अमेरिकी एकतर्फी भन्सार नीतिसँगै चीन र अमेरिकाको सम्बन्धमा टकराब भइरह्यो । त्यसपछि उत्पन्न दरारलाई राष्ट्रपति सी. चिनफिङ् स्वाभाविक ठान्छन् । दुई प्रमुख अर्थतन्त्रबीचको मतभेदबारे उनी भन्थे– ‘‘हामी सधैँ सबै विषयमा एक–अर्कासँग सहमत हुँदैनौँ, र विश्वका दुई प्रमुख अर्थतन्त्रहरूबीच बेला–बेलामा मतभेद तथा तनाव देखिनु स्वाभाविक पनि हो ।’’

आपसी सम्बन्ध तोड्नुपर्ने कुनै कारण नरहेको सीको भनाइ थियो । ‘‘चीन–अमेरिका सम्बन्ध सफल बनाउनुपर्ने हजारौँ कारण छन् । सम्बन्ध तोड्नुपर्ने एउटा कुनै पनि कारण छैन ।’’
२०२५ को बुसान सम्मेलनमा सीले राखेको मतको सम्मान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गरे । ‘‘हामीले सहकार्यलाई निरन्तरता दिनुपर्छ । एकसाथ रहिरहनुपर्छ । मलाई विश्वास छ हामी कुनै न कुनै समाधान निकाल्न सक्छौँ । सी सानदार र महान् नेता हुन् । म उनीसँग फेरि कुरा गर्नेछु,’’ बुसानबाट विदाइ हुँदै ट्रम्पले भनेथे ।
ट्रम्प चाहान्थे सी र आफूबीचको उच्चस्तरीय शिखर वार्ता छिट्टै होस् । उनले मार्चमा वार्ताको तयारी पनि गरेका थिए । इरान युद्धका कारण शिखर संवादको मिति धकेलियो । ट्रम्प मे १३ मा बेइजिङ अवतरण गरेका छन् । उनले समकक्षी सीसँग बिहीबार भेट गरेका छन् ।
उनले आपसी व्यापार, इरान युद्ध, ताइवान मामिलामा केन्द्रित भएर त्यहाँ छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । शिखर वार्ताले आपसी सम्बन्ध सौहार्द बन्ला या नबन्ला ? सहकार्यका लागि ट्रम्प र सीले कस्तो आधार तयार गर्लान् ? अमेरिकाप्रति बेइजिङले गुमाएको विश्वास ट्रम्पले कायम गर्न सक्लान् वा नसक्लान् ? भन्ने चासो कूटनीतिक वृत्तमा छ ।
यी चासो र जिज्ञासाअघि चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्धको चर्चा गरौँ । अमेरिका र चीनबीचको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो । सन् २०२५ मा ट्रम्पको भन्सार नीतिका कारण व्यापार युद्धको अवस्था सिर्जना भयो ।
अमेरिकाले चीनमाथि व्यापारिक प्रतिबन्ध लगाउँदा चीनले पनि जवाफी कदम चालेको थियो । व्यापारिक प्रतिबन्धको केही महिनापछि ट्रम्पले साझेदारीको वकालत गर्न थाले । उनको साझेदारीको वकालतमा पनि विरोधाभास देखियो । ट्रम्पले होर्मुजमा चिनियाँ युद्धपोतको उपस्थितिलाई स्वागत गरे भने अर्कोतर्फ उनले होर्मुजबाट चीनतर्फ गइरहेका पानीजहाजलाई निशाना बनाउने चेतावनी पनि दिए ।
चीनले निकै शान्त र प्रभावकारी ढंगबाट आफ्नो प्रभावशाली हैसियत बनाइसकेको छ । विश्वमञ्चमा चिनियाँ प्रभाव अमेरिकाले महसुस गरिसकेको छ । उतारचढावपूर्ण सम्बन्धमा दुवै पक्षले स्थायी परिवर्तनको आभास गरेका छन् ।
चीनसँग कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने अमेरिकी शैली पनि परिवर्तन हुँदै गएको छ । बिहीबार सी र ट्रम्पबीच छलफल भएको छ ।
रोयटर्सका अनुसार, भेटमा एच टू हन्ड्रेड चिप्स चीन निर्यातका लागि अमेरिकाले सहमति जनायो । होर्मुजमा अवरोध हटाउने विषयमा सी र ट्रम्प सहमत भएको बीबीसीले उल्लेख गरेको छ । न्यूयोर्क टाइम्सले ताइवान मामिलामा हस्तक्षेप नगर्न ट्रम्पलाई सीले चेतावनी दिएको उल्लेख गरेको छ ।
ट्रम्प करिब एक दशकपछि बेइजिङ पुगेका हुन् । सन् १९७२ देखियता अमेरिकी विभिन्न राष्ट्रप्रमुख चीन पुगेका छन् । रिचर्ड निक्सनदेखि डोनाल्ड ट्रम्पसम्म आउँदा चीनसँगको सम्बन्ध कसरी अघि बढ्यो त ?
