पाकिस्तानले भारतीय वायुसेनाबाट रातभर गरिएका क्षेप्यास्त्र आक्रमणमा ३१ जनाको मृत्यु भएको घटनाको “बदला लिने” चेतावनी दिएको छ । जसले दुई आणविक शक्तिसम्पन्न देशहरूबीचको द्वन्द्व झन चर्किन सक्ने डर पैदा गराएको छ ।

बुधबार राति राष्ट्रलाई सम्बोधन गर्ने क्रममा, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भनेले “हामी यो प्रतिज्ञा गर्छौं कि यी सहिदहरूको रगतको प्रत्येक थोपाको बदला लिनेछौं ।” उहाँको टिप्पणी पाकिस्तान सरकारले भारतले पाकिस्तान प्रशासित कश्मीर र पञ्जाब प्रान्तमा नौवटा स्थानमा आक्रमण गरेर “आगोको लप्का बालिएको” आरोप लगाएपछि आएको हो । साथै, उसले आफ्नै सेनालाई भारतविरुद्ध “समान” जवाफी कारबाही गर्न अनुमति दिएको छ । भारतले भने यो आक्रमण गत महिनाको अन्त्यतिर भारतीय प्रशासित कश्मीरमा भएको एक आक्रमणको प्रतिशोधस्वरूप भएको दाबी गरेको छ, जसमा कट्टरपन्थी आक्रमणकारीहरूले २५ जना हिन्दू पर्यटक र तिनीहरूको गाइडको हत्या गरेका थिए । भारतले ती आक्रमणहरूमा पाकिस्तानले प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएको छ, विशेषगरी पाकिस्तानद्वारा समर्थन पाइरहेका इस्लामी अतिवादी समूहहरूको माध्यमबाट ।
इस्लामाबादमा पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री इशाक डारले देशले आफ्नो गरिमा जोगाउनका लागि “जस्तोसुकै हदसम्म” जान सक्ने चेतावनी दिएका छन् । “हामी हाम्रो सशस्त्र बलहरूलाई उपयुक्त जवाफी कदम चाल्न अधिकार दिने अधिकार सुरक्षित राख्छौं र ती कदमहरू सोच विचारसहित, अनुपातिक र जिम्मेवार हुनेछन्,” डारले भनेका छन ।
उहाँले प्रतिशोधात्मक कारबाहीको समयसीमा बताउन अस्वीकार गर्नुभयो, तर भन्नुभयो कि योजना सेनाप्रमुख जनरल आसिम मुनीरको नेतृत्वमा तय गरिनेछ, जसले गठबन्धन सरकारसँग परामर्श गर्नेछन् । “कहिले, कहाँ, कस्तो उपाय अपनाउने भन्ने विषय अहिले छलफल गर्न समयपूर्व छ,” डारले भने । “जवाफ दिनको लागि कुनै न्यूनतम वा अधिकतम समय सीमा छैन ।” डारले भारत र पाकिस्तानबीचको पछिल्लो विवादमा अन्तर्राष्ट्रिय समुदाय निष्क्रिय देखिएकोप्रति असन्तोष पनि व्यक्त गरे। कश्मीर आक्रमणबारे स्वतन्त्र छानबिनको लागि पाकिस्तानले गरेको आग्रहमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उनले बताए । बुधबार भारतले हवाई आक्रमण गरेर धेरै बालबालिकासहित ३१ जनाको हत्या गरेको र दर्जनौंलाई घाइते बनाएको घटनापछि, उसले पाकिस्तानमाथि विजय हासिल गरेको दाबी उत्साहपूर्वक गरेको थियो ।
तनाव बढेसँगै अमेरिका, बेलायत, चीन, इरान र यूएईले तुरुन्त तनाव कम गर्न आह्वान गरेका छन् । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले भने, “हामी दुवै देशसँग सम्पर्कमा छौं, संवाद र नागरिक सुरक्षामा जोड दिइरहेका छौं ।” अमेरिर्का राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि लडाइँ रोक्न आग्रह गर्दै भने, “हामी दुवै देशसँग राम्रो सम्बन्धमा छौं, र म यो लडाइँ रोकिएको हेर्न चाहन्छु ।” पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायले निष्क्रियता देखाएकोमा असन्तोष व्यक्त गरेको छ । परराष्ट्र मन्त्री डारले भने, “यस्तो युद्धका परिणाम भारत–पाकिस्तानसम्म सीमित हुँदैनन् । यसले विश्वव्यापी असर पार्नेछ ।




