अमेरिकी सर्वोच्च अदालतले १८ औं शताब्दीको कानुन ब्युँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा रोक लगाएको छ। शुक्रबार सर्वोच्च अदालतले पर्याप्त कानुनी प्रक्रिया पूरा नगरी युद्धकालमा प्रयोग हुने एलियन एनिमी एक्ट उपयोग गरेर आप्रवासीलाई निर्वासनमा पठाउने ट्रम्प प्रशासनको कदममा रोक लगाएको हो। ट्रम्पले सन् १७९८ को कानुन ब्युँताएर ठूलो संख्यामा भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोरको जेल पठाइरहेको छ।

अदालतले आप्रवासीहरूबारे थप अनुसन्धान नै नगरी मापदण्डविपरीत सदाका लागि एल साल्भाडोरको जेल पठाउनु गलत हुने भनेको छ। अदालतले मेरिल्याण्डका किल्मार अब्रेगो गार्सियालाई एल साल्भाडोर निर्वासन गरिएको घटनालाई पनि आधार बनाएको छ। उनी वैध हुँदा हुँदै पनि ट्रम्प प्रशासनले गल्तीले एल साल्भाडोर निर्वासनमा पठाएको थियो। पछि उनलाई फिर्ता ल्याउन माग भए पनि सरकारले त्यसो गर्न नमिल्ने भनेको थियो। त्यसकारण आप्रवासीबारे सही जानकारी भएपछि मात्रै मापदण्ड पुर्याएर बाँकी प्रक्रिया गर्न अदालतले भनेको हो।
सर्वोच्चले उक्त आदेश गर्दा रूढिवादी न्यायाधीशहरू क्लारेन्स थोमस र स्यामुअल अलिटोले असहमति जनाएका थिए। यो निर्णयले उत्तरी टेक्सासमा रहेका आप्रवासीहरूको समूहलाई तत्काल राहत प्रदान गरेको सिएनएनले जनाएको छ। उनीहरूलाई युद्धकालीन अधिकार प्रयोग गरेर तत्काल निर्वासनमा पठाउने तयारी थियो। आदेशपछि राष्ट्रपति ट्रम्पले अदालतको आलोचना गरेका थिए। उनले अपराधीहरूलाई देशनिकाला गर्न अदालतले नै अनुमति नदिएको भनेका छन्।
अमेरिकी नागरिक स्वतन्त्रता संघ एसिएलयुले ट्रम्प प्रशासनको उक्त कदमप्रति देशभरका अधिकांश अदालतमा चुनौती दिएको छ। टेक्सास, नेभाडा, कोलोराडो लगायतका राज्यका संघीय अदालतहरूले प्रशासनलाई यो कानुन प्रयोग गर्नबाट अस्थायी रोक लगाइसकेको छ। अन्य अदालतमा पनि सुनुवाइ भइरहेको छ।