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन बेइजिङ पुगेका थिए । निक्सनको भ्रमण एक कूटनीतिक दाऊ थियो । उनले कम्युनिस्ट चीनसँगको सम्बन्धको नयाँ अध्याय सुरु गरेका थिए । ताइवानसँगको सम्बन्ध खुम्चाएर चीनसँग कूटनीतिक हात बढाउने विषय अमेरिकी हितमा हुने उनको दृढ विश्वास थियो । त्यसयताका अमेरिकी राष्ट्रपतिहरूले त्यसलाई निरन्तरता दिँदै आए । यता, चिनियाँ पक्षले भने शीर्ष भेट र शिखर सम्मेलनलाई आपसी तनाव कम गर्दै सम्बन्ध बलियो बनाउने माध्यमका रूपमा लिँदै आएका छन् ।
तियानमिन स्क्वायरको दमनपछि बिग्रेको वातावरण होस् वा विश्व व्यापार संगठनमा चीन प्रवेश गरेपछि सिर्जित परिस्थिति, उच्चस्तरीय भेटघाट उतारचढावपूर्ण सम्बन्ध व्यवस्थापनका कडी बन्दै आएका छन् ।
चीनसँगको व्यापारिक सम्बन्धको माध्यमबाट त्यहाँ राजनीतिक परिवर्तनको ढोका खोल्नसक्ने अपेक्षा अमेरिकी राष्ट्रपतिहरूको थियो । चीनको शक्ति र प्रभाव विस्तार हुँदै जाँदा अमेरिकाप्रति उसको दृष्टिकोणमा पनि परिवर्तन आउन थाल्यो ।
चीनले अमेरिकालाई हाल ओरालो लाग्दै गएको मुलुकका रूपमा अथ्र्याउँछ । यसलाई कतिपयले अहंकार पनि भन्छन् ।
विश्लेषकहरूले जे सुकै भने पनि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई महान् र सीलाई क्षमतावान् नेताका रूपमा अथ्र्याएका छन् । बेइजिङ उड्नुअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘‘सी एक असाधारण र विशिष्ट नेता हुन् ।’’
उनको यस भाषामा अमेरिकी राष्ट्रपतिहरूले चीनसँगको सम्बन्धमा प्रस्तुत गर्दै आएको शैलीको झल्को दिन्छ । ५४ वर्ष यताको इतिहासमा कुन राष्ट्रपतिको पालामा चीनसँग कस्तो सम्बन्ध स्थापित भयो त ?
