काठमाडौं : लगानीको वातावरण बनाउने भन्दै सरकार तथा लगानी बोर्डले आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्दै यसका लागि तेस्रो लगानी सम्मेलन आयोजना हुँदैछ।
सबैभन्दा धेरै नेपाली लगानीकर्ताहरू ३ सय ८५ जनाले सहभागिताको पुष्टि गरेका छन्। दोस्रोमा छिमेकी मुलुक चीनबाट करिब २ सय ६५ लगानीकर्ता सम्मेलनमा भाग लिँदैछन्। भारतबाट पनि अहिलेसम्म करिब १ सय ४३ जना लगानीकर्ता सहभागिताका लागि पुष्टि जनाएको बोर्डको तथ्यांकमा छ। लगानी सम्मेलनमा सहभागी हुने प्रायः विदेशी लगानीकर्ताहरूमा नेपालस्थित नियोग, दातृसंस्थाका प्रतिनिधिहरू, पहिला नै लगानी गरिरहेका लगानीकर्ता रहेका छन्। भारतीय आडवानी समूह आउने चर्चा चले पनि अहिलेसम्म पुष्टि नभएको प्रवक्ता उपाध्याय बताउँछन्। बोर्डले भारतीय खर्बपति अम्बानीदेखि अलिबाबा कम्पनी, टेस्ला कम्पनीलगायतका विश्वविख्यात कम्पनीहरूलाई निमन्त्रणा पठाएको प्रवक्ता उपाध्यायको भनाइ छ। तर, विश्वविख्यात लगानीकर्ताहरूको सहभागिताको पुष्टि नभएको उनी बताउँछन्। नेपालमा नै लगानी गरिरहेका विदेशी कम्पनीहरूसँग नेपालसँगको सम्बन्धको बारेमा जानकारी लिने र त्यसले अरूलाई प्रेरणा मिल्ने विश्वास बोर्डको छ।
यसअघि पनि सरकारले दुई लगानी सम्मेलन आयोजना गरिसकेको छ। पहिलो लगानी सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त भएको थियो। जसमध्ये सबैभन्दा बढी चिनियाँ लगानीकर्ताले आठ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता गरेका थिए। बंगलादेशी लगानीकर्ताले दुई खर्बभन्दा बढी लगानी गर्ने विश्वास दिलाएका थिए। सम्मेलनमा भारत, जापान, बेलायत, श्रीलंका, मलेसियालगायतका देशका लगानीकर्ताले पनि नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेका थिए। सो सम्मेलनमा दुई दर्जन मुलुकका झन्डै २ सय ५० संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको सहभागिता थियो।
दोस्रो लगानी पहिलोभन्दा अझै बृहत् ढंगले आयोजना गरियो। सम्मेलनमा शोकेस गरिएका र नगरिएका गरी कुल ४१ परियोजना निर्माण गर्न तथा अघि बढाउन ७१ वटा प्रस्ताव आएका थिए। सम्मेलनमा सरकारी ५० र निजी क्षेत्रका २७ गरी कुल ३२ खर्ब रुपैयाँबराबरका ७७ वटा परियोजना प्रदर्शनीमा राखिएको थियो। ७७ मध्ये ३० वटा परियोजनामा २३ खर्ब र तथा शोकेस नगरिएका थप ११ वटा परियोजनामा ८ अर्ब रुपैयाँ लगानीको प्रस्ताव आएको थियो।
सम्मेलनमा ४० देश र ३ सय कम्पनीका ७ सय प्रतिनिधि सहभागी थिए। यस्तै १ सय स्थानीय कम्पनीबाट ६ सय जना सहभागिता रहेको सम्मेलनमा ४ वटा प्लेनरी सत्र, ६ वटा प्यारालाल सत्र र ४ वटा साइडलाइन सत्र आयोजना गरिएको थियो। सम्मेलनमा ३६ वटा द्विपक्षीय मिटिङ, ३९ वटा बीटूजी र ३० वटा बीटूबी मिटिङ भएका थिए।
दुईदिने सम्मेलनमा १६ वटा लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। दुवै सम्मेलनमा भव्यताका साथ सम्पन्न भएको बताइएको थियो। तर, त्यसपछिको कार्यान्वयनमा भने बोर्डको सक्रियता कम भएको भन्दै आलोचना हुने गरेको छ।