भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।

पाकिस्तानका उपप्रधानमन्त्री इसाक डार र भारतका विदेशसचिव विक्रम मिस्रीले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘युद्धविराम’का लागि तयार भएकामा बधाई दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविरामका लागि तयार भएको जानकारी गराउँदै त्यसलाई अमेरिकाले रातभरि गरेको प्रयासको परिणाम भनेका छन्।
अमरिकाको मध्यस्थतामा रातभरि भएको कुराकानीबाट भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि तयार भएको जानकारी गराउन पाउँदा प्रसन्न छु,’ उनले ट्रुथ सोसलमा लेखेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा आश्चर्यजनक घोषणा गर्दै वासिङ्टनको मध्यस्थतामा भएको वार्ता पछि युद्धविराम भएको बताएका छन् ।
अमेरिकाको मध्यस्थतामा भएको रातभरको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएको ट्रम्पले शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भारतका विदेश सचिव मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेका र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गरेका छन् ।
छोटो विज्ञप्तिमा मिस्रीले भनेका छन्, ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’
दुवै पक्षका डीएमजीओहरूलाई यो सहमति कार्यान्वयन गर्न निर्देशन दिइसकिएको छ । साथै, दुवै अधिकारीबीच मे १२ मा दिउँसो १२ बजे फेरि संवाद हुने जानकारी पनि दिइएको छ ।
पाकिस्तानका विदेश मन्त्री इसाक डारले जियो टिभीसँगको कुराकानीमा भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्।
युद्धविरामपछि भारत-प्रशासित कश्मीरका बासिन्दाले राहतको भावना व्यक्त गरेका छन्, र धेरैले कश्मीर विवादको स्थायी समाधानको लागि प्रार्थना गरेका छन्।


