पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच चौबीस घन्टाभित्र शान्ति सम्झौता हुने बताएका छन्।

तीन महिनाभन्दा लामो युद्धविरामपश्चात दुवै देश शान्ति सम्झौताका लागि प्रारम्भिक मस्यौदामा सहमत रहेको शरिफले सामाजिक सञ्जालमा लेखेका छन्।
‘हामी शान्ति सम्झौताका लागि अहिलेसम्मकै सबैभन्दा नजिक पुगेका छौं। आगामी २४ घन्टाभित्र सम्झौताले अन्तिम रूप पाउने सम्भावना छ। त्यसलगत्तै हुने विद्युतीय हस्ताक्षरका लागि पाकिस्तान तयारीमा छ, त्यसपछि अर्को साता प्राविधिक तहको वार्ता हुनेछ,’ प्रधानमन्त्री शरिफले एक्समा लेखेका छन्।
उनले यो ऐतिहासिक शान्ति सम्झौताले दीर्घकालीन शान्तिका लागि बलियो आधार तयार पार्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन्।
अप्रिल ७ मा अमेरिका र इरानबीच युद्धविराम भएपछि शान्ति सम्झौताका लागि पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। पछिल्लो समय कतारले पनि मध्यस्थता गरिरहेको छ।





