• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा १ अर्ब डलर मेडिकेड दुरुपयोगको गम्भीर आरोप, भुटानी समुदाय चिन्तित !

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ २३, शनिबार ०७:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिका : अमेरिकामा मेडिकेड कार्यक्रमको आर्थिक दुरुपयोगको घटनाले निकै चर्चा पाएको छ, जसमा नेपालीभाषी भुटानी समुदायका व्यवसायी जोडिएका छन्। अमेरिकाका एक पत्रकारले मेडिकेड कार्यक्रममा व्यापक दुरुपयोग भएको भन्दै लगातार समाचार लेखेपछि यो विषय यहाँको संसद्मा समेत सुनुवाइको विषय बनेको छ। यसले गर्दा भुटानी अमेरिकन समुदायमा तरंग फैलिएको छ।

    सांसद ब्रान्डन गिलको नेतृत्वमा रहेको संसदीय कार्यदलले ओहायोमा मेडिकेड कार्यक्रममा अर्बौं डलरसम्मको सम्भावित ठगी भएको दाबी गर्दै सुनुवाइ गरेको छ। सुनुवाइका क्रममा भुटानी र सोमाली समुदायका केही सदस्यहरू ठगीमा संलग्न भएको आरोप लगाइएको छ। तर, ती दाबीहरू अनुसन्धान र कानुनी प्रक्रियाबाट पुष्टि भने भइसकेका छैनन्। राज्यविरुद्धको ठगीको विषयमा भने अनुसन्धान अघि बढाइएको छ। ओहायो राज्यमा मेडिकेड कार्यक्रममा भएको भनिएको ठूलो ठगी प्रकरणमा केही भुटानी मूलका नेपालीभाषी आप्रवासी व्यवसायीहरूको नाम सार्वजनिक भएपछि यो विषयले व्यापक चर्चा पाएको हो।

    मेडिकेड अमेरिकी सरकारी स्वास्थ्य सहायता कार्यक्रम हो। अमेरिकी अधिकारीहरूले केही स्वास्थ्य सेवा प्रदायकहरूविरुद्ध झुटा बिलिङ, नदिइएका सेवाको दाबी तथा सार्वजनिक रकमको दुरुपयोग गरेको आरोपमा अनुसन्धान र मुद्दा चलाइरहेका छन्।

    मेडिकेडमा भएको ठूलो ठगीबारे २०२६ जुनको सुरुवातमा संघीय र संसदीय स्तरमा सुनुवाइ तथा अनुसन्धान अघि बढेको सार्वजनिक भएको छ। केही रिपोर्टहरूमा भुटानी मूलका व्यवसायी र केही सोमाली मूलका व्यवसायीहरू संलग्न भएको आरोप लगाइएको छ।

    विलासिताको जीवन, दुरुपयोगको आरोप

    मेडिकेड ठगीसँग जोडेर अमेरिकाका विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूमा भुटानी समुदायका केही व्यक्तिहरूको नाम सार्वजनिक भएको छ। समाचार सामग्रीहरूमा सार्वजनिक भएका व्यक्तिहरूको नामसँगै उनीहरूको विलासी जीवनको पनि चर्चा गरिएको छ। खासगरी रोशन अधिकारीको निजी जेट, करोडौंको सम्पत्तिलाई जोडेर समाचार सामग्री प्रकाशन भइरहेका छन्। मुख्यतः उनलाई केन्द्रमा राखेर अधिकारी थरका विभिन्न व्यक्तिहरूले सरकारलाई ठगी गरिरहेको विषय प्राथमिकतामा परेको छ।

    रोशन तिनै व्यक्ति हुन्, जसले पछिल्लो केही समयदेखि नेपालमा पनि चर्चा पाइरहेका छन्। नेपालका केही सञ्चारमाध्यमहरूमा उनलाई ‘सफल व्यवसायी’ भन्दै चित्रण गर्ने र उनको ‘सफल जीवन’लाई बडो महत्वका साथ स्थान दिने गरिएको थियो। यस्तै, नेपाली कलाकारहरूसँग पनि उनको नाम जोडिने गरेको थियो। रोशनको अपत्यारिलो र तीव्र रूपमा बढ्दो आर्थिक हैसियतलाई देखेर अनुसन्धान अघि बढाउँदै जाँदा धेरै विषयहरू थाहा हुन आएको भन्दै पत्रकार लुक रोसियाकले ‘मेडिकेड एन्ड मिलियन्स’सम्बन्धी शृंखलाबद्ध समाचार छापेका थिए। उनले ‘डेली वायर’ मा प्रकाशन गरेको सामग्रीमा होम हेल्थ केयर सञ्चालन गरेका रोशनको विलासी जीवनशैलीले आफ्नो ध्यान खिचेको जनाएका छन्, त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा मेडिकेड ठगीको तथ्य बाहिर आएको उनको रिपोर्टमा दाबी गरिएको छ।

