निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले आइतबार घोषणा गरेको तालिका अनुसार प्रत्यक्षतर्फ माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ। सोही दिन बेलुका ५ देखि ७ बजेसम्म प्रारम्भिक नामावली प्रकाशित हुनेछ।

माघ ७ मा उजुरी दर्ता र माघ ७–८ मा त्यसको छिनोफानो हुनेछ। माघ ९ मा उम्मेदवारी फिर्ता लिन सकिनेछ भने त्यसपछि अन्तिम नामावली प्रकाशन र साँझ ४ देखि ७ सम्म निर्वाचन चिह्न प्रदान गरिनेछ। समानुपातिकतर्फको प्रक्रिया भने मंसिर २० देखि सुरु हुनेछ, जहाँ दलहरूले मंसिर २१–२३ भित्र निवेदन दिने र पुस १३–१४ मा बन्दसूची पेस गर्ने व्यवस्था छ। अन्तिम बन्दसूची माघ २० मा प्रकाशित हुनेछ।
आयोगले नयाँ दल दर्ताका लागि मंसिर ६ गतेसम्म समय थपेको छ। तर फागुन २१ का लागि निर्वाचन प्रयोजनमा सहभागी हुन दलहरूले मंसिर १ देखि १० भित्र नै पुनः निवेदन दिनुपर्नेछ। आयोगका अनुसार अहिले १२७ दल मान्यता प्राप्त छन् भने ३२ नयाँ दल दर्ता प्रक्रियामा छन्। यसबीच राष्ट्रिय जेनजी पार्टी नेपालले भने आफ्नो दर्ता निवेदन फिर्ता लिएको छ।
दल दर्ताका लागि २१ सदस्यीय केन्द्रीय समिति, विधान, घोषणापत्र तथा पाँच सय मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता आवश्यक हुने आयोगले जनाएको छ। दर्ता प्रक्रिया पूरा गरेपछि ४५ दिनभित्र प्रमाणपत्र उपलब्ध गराइनेछ।





