अवैध आप्रवासीमाथिको कडाइ अभियान सञ्चालन गर्ने निकायहरूलाई वित्तीय स्रोत उपलब्ध गराउनेअमेरिकी प्रतिनिधिसभामा रिपब्लिकन सांसदहरूले ७० अर्ब डलरको विधेयक पारित गरेका छन् । जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालभर अवैध आप्रवासीमाथिको कडाइ अभियान सञ्चालन गर्ने निकायहरूलाई वित्तीय स्रोत उपलब्ध गराउनेछ। यससँगै डेमोक्र्याटहरूसँग महिनौँदेखि जारी गतिरोध अन्त्य भएको छ, जसका कारण एक चरणमा गृह सुरक्षा मन्त्रालय आंशिक रूपमा बन्द हुन पुगेको थियो।

“सिक्योर अमेरिका एक्ट” नामक उक्त विधेयक २१४ विरुद्ध २१२ मतले पारित भएको हो। मतदान प्रायः दलगत आधारमा भएको थियो। रिपब्लिकन पक्षसँग नजिक रहेका स्वतन्त्र सांसद केभिन काइलीले सबै डेमोक्र्याट सांसदहरूसँग मिलेर विधेयकको विपक्षमा मतदान गरेका थिए। गत साता सिनेटले पनि विधेयक पारित गरेको थियो। विधेयकअनुसार सन् २०२९ को सेप्टेम्बरसम्मका लागि अमेरिकी अध्यागमन तथा भन्सार कार्यान्वयन निकायलाई ३८ अर्ब डलर, सीमा सुरक्षा निकाय लाई २६ अर्ब डलर र गृह सुरक्षा मन्त्रालयलाई थप ५ अर्ब डलर विनियोजन गरिने उल्लेख छ । अब यो विधेयक राष्ट्रपति ट्रम्पको हस्ताक्षरपछि कानुनी रुपमा कार्यन्वयनमा जानेछ ।
विधेयक पारित भएपछि प्रतिनिधिसभाका रिपब्लिकन सभामुख माईक जोन्सनले भने, “आजको मतदानसँगै प्रतिनिधिसभा र सिनेटका रिपब्लिकनहरूले यस कांग्रेस अवधिको तेस्रो डेमोक्र्याट(प्रेरित सरकारी बन्द औपचारिक रूपमा अन्त्य गरेका छन्।” उनले थपे, “डेमोक्र्याटहरूले सरकार बन्द गरेर अमेरिकी जनतालाई खुला सीमाना र आपराधिक गैरकानुनी आप्रवासीहरूलाई अमेरिकी समुदायमै राख्ने आफ्नो समर्थनको सम्झना मात्र गराएका छन्। अमेरिकी जनताले यस्ता नीतिहरू पटक–पटक अस्वीकार गरिसकेका छन्।
डेमोक्र्याटहरूले जनवरीमा ती निकायहरूको बजेट अवरुद्ध गर्ने घोषणा गरेका थिए। उनीहरूको आरोप थियो कि अवैध आप्रवासी खोजी अभियानका क्रममा मिनियापोलिसमा संघीय एजेन्टहरूको कारबाहीबाट दुई अमेरिकी नागरिक मारिएका थिए। त्यसपछि उनीहरूले संघीय अध्यागमन कार्यान्वयन प्रणालीमा सुधारको माग गर्दै बजेट रोक्ने रणनीति अपनाएका थिए। तर सुधारसम्बन्धी वार्ता सफल हुन सकेन।
डेमोक्र्याटहरूको बहिष्कार तथा संघीय अध्यागमन कार्यान्वयन प्रणालीमा सुधारका लागि गरिएको निष्फल वार्ताले गृह सुरक्षा मन्त्रालयको सम्पूर्ण खर्च स्वीकृत गर्ने विधेयक पारित हुनबाट रोकिएको थियो। त्यसका कारण मन्त्रालय फेब्रुअरीको मध्यदेखि ७५ दिनसम्म आंशिक रूपमा बन्द हुन बाध्य भएको थियो।
यस खर्चसम्बन्धी विधेयकमा अर्को विवाद पनि देखिएको थियो। व्हाइट हाउसमा राष्ट्रपति ट्रम्पले निर्माण गरिरहेको नयाँ बलरूमसँग सम्बन्धित सुरक्षा सुधारका लागि १ अर्ब डलर छुट्याउने प्रस्ताव समावेश गरिएकोमा व्यापक आलोचना भएको थियो। पछि सिनेटका रिपब्लिकनहरू उक्त रकम हटाउन सहमत भएका थिए, किनभने सिनेटका संसदीय सल्लाहकारले डेमोक्र्याटहरूको फिलिबस्टर प्रक्रियालाई छल्न प्रयोग गरिएको ‘बजेट रिकन्सिलिएसन’ प्रक्रियाबाट विधेयक पारित गर्न त्यो प्रावधान समावेश गर्न नमिल्ने निर्णय दिएका थिए।