    ओहायोको कोलम्बस क्षेत्रको एकै स्ट्रिटको एउटै ठेगानामा सयौं होम हेल्थ केयर कम्पनी दर्ता भएकोदेखि लिएर ती सबै राज्यको मेडिकेड सेवालाई दुरुपयोग गर्ने आशयले खोलिएको देखिएको भन्दै सामग्री प्रकाशन भएको छ। लुकले अनुसन्धानात्मक रिपोर्ट तयार गर्ने क्रममा पटक–पटक त्यहाँ पुग्दा ती हेल्थ केयर सेन्टरहरू लगभग खाली अवस्थामा भेटिएको बताएका छन्।

    सधैंजसो ‘खाना खाने समय भएको’ आशयका सामग्रीसहितका कागज ती सेन्टरका ढोकाहरूमा टाँसिने गरेको र इमेलमा आएका सामग्रीहरूसमेत लामो समयसम्म नखोलिएको जस्तो अवस्थामा आफूले भेटेको लुकले रिपोर्टमा दाबी गरेका छन्। यी सबै तथ्यले आफूलाई घटनाको गहिराइसम्म जान आधार तय गरेको र पछि अनुसन्धान गर्दै जाँदा राज्यले प्रदान गर्ने मेडिकेड सेवा दुरुपयोगको विषय बाहिर ल्याउन सकिएको लुकले जनाएका छन्। मुख्यतः भुटानी समुदायभित्र अधिकारी थर भएका केही व्यक्तिको यसमा संलग्नता देखिएको भन्दै अनुसन्धान अघि बढेको छ। अनुसन्धानमा तानिएका अधिकारी थर भएकाहरू नाताले कुन–कुन सम्बन्धमा छन् वा परिवारकै सदस्य हुन् भन्ने पुष्टि नभए पनि झन्डै एक दर्जन कम्पनीमाथि अनुसन्धान अघि बढाइएको अधिकारीहरूले जनाएका छन्।

    यसमा रोशन अधिकारी सीओओ रहेको ‘सेन्ट्रल लाइट होम केयर एलएलसी’देखि लिएर ‘अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी’, ‘सेरेनिटी होम हेल्थ एजेन्सी एलएलसी’, ‘इन्ट्रा नेसनल होम केयर एलएलसी’, ‘मेदिना होम हेल्थ केयर एलएलसी’, ‘एल्मिस होम हेल्थकेयर’, ‘चेन्जिङ लाइभ्स होम केयर’, ‘ओएसिस होम केयर एलएलसी’, ‘होराइजन हेल्थकेयर सेन्टर एलएलसी’ र ‘हेगन हेल्थ एजेन्सी एलएलसी’लगायत कम्पनीको नामसमेत लुकले सार्वजनिक गरेका छन्। जसमा अमेरिकेयर, सेरेनिटी र इन्ट्रामा डिल्लीराम अधिकारी प्रमुख छन् र उनले सञ्चालन गरेका हेल्थ केयरका विभिन्न शाखाहरू समेत रहेका छन्।

    नेपालमा ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम डिल्ली अधिकारी ‘इन्ट्रा नेसनल वेल्फेयर सपोर्ट फाउन्डेसन’का संस्थापक र पछि अध्यक्ष बनेका हुन्। उनको फाउन्डेसनबाट नेपालमा समेत विभिन्न कार्यक्रमहरू हुँदै आएका छन्। उनले यस फाउन्डेसनको नाममा ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम चलाउने गरेका थिए। पछिल्लो समय सन् २०२४ देखि ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ नामक संस्था स्थापना गरी त्यसको अध्यक्ष भई विभिन्न गतिविधिमा संलग्न छन्।

