अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। खनाल द हिमालयन टाइम्सका पूर्वसम्पादक हुन्। उनले अमेरिकी सहायताबाट सञ्चालित द एसिया फाउन्डेसनमा पनि काम गरेका छन्। खनालका पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छ। उनका बुबा श्रीभद्र शर्मा खनाल नेपाली कांग्रेसका पूर्व महामन्त्री हुन्। श्रीभद्र शर्मा नेपाली कांग्रेसका संस्थापकमध्ये एक हुन्।

नेपालमा शान्ति प्रक्रिया चलिरहँदा एसिया फाउन्डेसनले नै यहाँका सबै राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरू सामेल गरी ‘नेपाल ट्रान्जिसन टु पिस’ (एनटीटीपी) इनिसिएटिभ नामक परियोजना सञ्चालन गरेको थियो। खनालले त्यसमा कार्यकारी निर्देशक भएर पनि काम गरेका थिए। केही समय उकालो अनलाइनमा आबद्ध रहेका उनी पछिल्लो समय भने एउटा अनुसन्धान संस्थामा थिए। सेन्टर फर सोसियल इनोभेसन एन्ड फरेन पोलिसी नामक उक्त संस्थाले बीआरआईलगायतका परियोजना र नेपालमा चिनियाँ प्रभावका विषयमा धेरै प्रतिवेदन तयार गरेको देखिन्छ।
तिमिल्सिना उज्ज्वल थापा फाउन्डेसनका उपाध्यक्ष हुन्। विवेकशील नेपाली पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा यो फाउन्डेसन स्थापना गरिएको हो। उनले विभिन्न राजनीतिक र सामाजिक अभियानहरूमा उज्ज्वल थापासँग सहकार्य पनि गरेका थिए। थापाको भने कोरोना महामारीका बेला निधन भएको थियो। थापाको वैकल्पिक राजनीतिको अभियान अहिले छिन्नभिन्न छ।





