• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

बेइजिङ र ब्रसेल्स दूतावास, जहाँ राजदूतसहित सबै कूटनीतिक महिला कर्मचारी !

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर ६, शुक्रबार ०९:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+
    अदिति बराल/बेइजिङ, सीताराम बराल/काठमाडौँ

    सभामुख र प्रधानन्यायधीश मात्र होइन, महिलालाई राष्ट्रपति र प्रधानमन्त्रीजस्ता मुलुकको शीर्ष स्थानमा पुर्‍याइसकेको मुलुक हो, नेपाल। नेपालमा महिला राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीश बनिसकेको सुन्दा कतिपय विकसित र आधुनिक मुलुकवासीले समेत अनौठो मान्दा हुन्। तर, महत्त्वपूर्ण निकायमा नेपालले महिलालाई नेतृत्व दिएको उत्कृष्ठ उदाहरण विदेशीहरूले विदेशस्थित नेपाली राजदूतावासमै पनि देख्न थालेका छन्।

    विसं १९९० मा जनरल बहादुर शमशेर राणालाई बेलायतका लागि पहिलो राजदूत बनाएर पठाएको नेपालले त्यसपछि साढे पाँच दशकसम्म विदेशस्थित नेपाली नियोगहरूमा जति राजदूत पठायो, ती विसं २०४० को मध्यसम्म सबै पुरुष थिए। नियोगहरूको नेतृत्वमा पुरुषहरूको बर्चस्व २०४४ मा परराष्ट्र सेवाकी विन्देश्वरी शाहले तोडिन्। २०४४ चैत्रमा भारतको लागि राजदूत नियुक्त शाहले ‘नेपालको पहिलो महिला राजदूत’को रेकर्ड कायम गरिन्।

    विन्देश्वरी शाहलाई पछ्याउँदै हालसम्म झण्डै एक दर्जनजति महिलाहरूले विदेशमा नियोग प्रमुख (राजदूत) का रूपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। त्यसमध्ये शाहसहित करिअर डिप्लोम्याट (परराष्ट्र सेवा) का ४ जना मात्र छन्। शाहपछि परराष्ट्र सेवाकै अम्बिका मानन्धर लुइँटेल फ्रान्स (२०७१–०७५) का लागि राजदूत भइन् भने पूर्वपरराष्ट्रसचिव सेवा लम्साल हाल बेल्जियममा र सहसचिव रीता धिताल पाकिस्तानमा नेपाली राजदूतका रूपमा कार्यरत छन्। लम्सालले पाकिस्तानमा समेत राजदूतको कार्यभार सम्हालिसकेकी छन्।

    गत असोजमा सरकारले ११ मुलुकबाट राजदूत फिर्ता गर्ने निर्णयसँगै बेइजिङ (चीन) र क्वालालम्पुर (मलेसिया) स्थित नेपाली राजदूतावासको नेतृत्व पनि कार्यवाहक राजदूतको जिम्मेवारी महिलाले सम्हाल्न थालेका छन्। यसमध्ये बेइजिङ दूतावासमा परराष्ट्र सेवाकी सहसचिव रोशन खनाल र क्वालालम्पुरस्थित दूतावासमा उपसचिव मुदिता बज्राचार्य कार्यवाहक राजदूत छन्।

    महिलाहरूले नेतृत्व गरेको राजदूतावासको संख्या बढेको मात्र छैन, राजदूतावासस्तरका ३४ मध्ये दुई नियोगमा पठाइएका परराष्ट्र सेवाका सम्पूर्ण अधिकृत महिला नै छन्। गणतन्त्रपछि नेपालले निजामती सेवा लगायतका क्षेत्रमा अपनाएको समावेशिताका कारण पहिलो पटक बेइजिङ र ब्रसेल्स (बेल्जियम) स्थित राजदूतावासका सबै अधिकृत महिला हुने संयोग जुरेको हो।

    बेइजिङ र ब्रसेल्स : सबै महिला
    विदेशस्थित नेपाली नियोग (राजदूतावास) हरूमा राजदूतपछि उपसचिव वा अधिकृतस्तरका अधिकारी उपनियोग प्रमुखको जिम्मेवारीमा छन्। तर, भूराजनीतिक दृष्टिले महत्त्वपूर्ण बेइजिङ, नयाँदिल्ली र वासिङ्टनस्थित नेपाली राजदूतावास र बहुपक्षीय कूटनीतिका दृष्टिले महत्वपूर्ण संयुक्त राष्ट्रसंघको स्थायी नियोग (न्युयोर्क) मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) तहका अधिकारीलाई परराष्ट्र मन्त्रालयले उपनियोगको जिम्मेवारी दिने गरेको छ।

