अमेरिकामा वयस्कहरूको मद्यपान दर हालसालै सम्पन्न सर्वेक्षण अनुसार अभूतपूर्व रूपमा घटेको छ। विश्लेषणात्मक संस्था ग्यालपले बुधबार प्रकाशित गरेको रिपोर्टअनुसार, २०२५ मा केवल ५४ प्रतिशत अमेरिकी वयस्कहरूले मात्र मदिरा पिउने बताएका छन्, जुन सन् १९५८ यता सबैभन्दा कम स्तर हो।
यसअघि २०२३ मा ६२% र २०२४ मा ५८% वयस्क मद्यपान गर्ने गर्थे। मद्यपान दर घट्नुको पछाडि मुख्य कारणको रूपमा अमेरिकीहरूबीच मद्यपान स्वास्थ्यका लागि हानिकारक हुने धारणा फैलिनु रहेको देखिन्छ। ग्यालपको रिपोर्टअनुसार अहिले पहिलो पटक अधिकांश अमेरिकीहरूले मध्यम मात्रामा मद्यपान पनि स्वास्थ्यका लागि नकारात्मक भएको विश्वास गरेका छन्।
सर्वेक्षणले यो पनि देखाएको छ कि अमेरिकी युवाहरू (१८–३५ वर्ष) मद्यपानबाट टाढा हुँदै गएका छन्। उनीहरूको मद्यपान दर २०२३ मा ५९% बाट घटेर २०२५ मा ५०% पुगेको छ, जुन मध्यम र वृद्ध उमेर समूहभन्दा पनि कम हो। ग्यालपका अनुसार नियमित मद्यपान गर्नेहरूको संख्या पनि घटेको छ। केवल २४% ले बताएको छ कि उनीहरूले पछिल्लो २४ घण्टामा मद्यपान गरेका थिए र ४०% ले भने एक हप्ताभन्दा बढी समयदेखि मद्यपान नगरेको बताएका छन्, जुन सन् २००० पछि सबैभन्दा उच्च दर हो। सातौ दिनको औसत मद्यपान दर २.८ ड्रिंकमा घटेको छ, जुन सन् १९९६ पछि सबैभन्दा कम हो। महंगाई, आर्थिक दबाब साथै सार्वजनिक स्वास्थ्य विज्ञहरूमार्फत मद्यपान र क्यान्सर लगायतका रोगहरूबीचको सम्बन्धबारे बढ्दो सचेतनाले यो घटावटमा मुख्य भूमिका खेलेको छ।
हालको प्रवृत्तिले देखाउँछ कि अमेरिकामा मानव स्वास्थ्यप्रति बढ्दो सजगता र स्वास्थ्यकर जीवनशैली अपनाउने प्रक्रिया तीव्र हुँदैछ, जसले दीर्घकालीन रूपमा स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।





