नेपाली समुदायको सख्या बढेसंगै अमेरिकामा दुर्घटना र बेपत्ता हुने नेपालीहरुको सख्या बढेर गएको छ । अमेरिकाको वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले अमेरिकामा बेपत्ता भएका दुई नेपाली नागरिकको खोजीका लागि सार्वजनिक सहयोगको लागि अपिल गरेको छ । सार्वजनिक सुचना जारी गर्दै बेपत्ता अवस्थामा रहेका नेपालीको खोजी गर्न आग्रह गरी रहँदा अर्का एक नेपाली पनि हराएको भन्दै परिवारले खोजी गर्न सहयोग मागेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिहरूका आफन्तबाट जानकारी प्राप्त भएको र सम्बन्धित क्षेत्रका स्थानीय कानुन कार्यान्वयन निकायहरूसँग समन्वय गरिएको उल्लेख गरिएको छ। साथै, नेपाली समुदायका संस्था तथा प्रवासी नेपालीहरूलाई जारी खोजी अभियानमा सहयोग गर्न आग्रह गरिएको छ।

बेपत्ता व्यक्तिमध्ये २९ वर्षीय पवन गैरे मार्च २०२६ मा नेब्रास्काबाट फ्लोरिडातर्फ यात्रा गरिरहेको अवस्थामा अन्तिम पटक सम्पर्कमा आएको बताइएको छ । त्यसपछि हराएको उल्लेख छ । पवन गैरेले मे २०२५ मा विद्युत् इन्जिनियरिङमा पीएचडी पूरा गरेका थिए। त्यसयता उनी सम्पर्कविहीन छन्। उनको सवारी साधन मार्च २७, २०२६ मा फ्लोरिडाबाट नदेखिएको बताईन्छ । नेब्रास्कास्थित निकायहरू खोजी कार्यमा संलग्न छन्।
अर्का दोस्रो बेपत्ता व्यक्ति २६ वर्षीय विकास न्यौपाने हुन्, जसलाई टेक्सासको आर्लिङ्टनमा अन्तिम पटक देखिएको बताइएको छ । न्यौपाने अगस्ट ४, २०२१ देखि आर्लिंटन विश्वविधालयमा अध्ययनरत थिए र करिब दुई वर्षदेखि परिवारसँग सम्पर्कविहीन रहेको बुझिएको छ ।
यसैबीच, केशव कार्कीको परिवारले न्यूयोर्क क्षेत्रमा उनको खोजीका लागि अत्यावश्यक अपिल गरेको छ। उनकी आमा सघन उपचार कक्ष आईसीयूमा गम्भीर अवस्थामा रहेको भन्दै तुरुन्त सम्पर्क आवश्यक रहेको परिवारले जनाएको छ। नेपाली दूतावास तथा परिवारहरूले सम्बन्धित जानकारी भएका सबैलाई अगाडि आएर खोजी कार्यमा सहयोग गर्न अनुरोध गरेका छन्।




