संवैधानिक परिषद बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पेश गरेको सर्वोच्च अदालतका न्यायाधीशबाट सम्पन्न न्याय सम्पादन तथ्याङक तथ्य गलत भएको पाइएको छ ।वरीयतामा चौथो नम्बरमा रहेका न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्री बालेनले सबैभन्दा बढी मुद्दा छिनेर छिटो न्याय सम्पादन गरेको दाबी पेश गरेका थिए ।

न्यायाधीशको कार्यसम्पादन र कार्यक्षमताबारे सर्वोच्चको रेकर्डलाई नै गुमराहमा पारिएको देखिएको छ । न्यायाधीश डा.शर्माको सिफारिसमा सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गरेको प्रमुख कारण देखाइएको थियो । शर्माले न्याय सम्पादनका क्रममा मुद्दा फर्छ्योट संख्या प्रस्तावित पाँच न्यायाधीशहरूको तुलनामा सबैभन्दा उच्च रहेको भनाइ बालेनको थियो ।
प्रधानन्यायाधीशमा सिफारिस भएलगत्तै प्रधानमन्त्रीको सचिवालयले समेत न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको कार्यसम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डा.शर्मा अन्य समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको बताएको थियो । सर्वोच्च अदालतको तथ्याङ्कले नै उक्त दाबीलाई खारेज गरिदिएको छ ।
चार आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रधानन्यायाधीशका लागि न्यायपरिषदबाट सिफारिस गरिएका सर्वोच्चका ६ न्यायाधीशमध्ये मुद्दा फर्छ्योटमा न्यायाधीश हरिप्रसाद फुयाल सबैभन्दा अगाडि देखिएका छन् । पछि सर्वोच्चको न्यायाधीश बनेर पनि समयका हिसाबले न्याय सम्पादनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको सबैभन्दा द्रुत गति देखिएको छ । शर्मा तेस्रो स्थानमा छन् ।
कस्को गति कति ?
सर्वोच्च अदालतमा आर्थिक वर्ष ०७५–७६ को न्याय सम्पादनमा कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान ८१०, न्यायाधीश कुमार रेग्मी ४८९, हरिप्रसाद फुयाल ३७७ र डा.मनोजकुमार शर्माले ३६१ मुद्दा किनारा लगाएका छन् ।
मल्लले आव ०७६–७७ मा ७९४, रेग्मी एक हजार ९९ र फुयाल एक हजार ४६ र शर्माले एक हजार ६४६ मुद्दाको टुंगो लगाएका छन् । आव ०७७, ७८ मा मल्लले ४१६, रेग्मीले ५३३, फुयालले ५१८ र डा.शर्माले ५९४ मुद्दा छिनेका छन् ।
सोही आर्थिक वर्षको अन्त्यतिर सर्वोच्चको न्यायाधीश बनेर आएका डा.नहकुल सुवेदीले ४७ मुद्दाको छिनोफानो गरेका थिए ।
आव ७८–०७९ मा मल्लले ६३८, रेग्मी ९७७, फुयाल ९६८, डा. शर्मा एक हजार १०, डा. सुवेदी ८१४ र यसै आर्थिक वर्षको बीचमा न्यायाधीश बनेका तिलप्रसाद श्रेष्ठले ७६५ मुद्दा छिनेको देखिन्छ ।
आर्थिक वर्ष २०७९–८० मा मल्लले एक हजार ३५२, रेग्मीले एक हजार ७५१, फुयाल एक हजार ७६२, डा. शर्मा एक हजार ९५७, डा.सुवेदी एक हजार ७२९ र श्रेष्ठले दुई हजार ४८१ मुद्दा फर्छ्योट गरेका छन् ।
यस्तै, आव २०८०– ८१ मा मल्लले एक हजार ४७१, रेग्मीले एक हजार ८६६, फुयालले दुई हजार २३२, डा.शर्माले दुई हजार १८१, डा.सुवेदीले दुई हजार ३७९ र श्रेष्ठले दुई हजार ७४६ मुद्दाको किनारा लगाएका छन् ।
सर्वोच्चको तथ्याङकअनुसार आव २०८१–०८२ मा मल्लले एकहजार पाँच सय ६८, रेग्मीले दुई हजार १३६, फुयालले दुई हजार ५६५, डा.शर्माले एक हजार ६४४, डा.सुवेदीले दुई हजार ३९६ र श्रेष्ठले तीन हजार ४०८ मुद्दा छिनेका छन् ।
चार वर्षको गणित
चार आर्थिक वर्षको सर्वोच्च अदालतको सूचकले फुयाललाई मुद्दा फछ्र्योटमा सबैभन्दा अगाडि देखाएको छ । कामु प्रधानन्यायाधीश मल्लले कुल सात हजार ४९ मुद्दा किनारा लगाएकी छन् । न्यायाधीश रेग्मीले आठ हजार ८५१ मुद्दा छिनेका छन् । फुयालले नौ हजार ४६८ (सबैभन्दा बढी) किनारा लगाएका छन् ।
न्यायाधीश डा. शर्माले नौ हजार ३९३ मुद्दा छिनेका छन् । न्यायाधीश डा.सुवेदीले सात हजार ३६५ मुद्धा फर्छ्योट गरेको देखिन्छ । न्यायाधीश श्रेष्ठले नौ हजार ४०० मुद्दा किनारा लगाएको तथ्यले देखाउँछ ।
उक्त विवरण सर्वोच्चको वेबसाइटमा समेत सार्वजनिक रुपमा राखिएको छ । न्यायाधीश मल्ल २०७३ साल साउन १७ गते सर्वोच्चको न्यायाधीश बनेकी थिइन् ।
रेग्मी, फुयाल र शर्मा एकैदिन २०७६ साल वैशाख ६ गते सर्वोच्चको न्यायाधीश बनेका थिए ।
न्यायाधीश डा. सुवेदी २०७८ साल वैशाख ६ मा न्यायाधीश नियुक्त भएका हुन् । यस्तै, न्यायाधीश श्रेष्ठ २०७८ साल चैत १५ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका थिए ।




