Newyork Time 06:40 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

कतारी राजालाई स्वागत गर्न राष्ट्रपति पौडेल एयरपोर्ट जाने, विमानस्थल आधा घण्टा बन्द 

२०८१ बैशाख ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

170

 

काठमाडौं । आज नेपाल भ्रमणमा आउदै गरेका कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थलमा जाने भएका छन् ।अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति पौडेलले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनी मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयले अमिर नेपाल आउन लागेको आधिकारिक घोषणा गरेको थियो । उनको भ्रमणको नेपाली पक्षबाट लगभग सबै तयारी पूरा भइसकेको छ । नेपाल भ्रमणमा रहँदा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।
त्यसै गरी नेपाल सरकारले दिने भनिएको दुई हात्तिको विषयमा प्राविधिक समस्या आई परेको कारण दिन नमिल्ने भएको बताइएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमण क्रममा २०७५ सालमै नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो । यो प्रतिबद्धता राजा अल थानीको भ्रमणका बेला कार्यान्वयन गर्ने सरकारको तयारी थियो । तर, कतारकै तर्फबाट आवश्यक तयारी पूरा हुन नसक्दा राजाको भ्रमणकै सिलसिलामा तत्काल हात्ती दिने सरकारको योजना कार्यान्वयनमा भने नआउने वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाले जानकारी दिए ।

उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।  कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।