यस्तो छ निक्सनदेखि ट्रम्पको पालासम्मको सम्बन्ध
दोस्रो विश्वयुद्धपछिको अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले गरेको विदेश भ्रमणमध्ये चीनको भ्रमणलाई दूरगामी महत्वको रूपमा लिइन्छ । माओले सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गरेदेखि यता अमेरिका र चीनबीच कुनै औपचारिक सम्बन्ध विकास भएको थिएन ।
चीनसँगको सम्बन्धअघि अमेरिकाले ताइवान टापुमा रहेको कम्युनिस्ट विरोधी कुओमिन्ताङ सरकारलाई चीनको वैधानिक शासकका रूपमा मान्यता दिँदै आएको थियो ।
राष्ट्रपति निक्सनका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले सन् १९७१ माओत्सेतुङ र प्रधानमन्त्री चाउ एनलाईसँग कूटनीतिक भेट गरे । त्यसपछि सन् १९७२ मा निक्सनको भ्रमणको मेसो मिलेको थियो ।
दोस्रो विश्वयुद्धपछिको युगमा कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको विदेश भ्रमणहरूमध्ये निक्सनको चीन भ्रमणलाई एक अत्यन्तै महत्त्वपूर्ण र दूरगामी प्रभाव पार्ने घटना मानिन्छ ।
राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरले माओत्सेतुङ र प्रधानमन्त्री चाउ एन–लाईसँग कूटनीतिक सम्बन्धको सम्भावना खोतल्न अघिल्लो वर्ष गरेको गोप्य बेइजिङ भ्रमणपछि, सन् १९७२ मा यो ऐतिहासिक भ्रमण सम्भव भएको थियो ।
सन् १९४९ मा माओले जनवादी गणतन्त्र चीन स्थापना गरेदेखि अमेरिकाको उनीहरूसँग कुनै औपचारिक सम्बन्ध थिएन । त्यसको सट्टा, अमेरिकाले ताइवान टापुमा रहेको कम्युनिस्ट विरोधी ‘कुओमिन्ताङ’ सरकारलाई नै चीनको वैधानिक शासकका रूपमा मान्यता दिँदै आएको थियो ।
निक्सन र किसिन्जरको अग्रसरता भू–राजनीतिक परिस्थिति फेरबदलको कारणले निम्तिएको थियो । सोभियत संघ र चीनबीच दूरी बढ्दै जाँदा निक्सन प्रशासन बेइजिङसँग सम्बन्ध विस्तारका लागि उत्सुक देखियो ।
निक्सनको चीन भ्रमणले आपसी सम्बन्धमा धेरै अविस्मरणीय क्षण पैदा गर्यो । चीन भ्रमणका क्रममा निक्सनले ग्रेट वालको भ्रमण गरेका थिए । पदयात्रापछि प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘‘यो विशाल पर्खाल महान् व्यक्तिहरूले नै निर्माण गरेका हुन् ।’’
निक्सनको भ्रमणपछि चीनले अमेरिकालाई दुईवटा पाण्डा हस्तान्तरण गर्यो । यसले उनीहरूबीचको सम्बन्धलाई थप विस्तार गर्न सहयोग पुर्यायो ।
सन् १९७५ मा राष्ट्रपत जेराल्ड फोर्डले चीनको पाँच दिने भ्रमण गरे । माओको निधन हुनुभन्दा १० महिनाअघि मात्रै उनी बेइजिङ पुगेका थिए । त्यसबखत चीन सांस्कृतिक क्रान्ति अन्तिम चरणमा थियो । माओको उक्त अभियान कारण चीनको आर्थिक, सामाजिक र राजनीतिक धरातल कमजोर बनेको स्थिति थियो ।