    यसैक्रममा परराष्ट्र सेवाकी सहसचिव रोशन खनालले गत वैशाखदेखि बेइजिङस्थित नेपाली दूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी पाइन्। उपनियोग प्रमुखको जिम्मेवारी सम्हाल्न खनाल बेइजिङ पुगेको ६ महिनापछि नै सरकारले चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली लगायत अघिल्लो सरकारले नियुक्त गरेका राजनीतिक नियुक्तिका ११ राजदूतलाई फिर्ता बोलायो।

    राजदूत ओलीको काठमाडौँ फिर्तीसँगै सहसचिव खनालले बेइजिङ दूतावासको नेतृत्व गरिरहेकी छन्, ‘कार्यवाहक राजदूत’का रूपमा।

    ‘परराष्ट्र सेवाको सहसचिव भएकाले उहाँ राजदूतकै जिम्मेवारी सम्हाल्न योग्य र क्षमतावान हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री भन्छन्, ‘प्राविधिक कारणले मात्र उहाँ कार्यवाहक राजदूतको जिम्मेवारीमा रहनु भएको हो।’

    नेपालको महत्त्वपूर्ण र ठूलो मिसन (नियोग) मध्येको एक बेइजिङ दूतावासको नेतृत्व खनालले गरिरहँदा संयोगवश सैन्य सेवाबाट जाने सैनिक सहचारीबाहेक अन्य सबै अधिकारी पनि महिला नै परेका छन्। बेइजिङस्थित दूतावासमा प्रशासन र लेखातर्फका अधिकारी पनि महिला नै छन्।

    कार्यवाहक राजदूत रोशन खनालकार्यवाहक राजदूत रोशन खनाल

    जस्तो : यतिबेला दूतावासमा कार्यवाहक राजदूतपछि दोस्रो वरीयतामा रहेको पद हो, मिनिस्टर (इकोनोमिक)। मन्त्रालयले यो जिम्मेवारी सामान्य प्रशासन सेवाका राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) का अधिकारीलाई दिने गरेको छ।

    बेइजिङ दूतावासमा मिनिस्टर (इकोनोमिक) रहेका छविन्द्र पराजुलीको कार्यकाल अघिल्लो वर्ष समाप्त भएपछि यो जिम्मेवारी सहसचिव पार्वती अर्यालले प्राप्त गरिन्।

    अर्यालले गत साल मिनिस्टर (इकोनोमिक) को रूपमा जिम्मेवारी सम्हालेसँगै बेइजिङ दूतावासमा दुई जना महिला अधिकारी हुन पुगे। किनकि त्यसअघि नै परराष्ट्र सेवाकै उपसचिव सविता नकर्मी ‘काउन्सेलर’ को जिम्मेवारीमा थिइन्।

    बेइजिङ दूतावासमा ‘द्वितीय सचिव’ र ‘तृतीय सचिव’ तहका थप दुई पद पनि छन्। यसमध्ये ‘द्वितीय सचिव’ को जिम्मेवारी परराष्ट्र सेवाका अधिकृतले सम्हाल्छन् भने ‘तृतीय सचिव’ को जिम्मेवारी सामान्य प्रशासन सेवा अन्तर्गत ‘लेखा’ तर्फका अधिकृतलाई दिइएको हुन्छ।

    यसअघिका तृतीय सचिव (लेखा) गोविन्द भट्टराई चार वर्षे कार्यकाल पूरा गरी अघिल्लो वर्ष काठमाडौँ फर्केपछि यो जिम्मेवारी लेखा तर्फकी अधिकृत सुमित्रा भण्डारीले पाइन्।