    • अमेरिकाको ओहायो राज्यमा न्यून आय भएकाहरूका लागि सरकारी स्वास्थ्य बिमा ‘मेडिकेड’ कार्यक्रममा अर्बौं डलरको सम्भावित ठगी भएको दाबीसहित अमेरिकी संसद्मा सुनुवाइ र अनुसन्धान अघि बढेको छ।
    • अमेरिकी पत्रकार लुक रोसियाकको शृंखलाबद्ध अनुसन्धानात्मक रिपोर्टका आधारमा ओहायो र कोलम्बस क्षेत्रमा सञ्चालित झन्डै एक दर्जन होम हेल्थ केयर कम्पनी र तिनका सञ्चालक अनुसन्धानको घेरामा तानिएका छन्।
    • मुख्य आरोपीमध्येका डिल्ली अधिकारी र रोशन अधिकारीको नेपालको सञ्चार तथा मनोरञ्जन क्षेत्र (‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम) तथा सेलिब्रिटीहरूसँग व्यावसायिक लगानी एवं सामाजिक संस्थाका रूपमा बलियो सम्बन्ध रहेको खुलाइएको छ।

    उक्त संस्थाले केही समयदेखि नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग नेपाली भाषीहरूलाई समेट्ने साझा संस्था आफू रहेको दाबी गर्दै राजनीतिक लबिइङ गरिरहेको थियो र विभिन्न देशहरूमा शाखा खोल्ने क्रमलाई तीव्रता दिएको छ। अधिकारीले आफ्ना कर्मचारीलाई ओभरटाइम काम गरेबापतको सेवा–सुविधा नदिएको भन्दै अनुसन्धानको दायरामा समेत तानिएका थिए। उनी र उनले सञ्चालन गरेको हेल्थकेयर कम्पनीविरुद्ध डिपार्टमेन्ट अफ लेबर ( श्रम विभाग), फेडरल ब्युरो अफ इन्भेस्टिगेसन र हाउस ओभरसाइट टास्क फोर्सले अनुसन्धान गरिरहेको समाचारमा जनाइएको छ।

    त्यस्तै, अन्य हेल्थ केयर सर्भिसेज कम्पनीहरूमध्ये मेदिनाको सञ्चालकमा निर्मला अधिकारी, एल्मिसमा हरि अधिकारी, सेन्ट्रल लाइटको सीओओ रोशन हुन् र सो कम्पनीमा खडानन्द अधिकारी, चेन्जिङमा डिक्सन अधिकारी रहेका छन्। खडानन्द अधिकारी रोशनका बुबा र डिक्सन भाइ हुन्। ओएसिसको सञ्चालकमा रमेश अधिकारी, होराइजनको सञ्चालकमा मेघ अधिकारी र हेगनको सञ्चालकमा सोनिया अधिकारी रहेका छन्। सबै अधिकारी थर भएकाहरूबाट हेल्थ केयर सेन्टर खोलिनु, त्यहाँ अनुसन्धान गर्न जाँदा हेल्थ केयरले प्रदान गर्ने सुविधाहरू पर्याप्त नभएको पाइनु र जसलाई मेडिकेड दिनुपर्ने हो त्यसो नगरी कागजी रूपमा मात्रै त्यो सुविधा दिएको देखाउने गरी कागजात तयार गर्ने गरिएको प्रमाण फेला परेको लुकको रिपोर्टमा दाबी गरिएको छ। तर, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन।

    लुकले आफूले अनुसन्धानमार्फत उठाएको विषयलाई लिएर संसद्मा समेत रिपोर्ट बुझाएका छन्। संसदीय समितिमा समेत यसबारे लिखित जानकारी र बहसहरू भएका छन्। शरणार्थी बनेर अमेरिका आएका एक युवा, जो अहिले मात्र २९ वर्षका भए, उनको उच्च तहको विलासी जीवनका सामग्रीहरू सामाजिक सञ्जालमा देखिएपछि आफ्नो ध्यान खिचिएको र आफू अनुसन्धानतर्फ अघि बढेको उनले बताएका छन्। रोशन नेपाली सेलिब्रेटीहरूको रोजाइमा पर्ने लगानीकर्तासमेत हुन्।

    यसअघि मिनेसोटा राज्यले प्रदान गर्दै आएको मेडिकेड र इबिटी अर्थात् निम्न आय भएकाहरूलाई खानाका लागि प्रदान गरिने सहुलियत कार्यक्रममा समेत ठगी हुने गरेको तथ्य बाहिरिएको थियो। अहिले त्यस्तै प्रकृतिको घटनामा भुटानी समुदायका व्यक्तिको नाम बाहिरिएपछि यसले अमेरिकाकै राजनीति तरंगित भएको छ। राष्ट्रपति डोनाल्ड जे. ट्रम्प प्रशासन आप्रवासीहरूप्रति अनुदार भइरहेका बेला यस्ता घटना बाहिरिनुले आप्रवासीहरूका लागि थप समस्या सिर्जना गर्ने सम्भावना छ।

