बुर्किना फासोका सैन्य नेता क्याप्टेन इब्राहिम ट्राओरे आज अफ्रिकामा सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक हुन्। सामाजिक सञ्जालमा उनका भाषण करोडौं पटक हेरिन्छन्। अफ्रिकाका धेरै युवाले उनलाई पश्चिमी हस्तक्षेपविरुद्ध उभिएका नयाँ पुस्ताका अफ्रिकी नेताका रूपमा प्रस्तुत गर्छन्।
विदेशी सैन्य प्रभावको विरोध, फ्रान्सेली सेनाको बहिर्गमन, राष्ट्रियकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र ‘अफ्रिकी सार्वभौमसत्ता’को सन्देशले ट्राओरेलाई महादेशभर लोकप्रिय बनाएको छ। तर उनको यही छविको अर्को पाटो भने बुर्किना फासोभित्र देखिन्छ, जहाँ लोकतान्त्रिक संस्थामाथि नियन्त्रण, प्रेस स्वतन्त्रतामा अंकुश, विपक्षी गतिविधिमाथि प्रतिबन्ध र मानवअधिकार उल्लंघनका आरोपहरू लगातार बढिरहेका छन्।

सन् २०२२ मा सैन्य विद्रोहमार्फत सत्ता सम्हालेका ३८ वर्षीय ट्राओरेले आफूलाई संक्रमणकालीन राष्ट्रवादी नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। गत अप्रिलमा उनले नागरिकलाई ूलोकतन्त्रको बहस बिर्सनू आग्रह गर्दै बुर्किना फासो अहिले लोकतान्त्रिक नभई क्रान्तिकारी चरणमा रहेको बताएका थिए। यसअघि उनको सरकारले राजनीतिक दलहरू विघटन गरेको, संक्रमणकालीन सैन्य शासन लम्ब्याएको तथा चुनाव अनिश्चितकालसम्म सार्ने संकेत दिएको थियो। मानवअधिकारवादी संस्थाहरूले यसलाई लोकतान्त्रिक प्रक्रियाबाट पछि हट्ने स्पष्ट संकेतका रूपमा व्याख्या गरेका छन्।
तर साहेल क्षेत्रमा अल(कायदा र आईएसआईएससँग आबद्ध सशस्त्र समूहहरूको प्रभाव अझै बलियो छ। देशका धेरै ग्रामीण क्षेत्र अझै सरकारी नियन्त्रणबाहिर रहेको अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूको निष्कर्ष छ। सुरक्षा संकटका कारण लाखौं नागरिक विस्थापित भएका छन् भने हिंसाका घटनाहरू निरन्तर भइरहेका छन्।
मानवअधिकार संस्था ह्युमन राइट्स वाचले ट्राओरे नेतृत्वको सैन्य सरकारले आपत्कालीन कानुन प्रयोग गरेर आलोचक, पत्रकार, न्यायाधीश र विपक्षीमाथि मनपरी गिरफ्तारी, बेपत्ता पार्ने तथा जबर्जस्ती सैन्य सेवामा पठाउने कार्य गरेको आरोप लगाएको छ।
संस्थाका अनुसार राजनीतिक दल विघटनसँगै नागरिक स्वतन्त्रताको दायरा उल्लेखनीय रूपमा साँघुरिएको छ। आलोचकहरूलाई राष्ट्रिय सुरक्षाको नाममा दबाउने प्रवृत्ति बढेको वाचको निष्कर्ष छ। अर्कोतर्फ, ट्राओरे सरकारले भने मानवअधिकार उल्लंघनका आरोप अस्वीकार गर्दै आफूले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ता जोगाउने अभियान सञ्चालन गरिरहेको दाबी गर्दै आएको छ।
ट्राओरे सरकारमाथि सबैभन्दा बढी आलोचना हुने विषयमध्ये प्रेस स्वतन्त्रता पनि एक हो। सरकारले फ्रान्स २४ र रेडियो फ्रान्स इन्टरनेसनल ९च्ँक्ष्० जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएको छ। स्वतन्त्र पत्रकारहरूलाई पक्राउ गर्ने, केहीलाई जबर्जस्ती सैन्य सेवामा पठाउने तथा सरकारको आलोचना गर्ने सञ्चारमाध्यममाथि कारबाही गर्ने घटनाले अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता संस्थाहरूको चिन्ता बढाएको छ। विश्लेषकहरूका अनुसार राष्ट्रिय सुरक्षाको नाममा लागू गरिएका केही कानुनी व्यवस्थाले सैन्य कारबाहीबारे स्वतन्त्र रिपोर्टिङ गर्न झन् कठिन बनाएको छ।
मानवीय सहायता संस्थाहरूले पनि ट्राओरे सरकारमाथि राहत तथा मानवीय गतिविधिमाथि कडा प्रशासनिक नियन्त्रण र निगरानी बढाएको आरोप लगाएका छन्। केही सहायता संस्थाका कर्मचारी पक्राउ परेको तथा राहत कार्यक्रम सञ्चालनमा अवरोध सिर्जना गरिएको विवरण सार्वजनिक भएका छन्।
यद्यपि यी सबै आलोचनाका बीच ट्राओरेको लोकप्रियता भने घटेको देखिँदैन। उनले फ्रान्सेली सेनाको उपस्थिति अन्त्य गरेका छन्, रुससँग सुरक्षा सहकार्य विस्तार गरेका छन्, सुन खानी तथा केही रणनीतिक क्षेत्रमा राज्यको भूमिका बढाएका छन् र स्थानीय उद्योग तथा कृषि प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता बनाएका छन्। अफ्रिकाका धेरै युवाले यसलाई दशकौँदेखि कायम रहेको पश्चिमी प्रभावबाट मुक्त हुने प्रयासका रूपमा व्याख्या गर्छन्। उनको शैली सन् १९८० को दशकका क्रान्तिकारी नेता थामस संकाराको सम्झना दिलाउने भएकाले पनि उनी पान(अफ्रिकी आन्दोलनका समर्थकमाझ लोकप्रिय छन्।
संयुक्त राष्ट्रसंघसँग आबद्ध निकाय, मानवअधिकार संस्था तथा प्रेस स्वतन्त्रताका अन्तर्राष्ट्रिय संगठनहरूले बुर्किना फासोमा नागरिक स्वतन्त्रताको अवस्था खस्कँदै गएको चेतावनी दिएका छन्। विश्लेषकहरूका अनुसार ट्राओरेको सबैभन्दा ठूलो चुनौती अहिले पनि उही हो—राष्ट्रवादी भाषण र लोकप्रियताको राजनीतिक पूँजीलाई संस्थागत सुशासन, सुरक्षा सुधार र लोकतान्त्रिक उत्तरदायित्वमा रूपान्तरण गर्न सक्ने कि नसक्ने। सार्वभौमसत्ताको नाराले उनलाई अन्तर्राष्ट्रिय चर्चामा पुर्याएको छ। तर बुर्किना फासोभित्र लोकतान्त्रिक संस्थाको भविष्य, प्रेस स्वतन्त्रता, मानवअधिकारको संरक्षण र जिहादी हिंसामाथि नियन्त्रणले नै अन्ततः उनको नेतृत्वको वास्तविक मूल्यांकन गर्ने विश्लेषकहरूको निष्कर्ष छ।
source international news





