भारतले पाकिस्तान र पाकिस्तान–अधिकृत जम्मु तथा कश्मीरका नौ स्थानहरूमा मिसायल आक्रमण गरेको छ । भारतीय सशस्त्र बलहरूले “अप्रेसन सिन्धूर“ अन्तर्गत पाकिस्तान र पाकिस्तान–अधिकृत जम्मु तथा कश्मीरका नौ स्थानहरूमा निशाना बनाएको पुष्टि गरेका छन् । पाकिस्तानी सेनाका अनुसार आक्रमणहरूमा कोटली, मुजफ्फराबाद र बहावलपुरसहित पाँच स्थानहरूमा प्रहार भएको छ।भारतीय सशस्त्र बलहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छः “केही समय अघि, भारतीय सशस्त्र बलहरूले ‘अप्रेसन सिन्धूर’ सुरु गरेका छन्, जसअन्तर्गत पाकिस्तान र पाकिस्तान–अधिकृत जम्मु तथा कश्मीरमा रहेका आतङ्ककारी संरचनाहरूमा प्रहार गरिएको छ ती स्थानहरू जहाँबाट भारतविरुद्ध आतङ्ककारी आक्रमणहरू योजनाबद्ध र निर्देशित गरिएको थियो । “

विज्ञप्तिमा भनिएको छ कि यो कार्य “केन्द्रित, मापदण्डअनुसार, र गैर–उत्तेजक प्रकृतिको“ रहेको छ, र कुनै पनि पाकिस्तानी सैन्य संरचनालाई निशाना बनाइएको छैन भनिएको छ । “भारतले लक्ष्यहरूको छनोट र कारबाहीको तरिकामा अत्यधिक संयम देखाएको छ ।“ भनिए पनि अब भारत पाकिस्तान युद्धमा होमिएको छ ।
भारतले पाकिस्तान शासित कश्मीर र अन्य स्थानमा नौ ओटा मिसाइल प्रहार गरेपछि प्रतिकारमा पाकिस्तानले यसको “घनघोर बदला“ लिने घोषणा गरेको छ । पाकिस्तानी सेनाका अनुसार एक बालक सहित कमसेकम तीन जनाको मृत्यु भएको छ भने बाह्र जना घाईते भएका छन् । यो समाचार तयार पार्दासम्म पाकिस्तानले जवाफी आक्रमण शुरु गरेको छैन ।रूस युक्रेन र ईजरेल हमास युद्दको कुनै समाधान देखिएको छैन यसै बेला नेपालकै छिमेकमा युद्ध शुरु भएको छ । यसबाट नेपाल अछुतो रहने संभावना कम छ । खुल्ला बोर्डरका कारण युद्धबाट बच्न मानिसहरु नेपाल छिर्ने संभावना छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट प्रतिक्रिया दिँदै यस घटनालाई “दुर्भाग्यपूर्ण” बताएका छन्। “मैले अहिले मात्र यसबारे सुनेँ। आशा छ चाँडै अन्त्य हुनेछ,” ट्रम्पले भने। अमेरिकी विदेश बिभागले घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। विदेश सचिव मार्को रुबियोसहितका अधिकारीहरूले भारतको प्रतिकार रोक्ने प्रयास गरिरहेको उल्लेख गरिएको छ। पाकिस्तानमाथि भारतले गरेको आक्रमणको कोडनेम ‘अपरेशन सिन्दूर’ दिइएको र जसको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।



