नेपाल मेडिकल काउन्सिलले शुक्रबार १९ जना डाक्टरको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। यसै साता काउन्सिलले १७ जना डाक्टरको लाइसेन्स रद्द गरेको थियो। शुक्रबारका १९ जनासहित यो साता ३६ डाक्टरले मेडिकल काउन्सिलको लाइसेन्स गुमाएका छन्।

काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार शुक्रबार नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरिएको छ। नेपाली नागरिकता त्यागेर विदेश राहदानी लिएका कूल ३६ जना चिकित्सकको लाइसेन्स खारेज गरिएको काउन्सिलका रजिष्ट्रार डा.सतिशकुमार देवले बताए। उनका अनुसार ती चिकित्सकको नाम दर्ता किताबबाट समेत हटाइएको छ।
‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकको नाम काउन्सिलको दर्ता कितावबाट खारेज गर्ने निर्णय गरिएको छ,’ उनले भने। शुक्रबार डाक्टर लाइसेन्स रद्द भएका १९ जनामा ब्रिटिस, क्यानडा, अमेरिका, न्युजिल्यान्ड, जर्मनी, अष्ट्रेलिया र भारतको नागरिकता लिएकाहरू हुन्। उनका अनुसार लाइसेन्स रद्द गरिएकाहरूमा डा.सुमिन्द्रा पुन, शैलेश कुमार जयसवाल, भूपेन खड्का, आरती रानाभाट छन्। यसैगरी डा.रमेशराज पहारी, सञ्जोक घले, ऋषिराज बराल, डा प्रभु पाण्डे, तृप्ति महर्जन र सृजना श्रेष्ठको पनि लाइसेन्स खारेज भएको छ।
यस्तै, लाइसेन्स खारेज हुनेमा डा.सुनिता विष्ट, दीपा मल्ल, सौरब जिसी, जेनिसा श्रेष्ठ, प्रभास रेग्मी, दीपिका ज्ञवाली, हेमु चौरसिया, समीक्षा शर्मा र मनोरमा पाण्डे रहेका छन्।