    दूतावासमा ‘द्वितीय सचिव’ को जिम्मेवारीमा यसअघि परराष्ट्र सेवाका अधिकृत मनहरि दंगाल थिए। गोन्जाओस्थित नेपाली महावाणिज्य दूतावास र त्यसपछि बेइजिङ दूतावासमा गरी चार वर्षे कार्यकाल पूरा गरेर दंगाल परराष्ट्र मन्त्रालय फर्केपछि त्यो जिम्मेवारी संयोगवश २०८१ मा परराष्ट्र सेवा प्रवेश गरेकी सञ्जु महर्जनले सम्हाल्नु पर्ने भयो।

    यसरी कार्यवाहक राजदूत रोशन खनालदेखि द्वितीय सचिव सञ्जु महर्जनसम्मले पाएको जिम्मेवारीका कारण बेइजिङ दूतावास कूटनीतिक सेवाका महिला अधिकारीहरूले भरिभराउ बन्न पुगेको छ।

    त्यसो त, बेइजिङस्थित दूतावासमा सैनिक सहचारी र सहचारी गरी थप दुई जिम्मेवारी पनि छन्। यसमध्ये ‘सैनिक सहचारी को जिम्मेवारीमा नेपाली सेनाका महासेनानी जयन्द्र केसी छन् भने परराष्ट्र सेवा अन्तर्गत राजपत्रअनंकित प्रथम श्रेणी (नायव सुब्बा) का राजकुमार साहलाई सहचारीका रूपमा यसै हप्ता बेइजिङ पठाइएको छ।

    बेल्जियम, नेदरल्यान्ड्स र लक्जेम्बर्गजस्ता युरोपका महत्त्वपूर्ण मुलुक (बेनेलक्स कन्ट्री) का साथै युरोपेली युनियन पनि ब्रसेल्सस्थित नेपाली राजदूतावासमा पनि अर्काे हप्तादेखि सम्पूर्ण अधिकारी महिला नै हुँदैछन्।

    फागुन (२०८१) देखि ब्रसेल्सस्थित नेपाली राजदूतावासको नेतृत्व परराष्ट्र सेवाकै सेवा लम्सालले गर्दै आएकी छन्, जो नेपालको पहिलो महिला परराष्ट्र सचिव पनि हुन्।

    नियोग प्रमुख (राजदूत) बाहेक ब्रसेल्सस्थित नेपाली राजदूतावासमा उपनियोग प्रमुख (उपसचिव), द्वितीय सचिव (अधिकृत) र तृतीय सचिव (वा सहचारी) गरी कुल ४ दरबन्दी छन्।

    ब्रसेल्सस्थित दूतावासमा यसअघि उपनियोग प्रमुख सुरेश अधिकारी थिए। तर, उनी परराष्ट्र सेवाको सहसचिवमा बढुवा भएपछि एक वर्षअघिदेखि दूतावास उपनियोग प्रमुखविहीन थियो। दूतावासमा द्वितीय सचिव रौष कार्की र तृतीय सचिव (नायब सुब्बाका रूपमा ६ वर्ष पूरा गरिसकेका) रमेश गैरे दुवै जना पुरुष थिए।

    यसमध्ये रिक्त रहेको उपनियोग प्रमुखको जिम्मेवारीमा परराष्ट्रले उपसचिव ऋचा भट्टराईलाई पठाउने निर्णय गरिसकेको छ। यसअघि शिष्टाचार अधिकृत (प्रोटोकल अफिसर) रहेकी भट्टराईको उपसचिवमा बढुवासँगै हालसालै उनलाई ब्रसेल्सस्थित दूतावासमा उपनियोग प्रमुखको जिम्मेवारी दिने निर्णय भएको हो। कार्यभार सम्हाल्न भट्टराई अर्काे हप्ता ब्रसेल्स पुग्नेछिन्।

    बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालबेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल

    त्यसबाहेक चार वर्षे कार्यकाल समाप्त गरेर द्वितीय सचिव रौष कार्की मन्त्रालय फर्केसँगै द्वितीय सचिवको जिम्मेवारी आयुषा खनालले पाएकी छन्। वरिष्ठ नायब सुब्बा (नासु) को हैसियतमा तृतीय सचिव रहेका रमेश गैरे अधिकृतमा बढुवा भएर फर्केपछि परराष्ट्र सेवाकै महिला नासु लक्ष्मी पोखरेलले तृतीय सचिवको जिम्मेवारी सम्हालेकी छन्।