    सरकारलाई अनुसन्धान गर्न आग्रह

    ओहायोको मेडिकेड ठगीको प्रसंग बाहिरिएपछि सांसद ब्रान्डन गिलको नेतृत्वको समितिले यसबारे अनुसन्धान अघि बढाउन सरकारसँग आग्रह गरेको छ। उनले यस घटनालाई जोडेर समग्र भुटानी समुदायमाथि नै आरोप लगाउँदै तथ्यगत अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनको समर्थनमा उपराष्ट्रपति जेडी भान्सले पनि ठगी गर्नेहरूलाई नछाडिने चेतावनी दिएका छन्। अधिकारीहरूले अनुसन्धानसमेत अघि बढाएका छन्।

    स्वतन्त्र पुष्टि नभए पनि सुरुमा १४ जनामाथि अनुसन्धान अघि बढेको छ। सन् २०१८ देखि २०२४ सम्म यी केयर कम्पनीहरूले राज्यको ठूलो रकम दुरुपयोग गरेको बताइएको छ। २ सय ८८ वटा कम्पनीहरूले मात्र ७ वटा कार्यालय भवनबाट सेवा दिने गरी आफूलाई स्थापित गरेको आरोपपत्रमा उल्लेख छ। उनीहरूले वास्तवमै नदिइएका सेवाको बिल मेडिकेडमा पेस गरेको, आवश्यकभन्दा बढी घण्टा वा सेवाको दाबी गरेको, आफन्त वा परिचितमार्फत कागजी रूपमा सेवा दिएको देखाएको र सरकारी रकमबाट विलासी सम्पत्ति खरिद गरेको आरोप लगाइएको छ।

    जुन ४, २०२६ मा संघीय अधिकारीहरूले बालबालिकाको व्यावहारिक स्वास्थ्य सेवाका लागि छुट्याइएको करिब ३० मिलियन डलर दुरुपयोग गरेको आरोप लगाएका छन्।

    के हुन्, केयर कम्पनी ? 

    अशक्त, असहायहरूको हेरचाह गर्नका लागि सरकारले ‘हेल्थ केयर मेडिकेड’ कार्यक्रम प्रदान गर्दछ, जहाँ परिवारका सदस्यले समेत आफ्ना अशक्त वा असहाय सदस्यको स्याहार गरेबापत सेवा–सुविधा प्राप्त गर्दछन्। यस्ता असहाय वा अशक्तहरूलाई हेरचाह गर्न केयर कम्पनीहरू खुलेका हुन्छन्।यता, आरोप लागेका रोशन अधिकारीले आफ्नो फेसबुक पेजमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै ‘डेली वायर’मा प्रकाशित लुक रोसियाकको लेखमा सत्यता नभएको दाबी गरेका छन्। आफ्नो कम्पनी कुनै पनि गैरकानुनी वा गलत गतिविधिमा संलग्न नभएको र लेखमा लगाइएका आरोपहरू झुटा, भ्रामक, र आफ्नो प्रतिष्ठा तथा व्यवसायलाई हानि पुर्‍याउने खालको भएको उनले बताएका छन्।

    पछिल्ला १० वर्षदेखि होम केयरले आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आएको उनले जनाएका छन्। ‘हामीले सधैं नियम, मापदण्ड र कानुनी आवश्यकताहरूको पालना गर्दै सेवाग्राहीहरूको जीवनस्तर सुधार्ने उद्देश्यका साथ काम गरेका छौं,’ उनले भनेका छन्, ‘लेखमा व्यक्तिगत जीवन, सामाजिक सञ्जालका तस्बिरहरू, तथा सम्पत्तिलाई आधार बनाएर गलत धारणा सिर्जना गर्ने प्रयास गरिएको छ। यस्ता कुराहरू कुनै पनि प्रकारको ठगी वा गैरकानुनी कार्यको प्रमाण होइनन्।’ आफ्नो संस्थाले मुख्य रूपमा भुटानी शरणार्थी समुदायलाई मात्र सेवा दिन्छ भन्ने दाबी पनि गलत भएको उनको भनाइ छ। ‘हाम्रा अधिकांश सेवाग्राहीहरू विभिन्न समुदाय र पृष्ठभूमिबाट आएका छन्। हामी जातीयता वा राष्ट्रियताको आधारमा होइन, आवश्यकताको आधारमा सेवा प्रदान गर्छौं,’ अंग्रेजीमा आफ्नो धारणा सार्वजनिक गरेका रोशनले थपेका छन्, ‘मेडिकेड प्रणालीको दुरुपयोग गरेको भन्ने आरोपलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। हामी वास्तविक आवश्यकता भएका व्यक्तिहरूलाई वास्तविक सेवा प्रदान गर्दै आएका छौं र पारदर्शिता, उत्तरदायित्व तथा कानुनी निगरानीलाई सधैं स्वागत गर्छौं।