त्यस्तो जटिल अवस्थामा पनि कम्युनिस्ट पार्टीले अमेरिकासँगको कूटनीतिक वार्तालाई जारी राखेको थियो । यस वार्ताले सन् १९७९ मा राष्ट्रपति जिमी कार्टर प्रशासनसँग सम्बन्ध विस्तारको आधार तयार गरेको थियो । कार्टरले स्वयंले भने आफ्नो शासनकालमा चीनको भ्रमण गरेनन् ।
सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगन चीन पुगेका थिए । शीतयुद्धकालीन अवस्थामा रेगन कम्युनिस्टको विरोधमा निकै खरो रहे । तर उनले चीनमा कम्युनिस्ट पार्टीको शासन ढाल्न कुरा गरेनन् । सोभितयसंघप्रति भने उनले प्रखर विरोध जनाउँदै आए ।
रेगनले चीनसँग व्यापारिक सम्बन्ध कायमको प्रयत्न गरे । अमेरिका र चीनको व्यापारिक सम्बन्धका लागि रेगनले नै आधार तय गरेका थिए । चीनको भ्रमणपछि उनले न्यूयोर्क टाइम्ससँग प्रतिक्रिया दिँदै भनेका थिए, ‘‘चिनियाँ अर्थतन्त्रमा स्वतन्त्र बजारको सोच र भावना चिनियाँ अर्थतन्त्रभित्र स्वतन्त्र बजारको सोच र अभ्यास भित्रिन लागेको देख्दा म निकै हर्षित भएँ ।’’
रेगन चीन पुगेको १० वर्षपछि सन् १९८९ मा राष्ट्रपति जर्ज एच डब्लू बुस बेइजिङ पुगेका थिए । चीन आफूलाई प्रिय लाग्ने मुलुकमध्येको एक रहेको उनी बताउँथे ।
सन् १९७४ देखि १९७५ सम्म बेइजिङस्थित अमेरिकी सम्पर्क कार्यालयको प्रमुख रहँदा उनी चीनबाट प्रभावित बनेका थिए । चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाअघि नै उनी त्यहाँ ‘डि फ्याक्टो’ अमेरिकी राजदूत सरह थिए ।
त्यो भ्रमण हुनुभन्दा अघिल्ला महिनाहरूमा अमेरिका–चीन सम्बन्धले उल्लेखनीय गति लिइरहेको थियो । तर सन् १९८९ पछि, तियानमिन स्क्वायरका प्रदर्शन र त्यसपछिको दमनले सम्बन्धलाई गहिरो रूपमा जटिल बनाइदियो ।
बुसको भ्रमणअघि अमेरिका र चीनबीचको सम्बन्धले गति लिइरहेको थियो । सन् १९८९ मा तियानमिन स्क्वायरमा भएको दमनपछि दुई मुलुकबीचको सम्बन्धमा चिसोपना आयो । बुसको भ्रमणको क्रममा अमेरिका र चीनबीचको सम्बन्धमा देखा पर्नसक्ने दरारको संकेत गरेको थियो ।
अमेरिकी राजदूत विनस्टन लर्डले चिनियाँ अधिकारीहरूलाई भोजका लागि आमन्त्रित गर्न चाहेका व्यक्तिहरूको सूची चीन सरकारलाई दिए । सूचीमा चिनियाँ सरकारविरोधी छवि बनाएका फाङ लिजी पनि थिए । सुरूमा उनको नाम स्वीकार गरे पनि भोजको अघिल्लो दिन उनको नाम चीनले सूचीबाट हटाइदियो । त्यसमा अमेरिकी अधिकारीहरूले कडा आपत्ति जनाए ।
सन् १९८९ को जुन ३ र ४ मा तियानमिन स्क्वायरमा चिनियाँ सेनाले प्रदर्शनकारीहरूमा दमन गर्यो । उक्त घटनापछि फाङ आफ्नी श्रीमतीसहित अमेरिकी दूतावासको शरणमा पुगे । उनी १३ महिनासम्म अमेरिकाको शरणमा लुकेर बसेका थिए । उक्त घटनाबारे अमेरिकी राजदूत विन्स्टन भन्थे, ‘‘राजकीय भोज अन्तत : राजनीतिक उथलपुथल सिर्जनाको मोड बन्न पुग्यो ।’’
