विभिन्न महाशक्ति देशहरूलाई पछि पार्दै अमेरिकी राज्य क्यालिफोर्निया विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । सन् २०२४ मा विश्वका बलिया मानिएका देशभन्दा तीव्र गतिको आर्थिक वृद्धि हासिल गरेको क्यालिफोर्नियाले हालै चौथो स्थानमा रहेको जापानलाई पछि पारेको हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र आर्थिक विश्लेषणसम्बन्धी अमेरिकी ब्युरो (बीईए) लाई उद्धृत गर्दै क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेअनुसार क्यालिफोर्नियाको अर्थतन्त्र झन्डै ४१ खर्ब अमेरिकी डलर बराबर भएको छ । यससँगै क्लालिफोर्निया छुट्टै देश हुँदो हो त यो विश्वको चौथो ठूलो आर्थिक शक्ति हुने थियो । यसअघि पनि यो राज्य कहिले पाँचौं तथा छैटौं आर्थिक शक्तिका रूपमा रहँदै आएको थियो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र कायम रहेको संयुक्त राज्य अमेरिकाको अर्थतन्त्र करिब ३ सय खर्ब डलर पुगेको र आर्थिक वृद्धिदर २.७ प्रतिशत रहेको आईएमएफको आकलन छ । दोस्रो आर्थिक शक्ति चीनको अर्थतन्त्र झन्डै १९५ खर्ब अमेरिकी डलर, जर्मनीको ४९ खर्ब अमेरिकी डलर, जापानको ४० खर्ब अमेरिकी डलर, भारतको ४० खर्ब अमेरिकी डलर र बेलायतको ३७ खर्ब अमेरिकी डलर पुगेको आईएमएफको प्रतिवेदनमा छ । यीमध्ये भारतको आर्थिक वृद्धिदर सबैभन्दा बढी ६.५ प्रतिशत, चीनको ४.६ प्रतिशत, बेलायतको १.६, जापानको १.१ प्रतिशत र जर्मनीको ०.८ प्रतिशत रहेको देखिन्छ ।
झन्डै ४ करोड जनसंख्या रहेको क्यालिफोर्नियाले अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा एक्लैले १४ प्रतिशतको योगदान पुर्याउने र संघीय सरकारबाट पाउनेभन्दा ८३ अर्ब अमेरिकी डलरभन्दा बढी सरकारलाई योगदान पुर्याउने गरेको पनि गभर्नर न्युसमको दाबी छ । अमेरिकामै दोस्रो स्थानमा रहेको न्युयोर्कको अर्थतन्त्र २३ खर्ब, टेक्ससको २२ खर्ब, मासाचुसेट्सको १८ खर्ब र फ्लोरिडाको १७ खर्ब डलर रहेको आर्थिक प्रतिवेदनहरूले देखाएका छन् ।
अमेरिकाकै गरिब राज्यहरू वेस्ट भर्जिनियाको ८५ अर्ब, मिसिसिपीको १३० अर्ब, लुइजियानाको २६० अर्ब र अर्कान्साको अर्थतन्त्र १४५ अर्बको रहेको प्रतिवेदनहरूले औंल्याएका छन् । पछिल्ला अमेरिकी सरकारका तथ्यांकले अमेरिकाका धनी र गरिब राज्यहरूबीचको खाडल बढ्दै गएको र क्यालिफोर्निया जस्ता राज्य थप शक्तिशाली बन्दै गएको चित्र प्रस्तुत गरेका छन् । क्यालिफोर्नियाको पछिल्लो आर्थिक स्थिरतामा त्यहाँ अवस्थित ठूला सूचना प्रविधि कम्पनी, हलिउडलगायत विश्वचर्चित कला उद्योग, पर्यटन र कृषि क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको क्यालिफोर्निया गभर्नरको दाबी छ । विशेषगरी मानव पुँजी निर्माणमा गरिएको लगानी, दिगो विकासमा प्राथमिकता र नवप्रवर्तन प्रवर्द्धनलाई यस राज्यको आर्थिक वृद्धिको मुख्य आधार मानिएको छ ।




