Newyork Time 01:26 am
May 5, 2024, Sunday
२०८१ बैशाख २३

उत्साहजनक बन्न नसकेको लोकतन्त्र दिवश

२०८१ बैशाख ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

170

 

 

हुनलाई आज नेपाली जनताले स्थापित गरेको लोकतन्त्र दिवश हो तर यो लोकतन्त्र जनताका लागि व्यर्थ सावित हुँदै गएको छ । लोकतन्त्र दिवश युवा अवस्थामा नपुग्दै आलोचित मात्रै छैन जनता वाक्क दिक्क भएका छन, कारण राजनीतिक नेतृत्वको अलोकतान्त्रिक व्यवहारले । त्यसैले लोकतन्त्र दिवशको खासै उत्साह देखिदैन । वैशाख ११ गते, २०६२,०६३ को जनआन्दोलन सफल भएको दिन । त्यो दिन ल्याएको उत्साहलाई जनताले अनुभुत गर्न नपाएको सबत्र सुनिन्छ ।

२०६३ साल वैशाख ११ गते राति तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए। राजनीतिक दलको माग बमोजिम ज्ञानेन्द्रले संसद् पुनःस्थापना गरेका थिए । पुनःस्थापित संसद्को जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यवाहक राष्ट्राध्यक्षको अधिकारसमेत प्रधानमन्त्रीलाई दिएको थियो । जनआन्दोलनमा कमाण्डरसमेत रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सर्वदलीय सरकारले २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव गराएको थियो ।

नेपालमा १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ । यो जनआन्दोलनको जगमा तत्कालीन नेकपा माओवादी र सरकारबिच विस्तृत शान्ति सम्झौता सम्पन्न भएको थियो। यही आन्दोलनपछि संविधानसभा चुनाव भयो र संविधानसभाको २०६५ साल जेठ १५ गतेको बैठकले नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको थियो ।

संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्। तर जनताले भने त्यस अनुरुपको विकास हुन नसकेको भन्दै निराशा व्यक्त गरिरहेका छन् । देशमा भएको परिवर्तन सहीरुपमा संस्थागत हुन नसकेको र राजनीतिक दलले पुरानै चरित्र प्रदर्शन गरेको भन्दै जनतामा निराशा भने व्याप्त छ । यसर्थ लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । लोकतन्त्रको नेतृत्व गर्ने नेताहरु अलोकतान्त्रिक भए पनि त्यसको विकल्प भनेको नेतृत्व परिवर्तन मात्रै हो व्यवस्था परिवर्तनबाट संभव छैन ।