Newyork Time 05:15 pm
May 4, 2024, Saturday
२०८१ बैशाख २३

विज्ञान–प्रविधिको विकास र आजको मार्क्सवाद

२०७८ श्रावण २६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

7.1K

अक्टोबर समाजवादी क्रान्ति मानवजातिको इतिहासमा एउटा महान घटना थियो, जुन आजभन्दा करिब १०० वर्षअगाडि सन् १९१७ को अक्टोबर २४ मा युरोपको सबभन्दा पिछडिएको देश रुसमा भएको थियो । तर त्यो क्रान्ति सम्पन्न भइसकेपछि त्यो देश दुनियाँको सबभन्दा शक्तिशाली र सबैभन्दा सम्पन्न मानिने देश अमेरिकासँग प्रतिस्पर्धा गर्नसक्ने मात्र होइन, त्यसलाई रणनीतिक रुपमै सन्तुलनमा ल्याउनसक्ने एउटा महाशक्ति बन्न सफल भएको थियो । त्यसको कारण के थियो भने त्यो क्रान्तिले विगतका सम्पूर्ण सडे–गलेका मूल्य–मान्यताहरुलाई, सम्पूर्ण प्रतिक्रियावादी तत्वहरुलाई र सम्पूर्ण विसंगतिपूर्ण व्यवस्थाहरुलाई समाप्त पारेर एउटा उच्चस्तरको, प्रगतिशील र जनवादी सामाजिक व्यवस्थाको स्थापना गरेको थियो, जसमा मानवले स्वतन्त्रतापूर्वक आफ्नो क्षमताको उपयोग गरेर प्रगति गर्नसक्थ्यो । सोभियत संघको अभूतपूर्व प्रगति त्यसैको परिणाम थियो ।

अक्टोबर समाजवादी क्रान्तिको वैचारिक आधार माक्र्सवाद–लेनिनवाद थियो । मार्क्सवाद उन्नाइसौं शताब्दीसम्म मानवजातिले आर्जन गरेको सम्पूर्ण ज्ञानराशिको तार्किक संश्लेषणबाट बनेको दर्शन थियो र लेनिनवाद नयाँ परिवेशअनुसार माक्र्सवादको थप विकास थियो । जुन वेला अक्टोबर क्रान्तिको तयारी हँदै थियो, त्यसवेला उन्नाइसौं शताब्दीसम्मको मानव समाजको संश्लेषण मात्र पर्याप्त थिएन । बीसौं शताब्दीको आरम्भसँगै नयाँ परिवेशको सृजना भएको थियो । त्यो नयाँ परिवेश थियो– एकाधिकारी पूँजीवाद । त्यसको संश्लेषण गरेर लेनिनवादले समाजवादी क्रान्तिको लागि मार्गदर्शन गरेको थियो ।

अहिले पुनः नयाँ परिवेशको सृजना भएको छ, जसको संश्लेषणबिना समाजवादी क्रान्तिको तयारी गर्न सम्भव छैन । त्यो नयाँ परिवेश हो– विज्ञान–प्रविधिको विकास । विज्ञान–प्रविधिको उच्च विकास आधुनिक युगको एउटा प्रमुख घटना हो । यसबाट मानव समाजको इतिहासमा ठूलो परिवर्तन भएको छ । यसको वर्तमान चरण वैज्ञानिक–प्राविधिक क्रान्ति हो ।

बीसौं शताब्दीको मध्यबाट विज्ञान र प्रविधिको विकास, तिनीहरुको आपसी सम्बन्ध, उत्पादनसँग विज्ञान–प्रविधिको सम्बन्ध र उत्पादक शक्तिहरुको सम्पूर्ण प्रणालीको विकासमा गुणात्मक परिवर्तन देखिनथाल्यो, जसलाई वैज्ञानिक¬–प्राविधिक क्रान्ति भनिन्छ । यो क्रान्ति हाम्रो शताब्दीको लागि एउटा महानतम परिघटना हो र यसको महत्व निरन्तर बढिरहेको छ । मानवजातिको इतिहासमा विज्ञान, प्रविधि र समाजका उत्पादक शक्तिहरुको विकास यति उच्चस्तरमा कहिल्यै पुगेको थिएन । संसारको बारेमा जरा गाडेर बसेका मान्यताहरुको खण्डन गर्दै वैज्ञानिक–प्राविधिक क्रान्तिले मानवजातिको प्रगतिलाई अत्यन्तै तीव्र बाइदिएको छ ।

