काठमाडौं महानगरपालिकाको कमलादीस्थित कार्यालय भवनमा रहेको ‘भीआईपी लिफ्ट’ अब सर्वसाधारणले पनि प्रयोग गर्न पाउने भएका छन्। यसअघि पासवर्ड प्रयोग गरेर मात्र सञ्चालन हुँदै आएको उक्त लिफ्टको पासवर्ड हटाइएपछि सेवाग्राहीहरूलाई पनि चढ्न मिल्ने व्यवस्था गरिएको हो।

कार्यवाहक मेयर सुनीता डंगोलको निर्देशनअनुसार लिफ्ट खुला गरिएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिए। उनका अनुसार गत माघ ६ गते नै लिफ्टको पासवर्ड हटाइएको हो। यसअघि मेयर बालेन साहले माघ ४ गते राजीनामा दिएर चुनावमा उम्मेदवारी दिएका थिए।
कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा हाल तीन वटा लिफ्ट सञ्चालनमा छन्। तीमध्ये एउटा ‘भीआईपी लिफ्ट’ २०८१ साल साउनमा निर्माण सम्पन्न भएको थियो। सुरुमा यो लिफ्ट सर्वसाधारणको पहुँचबाहिर राखिएको थियो र मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतलाई मात्र पासवर्ड उपलब्ध थियो।
महानगरका कार्यालय भवन दुईवटा रहेकामा ती भवनलाई आपसमा जोडिएको छ। भवनको एक भागमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वातावरण विभाग लगायतका प्रमुख कार्यालय रहेका छन् भने अर्को भागमा विभिन्न विभाग, शाखा र महाशाखाका कार्यकक्ष छन्। मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहेको भवन छ तलाको छ, जहाँ दैनिक रूपमा ठूलो संख्यामा सेवाग्राही पुग्ने गर्छन्।
उपमेयर सुनीता डंगोलको कार्यकक्ष तेस्रो तलामा, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको चौथो तलामा र मेयर बालेन साहको कार्यकक्ष पाँचौँ तलामा रहेको छ। यी कार्यालयमा पुग्न भर्याङ वा लिफ्ट दुवै विकल्प उपलब्ध छन्। तर नयाँ बनेको भीआईपी लिफ्टमा सर्वसाधारणलाई प्रवेश नदिइँदा केही सेवाग्राही भर्याङबाटै जान बाध्य हुन्थे भने केहीले लिफ्ट प्रयोग गर्न खोज्दा रोक लगाइने अवस्था थियो। अब भने लिफ्ट खुला गरिएसँगै सेवाग्राहीलाई कार्यालयसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। महानगरको यो निर्णयलाई विशेष सुविधा हटाउँदै सेवाग्राहीमैत्री अभ्यासतर्फको कदमका रूपमा हेरिएको छ।