    ‘ब्रसेल्सस्थित नेपाली राजदूतावासमा राजदूतदेखि तृतीय सचिवसम्मको सबै जिम्मेवारी परराष्ट्र सेवाका महिला कूटनीतिक अधिकारीहरूले सम्हाल्ने हुनुभएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्री भन्छन्, ‘हाम्रो परराष्ट्र सेवामा महिला कूटनीतिक अधिकारीहरूको संख्या उल्लेख्य भएकैले यो सम्भव भएको हो।’

    गणतन्त्रपछिको सकारात्मक परिवर्तन
    विदेशस्थित नेपाली नियोगमा देखिन थालेको यो बिल्कुल नौलो परिदृश्य गणतन्त्रपछि नेपालले अपनाएको समावेशी सिद्धान्तले सम्भव बनाएको हो। सरकारी सेवामा महिलाहरूको बढ्दो आरक्षण प्रतिशतसँगै परराष्ट्र सेवामा ठूलो संख्यामा महिला अधिकृतहरूको प्रवेश भयो, जसका कारण बेइजिङ र बेल्जियमस्थित नेपाली दूतावासमा पठाइएका सबै कूटनीतिक अधिकृतहरू महिला हुन पुगे।

    गणतन्त्रअघि परराष्ट्र सेवामा सीमित महिला अधिकृत थिए। बीपी कोइरालाको पालामा परराष्ट्र सेवामा प्रवेश गरेकी नेपालको पहिलो महिला राजदूत विन्देश्वरी शाहले ३० वर्षे उमेर हदका कारण २०४९ मा अवकाश प्राप्त गरिसकेकी थिइन्।

    शाहपछि परराष्ट्र सेवामा प्रवेश गर्ने दोस्रो अधिकृत अम्बिका मानन्धर लुइँटेल थिइन्। उपसचिव, सहसचिव हुँदै उनले फ्रान्सका लागि नेपाली राजदूत (२०७१–०७५) बन्ने अवसर प्राप्त गरिन्।

    अधिकृतकै रूपमा परराष्ट्र सेवामा प्रवेश गर्ने तेस्रो महिला अधिकृत रीता धिताल हुन्, जो हाल पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारीमा छन्। धिताल ‘खुला’ तर्फबाट लोकसेवा उत्तीर्ण गरी २०६३ भदौमा परराष्ट्र सेवा प्रवेश गरेकी थिइन्।

    ठूलो संख्यामा परराष्ट्र सेवामा महिला अधिकृतहरूको प्रवेश चाहिँ २०६७ मा भएको हो। नेपालले त्यसै सालदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रचलनमा ल्याउने निर्णय गरेको थियो। परराष्ट्र मन्त्रालय र अन्तर्गतको राहदानी विभागका लागि ठूलो संख्यामा कर्मचारीको आवश्यकता परेपछि लोकसेवा आयोगले परराष्ट्र सेवा अन्तर्गत २८ अधिकृतहरूको दरबन्दी सिर्जना गर्‍यो। अधिकृतका लागि आह्वान गरिएका २८ मध्ये विभिन्न समूहबाट १४ महिला अधिकृतहरू परराष्ट्र सेवामा प्रवेश गरे। परराष्ट्र सेवामा यति ठूलो संख्यामा महिला अधिकृतहरू प्रवेश गरेको यो नै पहिलो घटना थियो।

    ‘दस–पन्ध्र वर्षअघिको कुरा गर्ने हो भने परराष्ट्र सेवामा महिला अधिकृतहरूको संख्या त्यति उत्साहप्रद थिएन,’ परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई भन्छन्, ‘समावेशिताको दृष्टिले हेर्ने हो भने अहिले परराष्ट्र सेवाको परिदृश्यमा निकै ठूलो परिवर्तन आएको छ।’

     ब्रसेल्सस्थित नेपाली दूतावासका निवर्तमान द्वितीय सचिव रौष कार्की (बायाँ) र तृतीय सचिव रमेश गैरे (दायाँ) का साथ राजदूत सेवा लम्साल (बीचमा)ब्रसेल्सस्थित नेपाली दूतावासका निवर्तमान द्वितीय सचिव रौष कार्की (बायाँ) र तृतीय सचिव रमेश गैरे (दायाँ) का साथ राजदूत सेवा लम्साल (बीचमा)