    यस प्रकारको भ्रामक समाचारले केवल हाम्रो संस्थालाई मात्र होइन, कर्मचारी, सेवाग्राही, परिवारहरू तथा सम्पूर्ण भुटानी समुदायलाई नकारात्मक असर पुर्‍याउँछ। ममाथि लगाइएका सबै आरोपहरू झुटा र आधारहीन छन् र आफ्नो प्रतिष्ठाको रक्षा गर्न हामी आवश्यक कानुनी कदमहरू चाल्ने विषयमा विचार गरिरहेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

    समुदायमाथि प्रश्न उठाउनु गलत

    भुटानी समुदाय तथा नेपाली समुदाय लगायत विभिन्न समुदायका अगुवाहरूले कुनै पनि घटनामा जोडिने पात्रलाई हेरेर समग्र समुदायमाथि नै प्रश्न उब्जाउनु सही नहुने बताएका छन्। कोही संलग्न हुन्छ भने त्यसलाई व्यक्तिगत रूपमा अनुसन्धानको विषय बनाइनुपर्नेमा समग्र समुदायलाई त्यसमा मुछ्न खोज्नु गलत भएको भन्दै आवाज उठिरहेको छ। कुनै पनि आरोपको स्वतन्त्र ढंगले अनुसन्धान भएपछि मात्रै त्यो तथ्य सही वा गलत के हो भन्ने छुट्टिने भएकाले, कुनै सञ्चारमाध्यममा आएको विषयकै आधारमा निष्कर्षमा पुग्ने खालको गतिविधि अधिकारी र सांसदहरूबाट आउनु दुःखद भएको टिप्पणीसमेत भुटानी समुदायका अगुवाहरूले गरेका छन्।

    आप्रवासीहरूप्रति अनुदार देखिँदै आएको ट्रम्प प्रशासनले घरेलु स्वास्थ्यसेवा प्रदायक कम्पनीहरू, पारिवारिक हेरचाहकर्तामार्फत नक्कली बिलिङ तथा अनियमितताको विषय र मेडिकेड कार्यक्रमको दुरुपयोगको घटनालाई अझ बढी गम्भीरताका साथ लिने अवस्था आउन सक्ने भन्दै आप्रवासी समुदाय सशंकित भएको छ। निम्न आय भएकाहरूलाई अमेरिकी सरकारले प्रदान गर्ने स्वास्थ्य बिमा ‘मेडिकेड’ कार्यक्रममा भएको भनिएको दुरुपयोगको अनुसन्धानप्रति ट्रम्प प्रशासन सशक्त ढंगले लाग्ने देखिन्छ।

    यही मेडिकेडअन्तर्गत ‘होम एन्ड कम्युनिटी बेस्ड सर्भिसेज’ कार्यक्रम समेत रहेको हुन्छ। यो कार्यक्रमअन्तर्गत मेडिकेडमा आबद्ध बिरामी र उनीहरूको स्याहारको काममा संलग्न भएका व्यक्तिहरूले राज्यबाट सेवा–सुविधा लिन योग्य मानिन्छन्, जहाँ परिवारकै सदस्य पनि रेखदेख गर्न योग्य रहन्छन् र कतिपय हकमा केयर सेन्टरमा पनि बस्न सक्छन्। यही कार्यक्रम दुरुपयोग गरिएको घटना बाहिर आएको हो।

    सन् १९८० को दशकबाट भुटान सरकारले नेपाली भाषी भुटानीहरूलाई देश निकाला गर्ने क्रम सुरु गरेसँगै उनीहरू नेपालको पूर्वी क्षेत्र झापा र मोरङमा आई बसेका थिए र उनीहरूलाई नेपालले आ श्रय दिएको थाहा नै छ। पछि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगद्वारा सञ्चालित शिविरहरूमा उनीहरू लामो समय बसेका थिए। सन् २००८ को सुरुवातमा तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत करिब ८५ हजार भुटानीहरू अमेरिका आएका थिए।

