अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी तथा पत्रकारको अमेरिकामा बसाइ अवधि सीमित गर्ने गरी ल्याएको नयाँ भिसा नियम लागु गर्न एक संघीय अदालतले अस्थायी रोक लगाएको छ ।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सिक्युरिटीले मंगलबारदेखि यो नियम लागु गर्ने तयारी गरेको थियो । तर, नियम कार्यान्वयन हुनुअघि नै अदालतले प्रारम्भिक निषेधाज्ञा जारी गरेको हो ।
विभिन्न विश्वविद्यालयका अध्यक्ष, शैक्षिक संस्था र ट्रेड युनियनहरूको गठबन्धनले नियमविरुद्ध कानुनी चुनौती दिएपछि अदालतले यस्तो आदेश दिएको हो । मुद्दामा अन्तिम फैसला हुन भने बाँकी छ ।
प्रस्तावित नियममा अमेरिकामा विदेशी विद्यार्थी र एक्सचेन्ज भिजिटरको बसाइ अधिकतम चार वर्षमा सीमित गर्ने तथा पत्रकारलाई एकपटकमा २४० दिनसम्म मात्र बस्न दिने व्यवस्था गरिएको थियो । हाल ‘एफ’, ‘जे’ र ‘आई’ भिसावाहकले आफ्नो अध्ययन वा काम जारी रहेसम्म ‘ड्युरेसन अफ स्टेटस’ व्यवस्थाअन्तर्गत अमेरिकामा बस्न पाउँछन् ।