सन् १९९८ मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टन चीन पुगे । सोभियत संघको पतनपछि अमेरिकी प्रशासन उत्साह र आत्मविश्वासपूर्ण थियो । यसको पृष्ठभूमिमा क्लिन्टन चीन पुगेका थिए । राजनीतिक र आर्थिक प्रणालीका कारण अमेरिका विश्वमञ्चमा प्रभावशाली शक्ति बनेको दशक थियो ।
क्लिन्टनको भ्रमणपछि अमेरिकी नीति निर्माताले चीन पनि अन्ततः विश्व व्यवस्थाको अपरिहार्य दिशालाई आत्मसात् गर्दै अघि बढिरहेको बताउन थाले ।
राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले त यसको व्याख्या इतिहासको अन्त्यका रूपमा गरे । जियाङ जेमिन र क्लिन्टनबीच विशेष अन्तरक्रिया समेत भएको थियो । जेमिनले अंग्रेजी बोल्ने प्रयास गरेका थिए ।
उनीहरूको अन्तरक्रिया लाइभ प्रसारण समेत भएको थियो । चीन मामिलाका जानकार तथा शिखर सम्मेलनलाई नियाल्दै आएका ओरेभिल शेलले उक्त संवादबारे भनेथे, ‘‘चिनिँया र अमेरिकी नेताहरूबीच असाधारण अन्तरक्रिया त्यही थ यो । क्लिन्टन र जियाङबीचको संवाद निकै आत्मीय र सौहार्द थियो । एक–अर्कासँगको अन्तरक्रिया उनीहरूले पनि मज्जा लिइरहेका थिए ।’’
सन् २००१ मा पहिलोपटक चीन पुगेका थिए, राष्ट्रपति जर्ज डब्लू बुस । तर २००८ को समर ओलम्पिकमा उनको भ्रमणलाई विशेष रूपमा लिइन्छ । बुसलाई आमन्त्रण गरेर चीनले आफूलाई विश्व मञ्चमा चीनले आफूलाई पृथक रूपमा प्रस्तुत गर्न लागेको बताएका थिए । चीन विश्व व्यापार संगठनमा प्रवेश गर्दै अर्थतन्त्रलाई विस्तार गर्न अग्रसर भइरहेका बखत उनी त्यहाँ पुगेका थिए ।
यो भ्रमण विश्वव्यापी वित्तीय संकटको पूर्वसन्ध्यामा भएको थियो । त्यससँगै इराक युद्धको प्रभावले पनि स्थिति जटिल बनेको थियो । चिनिँया राष्ट्रपति हू जिनताओ र उच्च अधिकारीहरू अमेरिकाले आफ्नो रणनीतिक दिशा गुमाएको निष्कर्षमा पुगेका थिए । चीनको उदय अब अपरिहार्य रहेको उनीहरू बताउँथे ।
धेरै विश्लेषकहरू अमेरिका र चीनबीचको २००८ को सम्बन्धलाई निर्णायक रूपमा हेर्छन् । पूर्वी एसियाका इतिहासकार जोन डेलुरीले भनेका छन्, २००८ मा चिनियाँहरूमा निकै बलियो आत्मविश्वास विकसित भएको थियो । अमेरिकीहरूले त्यसलाई अहंकारका रूपमा व्याख्या गर्दै आए । अझै पनि उनीहरूले चिनिँया आत्मविश्वासलाई अहंकार भन्न छाडेका छैनन् ।
सन् २००९ मा अमेरिकी राष्ट्रपति बराक ओबामा चीन पुगे । उनको भ्रमण वित्तीय संकटको छायामा परेको थियो । त्यसबेला ओबामाले अमेरिकालाई वित्तीय संकटबाट उकास्ने प्रयत्न गरिरहेका थिए ।