    संसदीय समितिमा सुनुवाइ र बहस अनि यस घटनालाई लिएर आप्रवासीमाथि नै प्रहार भइरहँदा यसले अमेरिकाको राजनीतिमा नै ध्रुवीकरण गराएको छ। टेक्ससबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसद ब्रान्डन गिल (संसदीय समितिका प्रमुख) उनले आप्रवासीप्रति अनुदार हुँदै धारणा व्यक्त गरेका छन् भने डेमोक्रेट सांसद सोन्टेल ब्राउनले त्यसको प्रतिवाद गर्दै स्वतन्त्र र प्रभावकारी अनुसन्धानपछि मात्रै निर्णयमा पुग्नुपर्ने बताएकी छन्। त्यसो त,
    यस विषयलाई सार्वजनिक गरेका लुकका कतिपय पुराना रिपोर्टहरू सही साबित नभएका उदाहरण पनि विगतमा छन्।


    घटनामा समुदाय जोड्ने कुरा आपत्तिजनक : प्याकुरेल

    भुवन प्याकुरेलnull

    भुटानी समुदायका अगुवा भुवन प्याकुरेलले व्यक्ति वा कम्पनी जोडिएको घटनामा समग्र समुदायलाई लक्षित गरिनु आपत्तिजनक रहेको बताएका छन्। ओहायो राज्यको सिटी अफ रेनोल्ड्सबर्गका प्रेसिडेन्ट प्याकुरेलले ओहायो राज्यमा मेडिकेड कार्यक्रम दुरुपयोग गरिएको भनी पत्रकार लुक रोसियाकले प्रकाशन गरेको सामग्रीमा समग्र भुटानी नेपाली समुदायलाई आरोपित गर्न खोजिएकोप्रति विमति प्रकट गरेका छन्।

    कोलम्बस नजिकैको सहरका प्रमुख प्याकुरेल भन्छन्, ‘जुन विषय उठेको छ, त्यो सही छ या गलत छ, के हो वा होइन भन्ने कुरा अनुसन्धान गर्ने निकायले पत्ता लगाउने कुरा हो। तर, कुनै पनि विषयलाई समग्रमा समुदायसँग जोडेर हेरिनु वा त्यस्तो खालको धारणा वा अभिव्यक्ति दिइनु कदापि सह्य विषय होइन।’ सन् २०१६ देखि ओहायो बस्दै आएका र सन् २०२० देखि सिटी काउन्सिलमा सेवा गरिरहेका, भुटानी नेपाली समुदायबाट पहिलो जनप्रतिनिधि बनेका प्याकुरेल कुनै पनि घटना वा गतिविधिसँग समग्र समुदायलाई जोड्ने र त्यहीअनुसार परिभाषित गर्न खोज्ने कुरा कदापि हितकर नहुने बताउँछन्। from Annapurnapost

    Post Views: 11
    प्रकाशित मिति: २०८३ जेष्ठ २३, शनिबार ०७:५०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन
    दक्षिण अफ्रिका र ब्राजिलका नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह
    संयोजक थापाले बुझाए इपिजी प्रतिवेदन राखिएको दराजको साँचो
    Advertisement
    ताजा अपडेट
    • १. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • २. अमेरिकामा १ अर्ब डलर मेडिकेड दुरुपयोगको गम्भीर आरोप, भुटानी समुदाय चिन्तित !

    • ३. दक्षिण अफ्रिका र ब्राजिलका नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह

    • ४. संयोजक थापाले बुझाए इपिजी प्रतिवेदन राखिएको दराजको साँचो

    • ५. परराष्ट्र मन्त्री शिशिर खनाल शुक्रबार भारत प्रस्थान

    चर्चित
    • १. अमेरिका, क्यानडा र मेक्सिको तीन देशका ४८ स्थानमा हुँदैछ विश्वकप

    • २. १३ राजदुत र स्थायी प्रतिनिधिका लागि झण्डै ३ हजार आवेदन

    • ३. प्रधानमन्त्रि बालेन शाहको अपरिवक्व तथा गैरजिम्मेवार अभिव्यक्ति

    • ४. एलन मस्कको स्टारलिंकले माग्यो नेपालमा सञ्चालन अनुमति

    • ५. प्रधानमन्त्रिको हचुवा सम्बोधन र परराष्ट्रको निर्णयले कुटनीति क्षतिको बाटोमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.