राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार जयशंकरलाई भेटेका हुन्। जयशंकरले यसबारे आफ्नो सामाजिक सञ्जालमा राख्दै विकास साझेदारी बारेमा छलफल भएको उल्लेख गरेका छन्।

‘आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो। हाम्रा छलफल विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित थिए। यी सम्बन्धहरूले विकास, प्रगति र समृद्धिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्छन्,’ उनले लेखेका छन्। लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा छन्।

त्यसैगरी भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच (मंगलबार) भेटवार्ता भएको छ। शाहले कुनै पनि विदेशी दलका सभापतिलाई भेटेको यो पहिलोपटक हो। भारतको राष्ट्रिय राजनीतिमा भाजपाको राष्ट्रिय महासचिवदेखि राष्ट्रिय अध्यक्ष र पछिल्लो सात वर्षदेखि गृहमन्त्री हुँदासमेत शाहले कुनै पनि विदेशी नेता, कुनै विदेशी दलका अध्यक्षलाई भेटेका थिएनन्।
उनले आजसम्म पार्टी अध्यक्ष अथवा गृहमन्त्रीको रूपमा विदेश यात्रा गरेका छैनन्। तर, अहिले भने पहिलोपटक विदेशी दलका नेताका रूपमा लामिछानेसँग भेट गरेका हुन्। भेटमा गृहमन्त्री शाहले लामिछानेलाई निर्वाचनमा पाएको अभूतपूर्व सफलता र ऐतिहासिक विजयका लागि बधाई दिएका थिए। साथै नयाँ सरकारको सफलताका लागि भारतका तर्फबाट शुभकामना व्यक्त गरे। भेटघाटका क्रममा दुवै नेताले भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन सहकार्य गर्दै अघि बढ्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।
सत्तारूढ भाजपाको निमन्त्रणामा सोमबार दिल्ली गएका लामिछानेले आजदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। लामिछाने जेठ २२ गतेसम्म भारतमै रहने तालिका छ। भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको छ। भ्रमणका क्रममा लामिछाने अयोध्या जाने कार्यक्रम पनि छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य, रास्वाका सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।