AIworld-730x430.jpg

वैज्ञानिक–प्राविधिक क्रान्तिले मानवसमाजको सामु प्रकृतिको रुपान्तरणको लागि, विशाल भौतिक सम्पदाको सृष्टिको लागि र मानवका सृजनात्मक योग्यताहरु बढाउनको लागि अभूतपूर्व संभावनाहरु सृजना गरेको छ । यसको प्रभाव समकालीन मानवको क्रियाकलापका सबै क्षेत्रहरुमा परेको छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको अर्थ उत्पादक शक्तिहरुको समुच्च प्रणालीमा आमूल, गुणात्मक परिवर्तन हो, जुन विज्ञान, प्रविधि र उत्पादनको विकासको एकीकृत प्रक्रियाको परिणाम हो । यसको आरम्भ शुरुमा स्वचालित यन्त्र, परमाणु र नाभिकीय उपकरणहरु तथा कम्प्युटरको निर्माण, कृत्रिम भू–उपग्रहको प्रक्षेपण, पूर्र्वनिर्दिष्ट गुणहरु भएका पदार्थहरुको रासायनिक संश्लेषण, सूक्ष्म इलेक्ट्रोनिक्सको खोजजस्ता अद्वितीय उपलब्धिहरुबाट भयो । आफ्नो विकासको क्रममा यसले उत्पादनको प्राविधिक आधारमा, श्रमका औजारहरु र वस्तुहरुमा, तिनीहरुको रुप र सारमा आमूल परिवर्तन ल्याएको छ ।

वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्ति कुनै अलग–अलग वैज्ञानिक खोजहरु अथवा प्राविधिक उपलब्धिहरुसँग सम्बन्धित छैन । यो क्रान्ति भौतिक उत्पादनका आवश्यकताहरुबाट उत्प्रेरित सम्पूर्ण ज्ञानभण्डारको चौतर्फी विकाससँग, विज्ञानको प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरणसँग तथा प्रविधि, उत्पादन र समुच्च समाजको प्रगतिमा त्यसको बढ्दो भूमिकासँग सम्बन्धित छ ।

वैज्ञानिक–प्राविधिक क्रान्ति उत्पादक शक्तिहरु, विज्ञान र प्रविधिको विकासको प्राकृतिक तथा ऐतिहासिक प्रक्रियाको अनिवार्य र नियमसंगत चरण हो । यसको आरम्भ यान्त्रिक उत्पादनको सार्विक प्रगतिको कारणले भएको थियो र यो त्यसको थप विकासको एउटा चरण हो । यो यन्त्रीकृत उत्पादनबाट स्वचालित उत्पादनमा संक्रमणको सूचक हो । यसको तयारीमा सैद्धान्तिक ज्ञानको विकासको महत्वपूर्ण स्थान छ । उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको आरम्भमा भएको प्रकृतिविज्ञानको क्रान्तिले यसको विराट प्राकृतिक तथा वैज्ञानिक पूर्वाधारको काम गरेको थियोे, जुन सूक्ष्म जगतको खोजसँग र पदार्थको बारेमा पुरानो धारणाको खण्डन तथा परमाणुको संरचनासम्बन्धी नयाँ सैद्धान्तिक विचारसँग सम्बन्धित थियो । त्यसैगरी गणित, रसायनविज्ञान, जीवविज्ञान, आदि विभिन्न विज्ञानहरुमा प्राप्त गरिएका सफलताहरु पनि वैज्ञानिक–प्राविधिक क्रान्तिको लागि धेरै उपयोगी भए । वास्तवमा प्राकृतिक विज्ञानहरुको विकासको उच्चस्तर नै त्यो तत्व थियो, जसबाट विज्ञान–प्रविधिमा नयाँ छलाङ्ग संभव भयो ।

