युक्रेन युद्धमा रुसी सेनामा भर्ती भएर लड्दा ज्यान गुमाउने विदेशी नागरिकहरूमध्ये नेपालीहरूको सङ्ख्या तात्कालिक सोभियत संघका देशका नागरिकहरूपछि सबैभन्दा धेरै रहेको तथ्य सार्वजनिक भएको छ। बीबीसी नेपाली र बीबीसी रसियनले नेपाल सरकार तथा विभिन्न खुला स्रोतहरूको विश्लेषणका आधारमा तयार पारेको अनुसन्धानअनुसार नेपाल सरकारले हालसम्म रुसी सेनामा भर्ती भएका १३१ नेपालीको मृत्यु, ९५ जना बेपत्ता भएको तथा नौ जना युक्रेनी नियन्त्रणमा रहेको पुष्टि गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले केही दिनअघि राष्ट्रिय सभामा दिएको जानकारीअनुसार नेपाल सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरूको अवस्थाबारे अद्यावधिक विवरण संकलन गरिरहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म पुष्टि भएको मृतकको सङ्ख्यामा थप परिवर्तन भएको छैन। बीबीसीले सङ्कलन गरेको विवरणअनुसार युद्धमा ज्यान गुमाउने नेपालीहरूको औसत उमेर २४ वर्ष रहेको छ। मृतकमध्ये सबैभन्दा कान्छा २० वर्षका थिए।
उपलब्ध विवरणअनुसार युक्रेन युद्धमा ज्यान गुमाउने पहिलो नेपाली सन्दीप थपलिया हुन्, जसको मृत्यु सन् २०२३ को जुन महिनामा भएको मानिएको छ।
रुसी सेनामा नेपाली नागरिक भर्ती हुने मुख्य लहर सन् २०२३ को गर्मी र शरद् ऋतुमा चलेको थियो। त्यसै वर्ष डिसेम्बरमा नेपाल सरकारले रुसलाई नेपाली नागरिकलाई सेनामा भर्ती नगर्न औपचारिक अनुरोध गरेको थियो। यद्यपि त्यसपछि पनि भर्ती जारी रहेको संकेत विभिन्न प्रमाणहरूले देखाएका छन्।
नेपाल सरकारले परम्परागत सैनिक सम्झौता भएका मुलुकबाहेक अन्य कुनै विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती हुन अनुमति नदिने नीति दोहोर्याउँदै आएको छ। उपलब्ध विवरणअनुसार मृतकमध्ये ८५ प्रतिशतभन्दा बढीको स्थायी ठेगाना खुलेको छ। सबैभन्दा धेरै मृत्यु स्याङ्जा जिल्लाका ६ जनाको भएको छ। त्यसपछि धादिङ र रूपन्देहीका पाँच–पाँच जना तथा झापा, सङ्खुवासभा, नुवाकोट, गोरखा, बाँके, सुर्खेत र कञ्चनपुरका चार–चार जना रहेका छन्।
प्रदेशगत रूपमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी देखिएको छ भने मधेश प्रदेशबाट सबैभन्दा कम रहेको छ। मृतकमध्ये करिब ४५ प्रतिशत आदिवासी जनजाति समुदायका तथा ३० प्रतिशतभन्दा बढी ब्राह्मण–क्षेत्री समुदायका रहेको अध्ययनले देखाएको छ। उपलब्ध तथ्याङ्कअनुसार कम्तीमा ३९ जना ब्राह्मण वा क्षेत्री, ३१ जना मगर, ११ जना राई वा लिम्बू, १० जना गुरुङ र नौ जना तामाङ समुदायका नागरिकले युद्धमा ज्यान गुमाएका छन्। बीबीसीको विश्लेषणअनुसार रुसको पक्षबाट लड्दै ज्यान गुमाउने विदेशी नागरिकहरूको सङ्ख्या कम्तीमा ३ हजार ५८९ पुगेको छ। तीमध्ये उत्तर कोरियाली सैनिकहरू पनि समावेश छन्। रुसका लागि लड्दै मृत्यु हुने विदेशीहरू ४० भन्दा बढी देशका नागरिक रहेको अध्ययनले देखाएको छ। तात्कालिक सोभियत संघका देशका नागरिकपछि सबैभन्दा धेरै मृत्यु नेपालीहरूको भएको बीबीसीको विश्लेषणले देखाएको छ।
नेटोका अनुसार हालसम्म ४४ देशका करिब २४ हजार विदेशी नागरिक रुसको पक्षबाट ुभाडाका सैनिकका रूपमा युद्धमा सहभागी भएका छन्। तीमध्ये धेरैजसो आर्थिक अभाव, रोजगारीको खोजी वा अन्य कारणले भर्ती भएको अन्तर्राष्ट्रिय विश्लेषणहरूले उल्लेख गरेका छन्। नेपाल सरकारले भने रुससँग मृतक तथा बेपत्ता नेपालीको अवस्थाबारे जानकारी उपलब्ध गराउन, क्षतिपूर्ति दिलाउन तथा भविष्यमा नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न पटक–पटक औपचारिक आग्रह गर्दै आएको जनाएको छ। समचार अनुसार प्राय जसो नेपालीहरु खाडी मुलुकमा गएर त्यतैबाट रुस पुगेको बताइएको छ । स्मरणीय के छ भने मृतकको सख्या अझै धेरै हुन सक्ने अनुमान छ । खाडी मुलुकहरुमा हराएको भनिएका नेपालीहरुको सख्या जोड्ने हो भने अझै मर्नेहरुको सख्या बढ्न सक्नेछ ।





