परराष्ट्र मन्त्रालयले दक्षिण–पूर्व एसियाका विभिन्न देशहरूमा सञ्चालन भइरहेका अनलाइन डिजिटल ठगी केन्द्रहरूमा फसेका नेपालीहरूको उद्धार प्रयास तीव्र पारिएको जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म थाइल्यान्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

उद्धार गरिएकामध्ये ४८७ जना कम्बोडियाबाट, १११ जना म्यानमारबाट, आठ जना लाओसबाट र छ जना थाइल्यान्डबाट रहेका छन्, मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार थाइल्यान्ड र म्यानमारस्थित नेपाली दूतावासहरूले स्थानीय निकायसँग समन्वय गरी उद्धार तथा स्वदेश फिर्ता प्रक्रियालाई सहजीकरण गरिरहेका छन्। थप ५३ जनाका लागि यात्रा कागजात तयार भइसकेको र उनीहरूलाई छिट्टै नेपाल ल्याउने तयारी भइरहेको छ।
सन् २०२१ यता करिब २१ हजार नेपाली विभिन्न प्रयोजनका लागि कम्बोडिया पुगेको तथ्यांक रहेको छ, जसमा धेरैजसो यस्ता शंकास्पद ठगी गतिविधिमा संलग्न हुन पुगेको आशंका गरिएको छ। यसैबीच, कम्बोडियाली अधिकारीहरूले पछिल्लो समय नौ जना नेपालीलाई विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेका छन्।
प्रवक्ता क्षेत्रीका अनुसार पक्राउ परेकामध्ये पाँच जनालाई संगठित ठगीसम्बन्धी मुद्दामा सिएम रिप प्रान्तीय अदालतमा पेश गरिनेछ। बाँकी चार जनालाई बन्धक बनाउने, यातना दिने र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। यी पछिल्ला पक्राउसँगै कम्बोडियामा हिरासतमा रहेका नेपालीहरूको संख्या १४ पुगेको छ।



