अमेरिका जानेहरुका लागि भिषाको अन्र्तवार्ताको समय नपाएर हैरानी भएको बेला अमेरिकी विदेश मन्त्रालयको एउटा निर्णयले उनिहरुका लागि खुसीको खबर हुनेछ । अमेरिका जान चाहने व्यावसायिक वा पर्यटक भिसाका आवेदक विदेशी नागरिकहरूका लागि अमेरिकी विदेश मन्त्रालयले ‘प्रिमियम’ द्रुत सेवा ल्याउने भएको हो । एपी समाचारमा उल्लेख भए अनुसार यस सेवाका लागि आवेदकहरूले सुरुवाती १८५ डलरको भिसा शुल्कबाहेक थप ७५० अमेरिकी डलर बुझाउनुपर्नेछ व्यवस्था गर्ने उल्लेख छ।

एपी समाचारले उल्लेख गरे अनुसार आज मंगलबार ‘फेडरल रजिस्टर’ मा सुचना प्रकाशित गर्दै विदेश मन्त्रालयले एउटा ‘पाइलट प्रोजेक्ट’ घोषणा गर्दैछ। जसअन्तर्गत तोकिएका निश्चित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयहरूमा थप ७५० डलर तिरेको १० दिनभित्रै अन्तर्वार्ताको मिति तय गर्न पाइनेछ। यो पाइलट प्रोग्राम आगामी जुलाई १ देखि डिसेम्बर ३१ सम्म लागु हुनेछ।
यो कदमलाई ट्रम्प प्रशासनद्वारा अमेरिका प्रवेशमा कडाइ गर्ने नीतिका कारण उत्पन्न असहज परिस्थितिलाई केही सहज बनाउने प्रयासका रूपमा हेरिएको उल्लेख छ। वर्तमान प्रशासनले विदेशी आप्रवासनका प्रायः सबै स्वरूपहरूमा कडाइ गरेको छ। केही देशहरूका नागरिकका लागि भिसा प्रोसेसिङका क्रममा १५ हजार डलरसम्मको बन्ड बुझाउनुपर्ने व्यवस्था गरिएको छ भने आवेदकहरूको सामाजिक सञ्जाल खातासहित वर्षौँ पुरानो व्यक्तिगत इतिहासको सुक्ष्म जाँच समेत अनिवार्य गरिएको छ। यो कदमलाई अमेरिकाका भिषामा केहि खुकुलो गर्ने संक्ेतका रुपमा पनि लिइएको छ । यो व्यवस्था कुन कुन देशमा लागु हुने भन्ने स्पष्ट नभए पनि ‘फेडरल रजिस्टर’ मा सुचना प्रकासित गरिएपछि स्पष्ट हुनेछ । स्मरणीय रहोस अमेरिकामा प्रायजसो आप्रवासनसम्बन्धि सेवाका लागि फास्ट ट्याकबाट बढी रकम तिरेपछि चाडो सेवा पाउने कानुनी व्यवस्था रहेको छ ।