उन्नाइसौं शताब्दीको अन्त र बीसौं शताब्दीको आरम्भमा विज्ञानमा एउटा क्रान्ति सम्पन्न भयो, जुन इलेक्ट्रोनको खोज, एउटा तत्वको परमाणु अर्को तत्वको परमाणुमा रुपान्तरण तथा पदार्थ र शक्तिको परस्पर सम्बन्धको उद्घाटनसँग सम्बन्धित थियो । फलस्वरुप बीसौं शताब्दीको मध्यमा भएको औद्योगिक क्रान्ति वैज्ञानिक तथा प्राविधिक क्रान्तिमा बदलियो । यस अवधिमा प्राविधिक विकास केवल वैज्ञानिक आधारमा मात्र भयो र यसले उत्पादनका सबै शाखाहरुलाई तथा श्रमका सबै क्षेत्रहरुलाई समेट्यो । यो क्रान्तिले स्वंय विज्ञानलाई ज्ञानको उद्योग बनाइदियो । वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रक्रियामा एउटा विकसित समाजवादी समाजको आधार निर्माण भयो ।

वैज्ञानिक–प्राविधिक क्रान्तिका परिणामहरु बीसौं शताब्दीको अन्तिम दशकमा प्रकट हुनलागेका थिए । आज यसका प्रत्यक्ष परिणामहरु यसप्रकार छन्– इलेक्ट्रोनिक्सको आधारमा उत्पादन प्रक्रिया र जीवनका सबै पक्षहरुको प्राविधिक प्रणालीहरुमा स्वचालनको प्रसार भएको छ, जसले तिनीहरुलाई एउटा स्वचालित प्रक्रिया बनाइदिएको छ । इलेक्ट्रोनिक्स र संचारका नयाँ साधनहरुले सूचनाहरुको विस्फोटको स्थिति सृजना गरिदिएका छन् र सूचनाहरुको प्रवाह अधिकाधिक विश्वव्यापी हुँदै गइरहेको छ । जैवप्रविधि र जीन–इन्जिनियरिङ्गले जैविक प्रणालीहरुको उत्पादकत्वलाई अत्यधिक बढाइदिएका छन् ।

यो क्रान्तिको परिणामस्वरुप निजी स्वामित्वका परिस्थितिहरुमा श्रमजीवीहरुको विशाल समुदाय श्रमका साधनहरुबाट अलग हुनु एउटा यथार्थ तथ्य बन्नगएको छ । त्यसैगरी प्राविधिक दृष्टिले विकसित देशहरु र अविकसित देशहरुको बीचको खाडल गहिरो हुँदै गइरहेको छ । त्यसकारण अब सामाजिक सम्बन्धहरुमा परिवर्तन आवश्यक भएको छ । वैज्ञानिक–प्राविधिक क्रान्तिका भौतिक आधार र परिणामहरुको समाजीकरण र तिनीहरुको सचेत नियमन आवश्यक भएको छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको युगमा उत्पादक शक्तिहरुको विकासले गुणात्मक रुपमा नयाँ विशेषताहरु प्राप्त गरेको छ– (१) सबै प्रकारका उत्पादनहरुमा यन्त्रद्वारा क्रमशः मानवश्रमको प्रतिस्थापन, (२) विज्ञानको आधारमा प्रविधिको विकासतिर संक्रमण र (३) विज्ञान–प्रविधि प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण ।

वैज्ञानिक–प्राविधिक क्रान्ति त्यसबेला भयो, जब प्रविधि वैज्ञानिक ज्ञानको मूर्तरुप बन्यो र विज्ञानको विकासले प्राविधिक क्षेत्रबाट सहयोग प्राप्त ग¥यो । फलस्वरुप विज्ञान र प्रविधिको संयोजन एउटा सामान्य व्यवहार बन्नगयो । बीसौं शताब्दीको वैज्ञानिक–प्राविधिक क्रान्तिले विज्ञानको आधारमा प्रविधिको विकासलाई जन्म दियो ।

वैज्ञानिक–प्राविधिक क्रान्तिले त्यस युगलाई जन्म दियो, जसमा पदार्थको गतिका अधिक जटिल तथा सूक्ष्म रुपहरुको सचेत र वैज्ञानिक उपयोग प्रारम्भ भयो । ज्ञानका सबै क्षेत्रहरुको एकता, जसले उच्चस्तरमा विभिन्न प्रकारका ज्ञानहरुलाई नजिक ल्याउँदछ, यो प्रक्रियाको अनिवार्य भाग बनेको छ । वैज्ञानिक ज्ञानको संश्लेषणले वस्तुगत विश्वको वास्तविक द्वन्द्वात्मक एकतालाई अभिव्यक्त गर्दछ । जस्तो कि फ्रेडेरिक एङ्गेल्सले भनेका थिए– ‘द्वन्द्ववादको प्रमाण प्रकृति हो ।’

