार्न थालेको हो । त्यसमा थप, सन् २०११ मा ओसामा बिन लादेन पाकिस्तानको ओबोटाबादमा भेटिनु र मारिइनुले त अमेरिका-पाकिस्तान बीचको सम्बन्धमा नै गुणात्मक परिवर्तन ल्यायो । एकातिर अमेरिका-भारत सम्बन्ध नजिकिन थाल्यो भने अर्कातिर पाकिस्तान-चीन सम्बन्ध नजिकिन थाल्यो । चीनको जबर्जस्त आर्थिक उन्नतिले यस परिवर्तनलाई झन् तीव्रता प्रदान गरेको हो ।

    अहिले आएर अमेरिका-पाकिस्तान सम्बन्ध निकै सीमित देखिन्छ । सँगसँगै पाकिस्तानमा चीनको लगानी बढ्दो क्रममा छ – चीन-पाकिस्तान आर्थिक गल्ली (कोरिडोर) र ग्वादर बन्दरगाहको निर्माणमा चीनको लगानी त्यसका ठोस उदाहरण हुन् । पाकिस्तानको सिको गरेर के नेपालले पनि नेपाल-अमेरिका सम्बन्ध र नेपाल-भारत सम्बन्धलाई बाध्यताको स्तरमा सीमित राखेर अघि बढ्न सक्छ ? यस सम्बन्धमा नेपालले कस्तो कूटनीति अख्तियार गर्न सक्छ ? कूटनीतिको व्यावहारिक पक्षलाई नजरअन्दाज गरेर समदूरी या समसामीप्यको रटानले मात्र के यस चुनौतिलाई भेट्छ ?

    प्रचण्डको हालको वक्तव्य र त्यसले निम्त्याएको असहज स्थितिले त नेपाल-अमेरिका सम्बन्धलाई पुरै पानीसुकेको रानीपोखरी जस्तो रित्तो बनाइदियो । परराष्ट्र मन्त्री ज्ञवालीको अमेरिका-भ्रमणको कुनै उपलब्धिको एक थोपा पनि बाँकी रहेन । विगत ७१ वर्षमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धमा यस्तो तनाव कहिल्यै भएको थिएन । सन् १९७० को दशकको मध्यतिर शीतयुद्धको चरम चुलीमा पनि यस्तो तनाव भएको सुनिएन । तर अहिले आएर नेकपा सरकारसित अमेरिकी सरकारको सम्बन्ध ऐतिहासिक रूपमा बिग्रियो । त्यो अब सजिलै र चाँडै सुध्रिन सम्भव देखिन्न ।

    त्यसकारण अहिलेको टड्कारो प्रश्न यो हो – अब अमेरिकी सरकारले नेपाल सरकारसित कस्तो व्यवहार गर्ला ? भन्न त कठिन छ तर अमेरिका, चीन, भारत जस्ता ठूला देशहरूका कूटनीतिक चिकल्पहरू धेरै हुन्छन् । अमेरिकाले के के गर्न सक्छ ? अमेरिकाले प्रचण्डलाई अमेरिकी भ्रमण-भिसा नदिने निर्णय गर्‍यो भने त्यसले प्रचण्डलाई केही ठूलो नोक्सान नहोला । अनि नेपालको कम्युनिष्ट सरकारका कुनै पनि मन्त्रीलाई अमेरिका जाने भ्रमण-भिसा नदिने निर्णय गर्‍यो भने पनि त्यसले उनीहरूलाई केही ठूलो नोक्सान नहोला ।

    तर अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट अन्तर्गत सहयोग पुर्‍याउने उद्देश्यले ५० करोड अमेरिकी डलर सहायता जो छुट्ट्याएको छ त्यो हाललाई स्थगित गरिएको छ भन्यो भने त्यो चांहिँ सिरियस कुरा हुनेछ । अमेरिका संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी र सर्वाधिक प्रभावशाली सदस्य राष्ट्र हो । उसले नेपालले शान्ति सेनामा दिइरेहेको योगदान घटाउने भन्न थाल्यो भने त्यो झन् सिरियस कुरा हुनेछ । त्यसलाई रोक्न कसैले सक्ने छैन । अमेरिका विश्वको कूटनीतिमा एक्लै हिँडेको हुँदैन । उसका धेरै मित्र राष्ट्रहरू छन् अन्तर्राष्ट्रिय संस्था र संगठन छन् । तिनीहरू मार्फत पनि ऊ नेपाल सरकारमाथि ठूलो दबाव दिन सक्छ । अमेरिकाले चाह्यो भने अरू झन् धेरै सिरियस कदम पनि चालिदिन सक्छ जसको चर्चा गर्नुभन्दा नगर्नु बेस होला ।

    डा आचार्यको यो आलेख कुटनीतिक हिसाबले महत्वपुर्ण लागेकोले पुनप्रकासित गरिएको हो । सम्पादक

    (२५ जनवरी २०१९ का दिन) Republished 2026 april 19

    Post Views: 15
    प्रकाशित मिति: २०८३ बैशाख ७, सोमबार ०३:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन
    अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा
    Advertisement
    ताजा अपडेट
    • १. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • २. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ३. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ४. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    • ५. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.