परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि बेइजिङ पुगेका छन्। मन्त्रि खनाल गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। बेइजिङस्थित नेपाली दूतावासका अनुसार परराष्ट्र मन्त्री खनाल स्थानीय समय अनुसार अपराह्न त्यहाँ पुगेका हुन्।

बेइजिङस्थित विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए। परराष्ट्रमन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आजै साँझ एक स्वागत समारोह आयोजना गर्दैछ। समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया समेत गर्ने दूतावासले जनाएको छ।
चीनमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुने छ। साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने तालिका छ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ। नयाँ सरकारको विदेश नीति अनिश्चियकाबीच रुमल्लिरहेको बेला परराष्ट्रमन्त्रिको चिन भ्रमण अर्थपुर्ण मानिन्छ ।
परराष्ट्रमन्त्री शिशिर खनालले चीनमा रहेका नेपाली विद्यार्थी, शोधकर्ता तथा पेशाकर्मीलाई आफ्नो ज्ञान, सीप र अनुभव नेपालको विकासमा उपयोग गर्न आग्रह गरेका छन् । चीनमा रहेका नेपालीसँगको अन्तर्क्रियामा मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना भएको चार वर्षमै शासन सञ्चालनको अवस्थामा पुगेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूले पार्टीप्रति देखाएको सद्भावका लागि आभार व्यक्त गरे ।
उनले सरकारको प्रमुख एजेन्डा सुशासन र आर्थिक विकास रहेको बताउँदै भ्रष्टाचार न्यूनीकरण, ठूला भ्रष्टाचार प्रकरणको छानबिन तथा सरकारी सेवा प्रवाहलाई सहज बनाउने काम भइरहेको जानकारी दिए । विदेशमा रहेका नेपालीलाई आवश्यक सहयोग पुर्याउन परराष्ट्र मन्त्रालयमा संरचनागत सुधार गरिएको र त्यसको परिणाम क्रमशः देखिने उनले बताए ।
मन्त्री खनालले विदेशमा रहेका नेपालीका अभिभावकहरूले आफ्ना सन्तान स्वदेश फर्किने वातावरण निर्माण गर्न आग्रह गर्दै आएको स्मरण गरे । उनले नेपालमा युवालाई रोक्न बर्सेनि करिब पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउँदै हाल २० देखि ३० हजार मात्र रोजगारी सिर्जना भइरहेको बताए ।
नेपालमा जनसंख्या वृद्धिदर कमजोर बन्दै गएको र आगामी दुई दशकमा काम गर्ने उमेर समूहभन्दा सेवा आवश्यक पर्ने ज्येष्ठ नागरिकको संख्या बढ्न सक्ने जोखिम रहेको उल्लेख गर्दै उनले अहिलेको युवा जनसंख्यालाई विकासको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।
चीनमा अध्ययन र काम गरेर हासिल गरेको ज्ञान तथा सीपलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिन पनि उनले नेपाली समुदायलाई आग्रह गरे । आफू पनि विदेशमा अध्ययन र काम गरेको अनुभव भएको उल्लेख गर्दै उनले सबैले स्वदेश फर्कन नसके पनि देशका लागि योगदान दिन सक्ने वातावरण निर्माण गर्न सरकार तयार रहेको बताए ।