वैज्ञानिक–प्राविधिक क्रान्तिको एउटा प्रमुख लक्षण के हो भने विज्ञान उत्पादक शक्तिको एउटा विशिष्ट अंग बनेको छ र अत्यन्त उच्चदरमा विकास गर्नलागेको छ । एउटा लामो यात्रापछि, धार्मिक अथवा सांस्कृति तत्वहरुबाट अलग भएर विज्ञान वर्तमान वैज्ञानिक–प्राविधिक क्रान्तिको युगमा ज्ञानको उद्योगको रुपमा रुपान्तरित भएको छ र अर्थव्यवस्थाको सर्वाधिक ठूलो र सर्वाधिक गतिशील शाखा बनेको छ । आज वैज्ञानिक कार्य विशेष प्रकारको सामाजिक श्रम बनेको छ, जसको आफ्नो विशिष्ट उपयोग मूल्य छ र आफ्ना श्रमका उपरणहरु र साधनहरु छन् । आज विज्ञानमा गरिने व्यय समाजद्वारा मान्य अनिवार्य एवं विवेकपूर्ण व्यय मानिन्छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिको अर्को प्रमुख लक्षण के हो भने यो क्रान्तिद्वारा श्रम तथा प्राकृतिक साधनहरुको बचत यति ठूलो परिमाणमा भएको छ कि त्यो विस्तारित पुनरुत्पादनको स्रोत बन्नगएको छ । वैज्ञानिक ज्ञानको मूर्तीकरण विस्तारित पुनरुत्पादनको प्रमुख आधार भएपछि पुनरुत्पादनको प्रक्रियामा दुईगुना गुणात्मक वृद्धि भएको छ । किनभने प्रथमतः श्रमको बचतको मात्राले उत्पादनको वृद्धिको उच्च दरलाई सुनिश्चित गरिदिएको छ र दोस्रो, बौद्धिक श्रमको विशाल मात्रामा बचतको युग प्रारम्भ भएको छ । वास्तवमा स्वचालनद्वारा बौद्धिक श्रमको प्रतिस्थापनले विज्ञान र प्रविधिको विकासलाई बढी गतिशील बनाइदिएको छ ।

वैज्ञानिक–प्राविधिक क्रान्तिबाट विज्ञान–प्रविधि विस्तारित पुनरुत्पादनको प्रमुख स्रोतको रुपमा रुपान्तरणले यस्तो अवस्था सृजना गरिदिएको छ, जसमा आर्थिक वृद्धिको दर तथा उत्पादनको मात्रा विज्ञान–प्रविधिको विकासको स्तरमाथि निर्भर हँुदै गइरहेको छ । आज आर्थिक प्रगतिको सामथ्र्य विज्ञान–प्रविधिलाई बढाउने सामथ्र्यको समरुप बन्नगएको छ ।
आज वैज्ञानिक विश्वदृष्टिकोण सामाजिक चेतनाको निर्धारक तत्व बनेको छ, विचारका तार्किक विधिहरु प्रधान हुनगएका छन् र वैज्ञानिक सत्यहरुलाई सामान्य अवधारणाहरुका तत्वहरुको रुपमा स्वीकार गरिएको छ । फलस्वरुप वैज्ञानिक आधारमा सामाजिक परिघटनाको बारेमा जनधारणाको पुनर्निर्माण भइरहेको छ । अब वैज्ञानिक दृष्टिकोण सम्पूर्ण उत्पीडित वर्गहरुको विशाल समुदायको विश्वदृष्टिकोण बन्दै गइरहेको छ ।

विज्ञान–प्रविधिको निर्णायक विकास भएपछि विश्वमा ठूलो परिवर्तन आएको छ । यो परिवर्तनलाई यसप्रकार वर्णन गर्नसकिन्छ– (१) नयाँ उत्पादक शक्तिको आगमन, (२) क्रान्तिको नयाँ विधिको आवश्यकता र (३) समाजवादको निकटता ।

१. नयाँ उत्पादक शक्तिको आगमन

 मार्क्सवादको मूल कुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणाअनुसार मानव समाजको आधार भौतिक तत्व हो, मानसिक तत्व होइन । यो भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । यो धारणाले माक्र्सवादलाई अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । त्यसैगरी माक्र्सवादको उत्कृष्टता र वैज्ञानिकता पनि यसमै अन्तर्निहित छ ।