अमेरिका वित्तीय संकटमा रहँदा चीन भने तीव्र गतिमा आर्थिक वृद्धि गर्दै थियो । त्यसबखतको क्षण सम्झिँदै ओबामा प्रशासनमा एसिया मामिला निर्देशक रहेका इभान मेडियोरिस भन्छन्, ‘‘अमेरिकाले प्रतिस्पर्धा र सहकार्यका क्षेत्रमा नयाँ सन्तुलन खोज्ने प्रयास गर्यो । चीनले विश्वको सार्वजनिक हितमा अझै बढी योगदान गरोस् भन्ने हामी चाहन्थ्यौँ । चीन भने हरेको योगदानको बदलामा क्षतिपूर्ति खोज्थ्यो । यसले अमेरिकालाई निराश बनाउँथ्यो ।’’
ओबामा दोस्रोपटक सन् २०१४ मा बेइजिङ पुगे । त्यसबखत चीनको आक्रामक सैन्य गतिविधिले दुई मुलुकबीचको सम्बन्धमा दरार आएको थियो । अमेरिकाविरुद्ध साइबर जासुसीको घटनाले पनि सम्बन्ध तनावपूर्ण बनेको थियो । यस्तो परिस्थितिमा ओबामाले सीसँग संवाद गरे । उनी राजकीय भोजमा सहभागी भए ।
सन् २०१६ मा ओबामा होङझाउ पुगेका थिए । त्यहाँ अवतरण गर्दा विमानस्थलका कर्मचारीले प्लेनसम्म भर्याङ पुर्याउन सकेनन् । ओबामा विमानको पछाडिको भागबाट उत्रिएका थिए । चिनिँया पक्षले प्राविधिक कारणले भर्याङ पुर्याउन नसकेको बताएको थियो । धेरैले यसलाई चिनियाँ अपमानको रूपमा व्याख्या गरे ।
सन् २०१७ मा अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार–प्रसार अभियानका क्रममा डोनाल्ड ट्रम्पले चीनको धेरै आलोचना गरे । चीनको व्यापार नीतिबारे ट्रम्प कडा आलोचक बने ।
अमेरिकी उद्योगहरूलाई चीनबाट टाढै राख्नुपर्ने भावना त्यसबखत विकसित भइरहेको थियो । सन् २०१७ मा राष्ट्रपति बनेसँगै उनी नोभेम्बरमा चीनको भ्रमणमा गएका थिए ।
उनले त्यसबखत व्यापार घाटा, बौद्धिक सम्पत्तिको संरक्षण, साउथ चाइना सीमा उत्पन्न तनावबारे छलफल गरेका थिए । भ्रमणका क्रममा ट्रम्पले सी विशेष र असाधारण व्यक्ति रहेको बताए । उक्त भ्रमणका क्रममा चीन र अमेरिकाबीच केही व्यापार सम्झौता पनि भएको थियो ।
सन् २०१८ भने ट्रम्पले चीनसँग व्यापार युद्धको सुरुवात गरे । ट्रम्पको पहिलो कार्यकालमा पनि चीनसँगको सम्बन्ध तनावपूर्ण रह्यो । दोस्रो कार्यकालमा ट्रम्पले भन्सार नीतिमार्फत आपसी सम्बन्धमा दरार ल्याउने काम गरे । अमेरिकाले कस्दै जाँदा चीनले पनि प्रतिवाद गर्दै गयो ।
दोस्रो कार्यकालमा चीनसँगको सम्बन्ध थप तनावपूर्ण बन्दै गयो । यो तनावपूर्ण सम्बन्धलाई व्यवस्थापनका लागि ट्रम्प चीनमा छन् । आपसी सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण सम्झौता गर्दै शुक्रवार ट्रम्प वासिंटन फर्किँदै छन् ।
रोयटर्स, न्यूयोर्क टाइम्स, बीबीसीसहित अन्य एजेन्सीका विवरणमा आधारित सामग्री शिशिर ढकालले तयार पारेका हुन् । from Barahkhari.com





