हङकङ सरकारको ‘समान अवसर आयोग (ईओसी)’ को सदस्यको रूपमा पहिलो पटक नेपाली समुदायको तर्फबाट याउची मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङलाई नियुक्त गरेको छ । उनलाई दुई दिन अघि हङकङ सरकारले आयोगको सदस्यको रूपमा नियुक्त गरेको हो ।

सन १९८९ देखि २०२० सम्म हङकङको क्याथे ड्रागन एयर लाइन्समामा इन्फ्लाइट सर्भिस म्यानेजरको रूपमा ३२ वर्ष काम गरेर अवकाश लिएकी गुरुङको पुर्ख्यौली थलो भने कास्की पोखरा हो । उनी हङकङमै जन्मेकी, हुर्केकी र अध्ययन गरेकीले स्थानीय क्यान्टोनिज चिनिया भाषा र अंग्रेजी भाषामा पोख्त छिन् ।
हङकङको रैथाने समाज र नेपाली समाजबीचको समन्वयकर्ताको भूमिकामा उनी पहिले देखि नै सक्रिय रहँदै आएकी थिइन् । हङकङ नेपाली महासंघको सल्लाहकारको रूपमा रहेकी गुरुङ यसरी समाजन अवसर आयोगको सदस्यको रूपमा नियुक्त हुने पहिलो नेपाली र अल्पसंख्यकका तर्फबाट पहिलो महिला बन्न पुगेकी छन् ।




