पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका सात जना नेतालाई बोलाएर छलफल गरे र भने मैले दुर्गा प्रसाई पनि भेटेको छैन र नवराज सुवेदीलाई पनि आन्दोलन गर भनेको छैन । कसले बनाएको नवराज सुवेदीलाई आन्दोलनको नेतृत्व भनेर उल्टै पुर्वराजा ज्ञानेन्द्र शाहले सोधे पछि सबै नेताहरु मुखामुख आश्चर्य प्रकट गरिरहे । पूर्वराजा शाहले शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई निर्मल निवासमा बोलाएर लञ्च मिटिङ गरेका हुन्। लञ्च मिटिङका लागि अध्यक्ष लिङ्देन, पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास पुगेका थिए। अनि यस्तो हुँदा पनि के हेरेर बसेको राजेन्द्र भन्दै राजेन्द्र लिंडदेनसंग भएको प्रश्न उत्तर जस्ताको तस्तै ।

सम्पर्कमा आएका राप्रपाका अर्का एक पदाधिकारीले पनि नाम उल्लेख नगरिदिन आग्रह गर्दै पूर्वराजा शाहसँग आफूहरूले गरेको ‘लञ्च मिटिङ’ बारे कुराकानी सुनाए। ‘लञ्च मिटिङ’ मा भएको कुराकानीबारे उनले हामीलाई संवादकै रूपमा सुनाए;
पूर्वराजा- राजेन्द्र, तीनकुनेमा मान्छे मरेछन्, किन त्यस्तो गरेको?
राजेन्द्र लिङ्देन- हामीले होइन सरकार, नवराज सुवेदी नेतृत्वको टिमले त्यो कार्यक्रम गरेको हो।
पूर्वराजा- अनि यो समिति कसले बनाएको, तिमीहरूले बनाएको हो?
राजेन्द्र लिङ्देन- यो त यतैबाट भयो भन्ने छ सरकार। (अध्यक्ष लिङ्देनलाई साथ दिँदै यही बेला प्रवक्तासमेत रहेका सांसद ज्ञानेन्द्र शाही बोले- त्यो समिति यतैबाट बन्यो भनेर मिडियामा खबर आएको थियो)
पूर्वराजा- मसँग त भेट नै भएको छैन। मैले त त्यो गर पनि भनेको छैन।
पूर्वराजा- अनि राजेन्द्रले नेतृत्व किन नगरेको?
राजेन्द्र लिङ्देन- नवराज सुवेदी संयोजक भनेर आएपछि मैले के नेतृत्व गर्ने त।
पूर्वराजा- त्यो मानिस (नवराज सुवेदी) सँग वर्षौ भइसक्यो भेट नभएको।
राजेन्द्र लिङ्देन- हाम्रै पार्टीका केही साथीहरू पनि त्यसमा सदस्य हुनुहुन्छ।
पूर्वराजा- के छ विक्रम? के छ डा सा’ब (प्रकाशचन्द्र लोहनी), मैले त केही भनेको छैन।
प्रवक्ता ज्ञानेन्द्र शाही- दुर्गा प्रसाईं निर्मल निवास आएको त भिडिओ नै आएको थियो नि त सरकार।
पूर्वराजा- मसँग त भेट भएको छैन। हाम्रो कोही कर्मचारीसँग भेट्न आएका रहेछन् कि!
पूर्वराजा- तीनकुने क्षेत्रमा ढुंगा हानाहानको भिडिओ पनि मैले हेरेको छु। त्यहाँ साह्रै नराम्रो भयो। जनताले जे चाहन्छन् त्यही गर्ने हो। आन्दोलन भए पनि प्रहरीलाई ढुंगाको सट्टा फूल दिने हो राजेन्द्र।
ती पदाधिकारीका अनुसार पूर्वराजाले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर भनेर राप्रपाका नेताहरूलाई पनि भनेका छैनन्।
देशमा रोजगारी नपाउने अवस्था बनेको, मानिसहरू विदेश गइरहेको भए पनि चुनाव जितेर आएको राप्रपा के हेरेर बसेको छ भन्ने पूर्वराजाको प्रश्न थियो।
पूर्वराजा- के हेरेर बसेको राजेन्द्र?
राजेन्द्र लिङ्देन- हाम्रो बहुमत छैन नि सरकार। म सरकारमा जाँदा पनि राम्रै काम गरेको हो।
पूर्वराजा- पोखरा एअरपोर्टमा त्यत्रो भ्रष्टाचार भयो र त्यहाँ?
राजेन्द्र- सरकार त्यो हामी सबै समितिको रिपोर्ट हो त्यो।
पूर्वराजा र राप्रपा नेताहरूबीच करिब दुई घन्टा कुराकानी गरेका थिए। राप्रपा नेताहरूले चैत २६ गते बल्खुमा शान्तिपूर्ण कार्यक्रम गरेको विषय पनि पूर्वराजालाई सुनाएका थिए।
यसपछि पूर्वराजाले चैत १५ मा हिंसात्मक प्रदर्शन किन भएको भन्ने प्रश्न गर्दा राप्रपा नेताहरूले त्यसमा आफूहरू सहभागी नरहेको कुरा राखे।
पूर्वराजाले पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई भने राजनीतिकभन्दा पनि पारिवारिक कुराहरू सोधेका थिए। घर परिवार, सञ्चोबिसञ्चो कुरा पूर्वराजाले सोधे पनि पशुपति शम्शेर हाँसे मात्र, खासै जानकारी दिएनन्। राप्रपाका ६ जना नेताले पूर्वराजाकहाँ खाना खाए पनि पूर्वअध्यक्ष पशुपति शम्शेरले खाएनन्।
सेतोपाटी अनलाईनमा प्रकासित समाचारको सम्पादित अंश साभार गरिएको हो ।




