Newyork Time 09:52 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

वैशाख ११ र १२ कतारका राजा नेपाल भ्रमणमा आउने

२०८१ बैशाख ९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

200

 

 

 

नेपाल सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि वैशाख ११ र १२ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमण हुने पक्का भएको छ । कतारका अमिरको भ्रमणले नेपालमा मध्यपूर्वको उच्च स्तरको भ्रमणलाई बढाउन सकिने अपेक्षा गर्न सकिन्छ ।
कतार नेपालीका लागि प्रमुख श्रम गन्तव्य हो । कतारबाट वार्षिक १ खर्बभन्दा बढी रेमिट्यान्स भित्रने गरेको छ । कतारमा ३ लाख ५० हजार नेपाली रोजगारी तथा पेसा व्यवसायमा छन् । कतारको विकासमा नेपालीहरूले ठूलो भूमिका निर्वाह गरेका छन्, जुन कतारी सरकारी निकायलाई पनि अवगत छ । कतारका अमिर अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले कतारको रोजगारीबाट फर्केका नेपालीलाई उनीहरूले सिकेको सीप र ज्ञानलाई उद्यमशीलतामा लैजानका लागि नयाँ पहल जरुरी छ । कतारमा काम गर्ने नेपाली कामदारको लागि विमा लगायत अन्य सुविधाका लागि पहल जरुरी छ ।

नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता डीटीए भइसकेको छ । नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय सन् २०१८ देखि खुलिसकेको छ । कतारका अमिरको भ्रमणमा नेपालले अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्ताव अगाडि सार्नुपर्छ । अल्पकालीन योजनामा वैदेशिक रोजगारबाट फर्कनेलाई उद्यमी बनाउन भेन्चर क्यापिटलको स्थापना, कतारले खोजेअनुसारको जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना पर्छन् ।

कतारी अमिरलाई नेपाल सरकारले दुई वटा हात्ति उपहार दिने तयारी गरेको छ । चितवनबाट ती हात्तीहरु कतार एयरवेजबाट पठाउने तयारी भईरहेको छ । प्रधानमन्त्रि सम्बद्ध श्रोतका अनुसार नेपालका लागि के के दुई पक्षिय सहमति होला भन्ने विष्यामा अध्ययन भईरहेको बताइएको छ । नेपाल सरकारले सन्चार उद्दमी भाष्करराज कर्णीकारमार्फत कतारी राजासंग के के डिमाण्ड गर्ने भन्ने विषयमा सहमति नजिक पुगेको बताइएको छ ।

यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किने र त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् ।