नेपालमा सार्वजनिक यातायातको अव्यवस्थीत अवस्था र छोटो दुरीमा पनि लामो समय खर्चिनुपर्ने झण्झटबाट मुक्त हुने समय आएको छ । त्यति मात्रै होईन सस्तो र छिटो यात्रा गर्ने माध्यमको वा ट्राफिक जाम र वायु प्रदूषणको समस्यालाई समाधान गर्न सार्वजनिक बस सेवा र नेपालको केबल कारको विकल्पको रुपमा विकास हुने तयारी शुरु भएको छ । नेपाल जस्तो भौगोलिक अवस्था भएको मुलुकमा यो सवारी साधन अत्यधिक लाभकारी हुने देखिन्छ । त्यो हो स्काइ पोड प्रणाली । दुबईस्थित कम्पनीसँग गरिएको सम्झौताअनुसार करिब ३५ मिलियन अमेरिकी डलर लागतमा ७ किलोमिटर लामो विद्युतीय ट्र्याक निर्माण गरिनेछ गरी पहिला् चरणको बिराटनगरमा सन्चालन हुन लागेको हो ।
यो प्रणाली परम्परागत केबलकार जस्तै देखिए पनि उच्च तनावयुक्त स्टील रेलमा चल्ने, पूर्ण स्वचालित पोडहरूमार्फत यात्रु ओसारपसार गर्ने नवीनतम स्ट्रिङ प्रविधिमा आधारित हुनेछ । प्रणालीको लागत केवल प्रति मिटर २०० डलर पर्ने बताइएको छ ।

नेपाल सरकारले दुबईस्थित यूस्कोभरी कम्पनीसँग सम्झौता गरेको हो, जुन बेलारुसको युनिक स्काई ट्रान्सपोर्टको सहायक कम्पनी हो । कम्पनीले सन् २०२१ देखि शारजाह, यूएईमा परीक्षण ट्र्याक सञ्चालन गरिरहेको छ । नेपालमा भने यो परियोजना सार्वजनिक–निजी साझेदारीमा विकास गरिने बताइएको छ ।
सो संझौता अनुसार सरकारले जग्गा उपलब्ध गराउनेछ र न्यूनतम यात्रु सङ्ख्या सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ । निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसपछि यसले हरेक वर्ष झण्डै १ करोड यात्रा सेवा पु¥याउने अपेक्षा गरिएको छ । प्रतिघण्टा एक सय किमि गतिमा हिड्ने यो नेपालमा निकै लोकप्रिय हुने देखिन्छ ।
हाल बिराटनगरमा सार्वजनिक यातायातको विकल्प केवल बस मात्र रहेको र ट्राफिक जाम ठूलो समस्या बनेको अवस्थामा, भारतको सीमाक्षेत्रदेखि सिधै बसपार्क जोड्ने यो हवाई विद्युतीय प्रणालीले यातायात सहज बनाउने अनमान गरिएको छ ।
प्रमुख कार्यकारी अधिकृत ओलेग जारेत्स्कीका अनुसार, “नेपालले यो विकल्प रोज्नुको कारण यसको लागत कम हुनु हो । रेल वा मेट्रो जस्ता अन्य समाधान अत्यन्त महँगा छन्, जबकि यो प्रणाली सस्तो, छिटो निर्माण योग्य र पूर्णतया विद्युतीय हो ।“
नेपालको वायु प्रदूषण गम्भीर बन्दै गएको छ । २०२४ को एयर क्वालिटी लाइफ इन्डेक्स विश्वमा नै खराव अवस्थामा पुगेको छ । जस अनुसार, नेपाल विश्वकै तेस्रो सबैभन्दा प्रदूषित राष्ट्र हो । २०२१ मा मात्रै ४८ हजार ५०० जनाको मृत्यु वायु प्रदूषणका कारण भएको ग्लोबल एयर रिपोर्टले देखाएको छ । यस सन्दर्भमा, काठमाडौँ पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराईले भने, “हामी २०२० देखि यातायात सम्बन्धी नीतिमा सुधारका लागि काम गर्दै आएका छौं । यो परियोजनाको किफायतीपन र छिटो निर्माण क्षमताले कोशी प्रदेशको आर्थिक विकास, पर्यटन र पूर्वाधारमा ठुलो परिवर्तन ल्याउनेछ ।”
नेपाल सरकारको इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी अधिकृत आशीष गजुरेलले भने, “सरकारले निजी क्षेत्रसँग मिलेर यो परियोजना अघि बढाउने निर्णय गर्नु एक ऐतिहासिक कदम हो । यसले सरकारले यो प्रविधिलाई गम्भीरतापूर्वक लिएको प्रमाणित गर्छ ।” उनले थपे, “नेपालले मेट्रो रेलजस्ता ठूला परियोजनाहरू धान्न सक्दैन । त्यसैले सस्तो र प्रभावकारी विकल्पका रूपमा स्काइ पोड जस्ता समाधान अपनाउने निर्णय गरिएको हो। दैनिक यात्रा गर्ने नेपालीहरू यसबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।”
हाल बिराटनगरमा सुरु हुने स्काइ पोड लाइन ४५ किलोमिटरसम्म विस्तार गर्ने दीर्घकालीन योजना छ । परियोजना सम्पन्न भएपछि, यो प्रणाली नेपाल–भारत सीमामा आवतजावत गर्ने यात्रुहरू, उपचारका लागि आउने बिरामीहरू तथा दैनिक कामकाज गर्ने नागरिकहरूका लागि उपयोगी हुने अनुमान गरिएको छ । यो पुर्ण रुपमा नेपालमा सन्चालनमा आउन थालेको खण्डमा बस र केबलकार कम्पनीहरु विस्थापित हुने देखिन्छ । द नेसनल न्यूज डट कममा आधारित