हरेक समानिजक व्यवस्थाको आफ्नै उत्पादक शक्ति हुन्छ । अलग–अलग उत्पादक शक्तिबाट अलग–अलग सामाजिक व्यवस्थाको निर्माण हुन्छ । त्यसकारण उत्पादक शक्ति बदलिएपछि सामाजिक व्यवस्था पनि बदलिन्छ । नयाँ उत्पादक शक्तिले नयाँ समाजिक व्यवस्थाको निर्माण गर्दछ ।

उत्पादक शक्तिको विकासअनुसार मानव समाजमा विभिन्न परिवर्तनहरु भएका छन् । प्राचीन कालदेखि वर्तमान कालसम्म चारवटा सामाजिक व्यवस्थाहरु आइसकका छन् । अदिम साम्यवादमा प्रकृति उत्पादक शक्ति थियो । दास व्यवस्थामा मानव–श्रम उत्पादक शक्ति थियो । सामन्तवादमा जमिन उत्पादक शक्ति थियो र पूँजीवादमा पूँजी उत्पादक शक्ति थियो । अहिले नयाँ उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधि आएको छ र यसले नयाँ सामाजिक व्यवस्थाको निर्माण गर्नलागेको छ, जुन समाजवाद हो ।

नयाँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान¬–प्रविधि र वर्तमान सामाजिक व्यवस्थाको रुपमा रहेको पूँजीवादको बीचमा अन्तर्विरोध शुरु भएको छ । विज्ञान–प्रविधि पूँजीवादसँग मेल खाँदैन । यसले मानव–श्रमलाई विस्थापन गरेर अधिकांश मानिसहरुलाई दरिद्र बनाएको छ र थोरै मानिसहरुको हातमा सम्पूर्ण सम्पत्ति केन्द्रित गरेको छ । अहिले विश्वमा १० प्रतिशत मानिसहरुसँग ९० प्रतिशत मानिसहरुको भन्दा बढी सम्पत्ति छ ।

तर यो समस्याको कारण स्वयं विज्ञान–प्रविधिको विकास होइन, बरु यसको कारण त निजी स्वामित्वमा आधारित पूँजीवाद हो । त्यसकारण यसको सामाधान असीमित क्षमता भएको विज्ञान–प्रविधिलाई निजी स्वामित्वबाट मुक्त गरेर सम्पूर्ण समाजको स्वामित्वमा ल्याउनु हो । यसको लागि समाजवादी क्रान्तिको आवश्यकता पर्दछ ।

विज्ञान–प्रविधिको लागि उपयुक्त सामाजिक व्यवस्था समाजवाद हो । किनभने समाजवादमा निजी स्वाभित्व हुँदैन र उत्पादन नाफाको लागि नभएर उपभोगको लागि हुन्छ । त्यसकारण विज्ञान–प्रविधिको असीमित क्षमताबाट समाजका सबै मानिसहरु लाभान्वित हुन्छन् ।

२. क्रान्तिको नयाँ विधिको आवश्यकता

उत्पादक शक्तिमा आएको परिवर्तनको परिणामस्वरुप अब वर्गसंघर्ष वा क्रान्तिको विधि पनि परिवर्तन गर्नु आवश्यक भएको छ ।
अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो । तर यसलाई अब बदल्नु आवश्यक भएको छ । समाजवादको निर्माण कार्य क्रान्तिपूर्व नै गर्नु अनिवार्य भएको छ, जसबाट क्रान्तिको लागि सहज अजस्था सृजना होस् । किनभने पुरानो व्यवस्थाको समानान्तरमा नयाँ व्यवस्थाको निर्माण भएपछि पुरानो व्यवस्था कमजोर हुँदै जान्छ र नयाँ व्यवस्था समृद्ध र बलियो बन्दै जान्छ । फलस्वरुप एउटा सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको स्थापना हुन्छ ।

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापति भएका छन् । त्यसकारण अब पूँजीवादी व्यवस्थाभित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न संभव छैन । त्यसभन्दा बाहिर समानान्तरमा समाजवादको निर्माण गरेर मात्र त्यसलाई ढाल्न सकिन्छ ।