    सचिव राईका अनुसार, परराष्ट्र मन्त्रालयमा कुल अधिकारीहरूको संख्या हाल २ सय ९५ छ, त्यसमध्ये महिला अधिकारीहरू ७६ जना छन्।

    कुनै बेला एकाध मात्र महिला रहेको परराष्ट्र मन्त्रालयमा २० वर्षको अवधिमा यतिधेरै महिला अधिकारीहरू हुनु समावेशिताको दृष्टिले साँच्चिकै महत्त्वपूर्ण  उपलब्धि हो।

    मन्त्रालयका अनुसार, विदेशस्थित नेपाली राजदूतावास, महावाणिज्य दूतावास जस्ता नेपाली नियोगमा कार्यरत कूटनीतिक कर्मचारीको संख्या १ सय ४८ छ। यो संख्या राजनीतिक नियुक्ति पाएका राजदूतबाहेकको हो।

    विदेशस्थित नेपाली नियोगहरूमा कार्यरत १ सय ४८ मध्ये ४० जना महिला अधिकारी छन्। ४० मध्ये पनि अधिकृत र यो भन्दा माथिल्लो तह (सहसचिव र उपसचिव) मा महिला कूटनीतिक अधिकारीहरूको संख्या २८ छ।

    परराष्ट्र मन्त्रालयले तयार पारेको सन् २०२५ नोभेम्बरको कूटनीतिक सूची हेर्ने हो भने विदेशमा रहेका राजदूतावासस्तरका ३४ वटा नियोगमध्ये १३ वटा राजदूतावास मात्र महिला राजदूत वा कूटनीतिक कर्मचारीविहीन छन्। २१ वटा नियोगमा कुनै न कुनै तहका महिला अधिकारी छन्।

    क्यानबेरा (अस्ट्रेलिया) स्थित नेपाली राजदूतावासमा महिला कूटनीतिक कर्मचारी छैनन्। तर, राजदूत नै महिला (चित्रलेखा यादव) छिन्। उनी राजनीतिक कोटाबाट नियुक्त राजदूत हुन्। अस्ट्रेलियाबाहेक डेनमार्क (सुम्निमा तुलाधर) र शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया) मा पनि राजनीतिक नियुक्ति पाएका महिला राजदूत हुन्।

    विदेशीहरूले पेरिस (फ्रान्स) स्थित नेपाली राजदूतावासमा चियाए भने पनि नेपालको परराष्ट्र सेवामा बलियो महिला समावेशिता देख्न सक्छन्।

    किनकि, पेरिसस्थित नेपाली राजदूतावासमा ४ वटा कूटनीतिक दरबन्दी छन्। यहाँ परराष्ट्र सेवाका राजदूत (सुधीर भट्टराई) मात्र पुरुष छन्, बाँकी सबै अधिकारी महिला।

    कूटनीतिक सूची (२०२५ नोभेम्बर) का अनुसार पेरिस दूतावासमा सीता बस्नेत (उपसचिव) उपनियोग प्रमुख छिन् भने अधिकृत जानकी ओझा (प्रथम सचिव) र ज्योत्सना काफ्ले (सहचारी) छन्।

    ‘हामीकहाँ महिला राष्ट्रपति र सभामुख भइसक्नुभयो, प्रधानमन्त्री त अहिले नै महिला हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्री भन्छन्, ‘समावेशिताको दृष्टिले परराष्ट्र सेवा पनि उत्कृष्ट बन्दै गएको छ। अलिक वर्षपछि परराष्ट्र सेवा र विदेशस्थित नेपाली नियोगहरूमा महिला अधिकृतहरूको संख्या अझै उल्लेख्य रूपमा बढ्नेछ।

    from source  Nepalkhabar.com

    Post Views: 125
    प्रकाशित मिति: २०८२ मंसिर ६, शुक्रबार ०९:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा
    मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी
    सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    • ३. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ४. अमेरिकी ट्राभल एड्भाइजरीमा नेपालको स्थिति सुधारः लेभल–२ मा झर्‍यो

    • ५. सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश

    चर्चित
    • १. अमेरिका र इरानबीच दुई साताको युद्धविराम घोषणा

    • २. सरकारद्धारा ६ राजदुत फिर्ता बोलाएपछि कुटनीतिक नियोगमा आधा खाली

    • ३. मन्त्रीहरूलाई कूटनीतिक आचारसंहिताबारे दिइयो जानकारी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.