वर्तमान सामाजिक व्यवस्था पूँजीवादको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नु वर्तमान युगको अनिवार्य ऐतिहासिक आवश्यकता हो । जब पूँजीवादको विरुद्ध समानान्तार रुपमा समाजवाद अस्तित्वमा आउँछ, तब तिनीहरुको बीचमा संघर्ष हुन्छ । यो संघषर्मको कारण पूँजीवाद क्रमशः दुर्बल तथा विघटित हँुदै जान्छ र समाजवाद सबल तथा संगठित हुँदैजन्छ । परिणामस्वरुप अन्तमा एउटा महान सामाजिक क्रान्ति (समाजवादी क्रान्ति) को माध्यमबाट पूँजीवादको पराजय र समाजवादको विजय हुनेछ ।

नयाँ सामाजिक व्यवस्थाको निर्माण नयाँ उत्पादक शक्तिहरुलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ हुन्छ । यस क्रममा पुरानो सामाजिक व्यवस्थामा विकसित नयाँ उत्पादक शक्तिलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर नयाँ सामाजिक व्यवस्थाअन्तर्गत ल्याइन्छ । त्यसकारण नयाँ समाजिक व्यवस्था समाजवादको निर्माण नयाँ उत्पादक शक्ति विज्ञान–प्रविधिलाई समाजवादी उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ गर्नुपर्दछ । यो कार्यभार सर्वहारा वर्गको हो र सर्वहारा वर्गलाई यस कार्यमा मार्गदर्शन गर्नु सम्पूर्ण कम्युनिस्टहरुको कार्यभार हो ।

३. समाजवादको निकटता

उत्पादक शक्तिको रुपमा विज्ञान–प्रविधिको विकास वर्तमान युगको प्रमुख घटना हो । यसले समाजवादको आधारलाई बदलिदिएको छ र नयाँ आधारमा समाजवादलाई अझ निकट तथा संभव बनाइदिएको छ । समाजवादको पुरानो आधार मावनश्रम थियो । यसको नयाँ आधार विज्ञान–प्रविधि हो, जुन मानवश्रमको तुलनामा धेरै क्षमतावान छ । फलस्वरुप अब समाजवाद अतिनिकट भएको छ ।

समाजवादको पहिलो शर्त निजी स्वामित्वको अन्त्य हो । विज्ञान–प्रविधिले उत्पादन क्षेत्रबाट मानवश्रमलाई विस्थापित गरेर यो शर्तलाई पूरा गरेको छ । निजी स्वामित्वको आधार मानवश्रम हो, त्यसकारण उत्पादन क्षेत्रबाट मानवश्रम विस्थापित भएपछि निजी स्वामित्वको अन्त्य हुन्छ ।

समाजवादको दोस्रो शर्त मानवीय आवश्यकता पूरा गर्ने साधनहरुको प्रचुरता हो । आज विज्ञान–प्रविधिको असीमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भएको छ । विगतमा मानवश्रमबाट यो असंभव थियो । फलस्वरुप विगतमा समाजवाद साकार हुनसकेन । अब मानिसको लागि आवश्यक पर्ने गाँस, बास र कपासको अतिरिक्त अन्य धेरै वस्तुहरु तथा साधनहरुको प्रचुरता संभव छ ।

त्यसैगरी समाजवादको तेस्रो शर्त समानता हो । मानव समाजमा श्रम–विभाजनको परिणामस्वरुप वर्गहरुको उदय भएको थियो । वर्गहरुको उदय भएपछि मानिसहरुको बीचमा असमानताको शुरुवात भएको थियो । विज्ञान–प्रविधिले अब सबै कार्यहरुलाई सरल र समान बनाइदिएको छ । विशिष्टतालाई सार्विक बनाइदिएको छ र मानवको भूमिकालाई घटाइदिएको छ । परिणामस्वरुप अब समाजमा भूमिकाको आधारमा मानिसहरुको बीचमा भेद रहेको छैन । लिङ्ग, जाति, वर्ण, क्षमता, परम्परा, आदि निर्णायक रहेका छैनन् । सबै मानिसहरुको बीचमा समानताको अवस्था सृजना भएको छ ।

त्यसकारण अब वैज्ञानिक–प्राविधिक क्रान्तिको आधारमा माक्र्सवादको सृजनात्मक विकास गर्नु आवश्यक भएको छ । यसरी विकसित माक्र्सवाद नै आजको माक्र्सवाद हुनेछ, जसले वर्तमान विश्वमा समाजवादी क्रान्तिको लागि सम्पूर्ण उत्पीडित वर्गलाई सही मार्गदर्शन गर्नेछ ।