विश्वभर अन्तर्राष्ट्रिय महिला कूटनीति दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघद्धारा सन् २०२२ मा यो दिवसको घोषणा गरेपछि प्रत्येक वर्ष जुन २४ मा यो दिवश मनाइन्छ। यस दिवसको उद्देश्य कूटनीतिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति स्थापना, द्वन्द्व समाधान तथा विश्वव्यापी निर्णय प्रक्रियामा महिलाको सहभागिता र नेतृत्वलाई प्रवर्द्धन गर्नु हो। विश्वका अधिकांश देशमा महिलाको राजनीतिक र सामाजिक सहभागिता बढ्दै गए पनि कूटनीतिक नेतृत्व तहमा उनीहरूको प्रतिनिधित्व अझै अपेक्षाकृत कम रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।

विश्वव्यापी रूपमा कूटनीतिक क्षेत्रमा महिलाको प्रतिनिधित्व अझै पनि पुरुषको तुलनामा निकै कम छ। सन् २०२५ सम्म विश्वभरका राजदूत र संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधिहरूमध्ये करिब २२ दशमलव ५ प्रतिशत मात्र महिला छन्। अर्थात् प्रत्येक १० राजदूतमध्ये झण्डै २ जना मात्रै महिला छन्।
सन् २०२४ मा संयुक्त राष्ट्रसंघमा रहेका स्थायी प्रतिनिधिहरूमध्ये केवल २१ प्रतिशत महिला थिए। संयुक्त राष्ट्रसंघ स्थापना भएको सन् १९४७ यता नियुक्त भएका सबै स्थायी प्रतिनिधिमध्ये केवल ७ प्रतिशत महिला रहेका छन्। विश्वका ७३ देशले अहिलेसम्म संयुक्त राष्ट्रसंघमा कुनै पनि महिला स्थायी प्रतिनिधि नियुक्त गरेका छैनन्।
विश्वका केवल २५ देशमा मात्र महिला राष्ट्रप्रमुख वा सरकार प्रमुख छन्। विश्वभरका मन्त्रिपरिषद्मा महिलाको सहभागिता २२ दशमलव ९ प्रतिशत मात्र छ, जबकि परराष्ट्र र रक्षा मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयहरूमा पुरुषहरूको वर्चस्व अझै कायम छ। विभिन्न अध्धयनहरुले कूटनीतिमा महिलाको सहभागिता बढे पनि चुनौतीहरु कायमै रहेको देखाएको छ । महिलाले कूटनीतिक क्षेत्रमा प्रवेश गरेपछि पनि नेतृत्व तहमा पुग्न विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। लैङ्गिक पूर्वाग्रह, निर्णय प्रक्रियामा सीमित पहुँच, परिवार र पेशाबीच सन्तुलन कायम गर्नुपर्ने दबाब तथा केही मुलुकमा सुरक्षा सम्बन्धी जोखिम प्रमुख चुनौतीका रूपमा रहेका छन्।
कूटनीतिमा महिलाको नेतृत्व क्षमताप्रति अझै पनि कतिपय स्थानमा शंका गर्ने प्रवृत्ति कायम रहेको बताइन्छ। साथै, उच्च तहका अनौपचारिक सञ्जाल र नीति निर्माण प्रक्रियामा पहुँचको कमीले पनि महिलाको पदोन्नति र प्रभाव विस्तारमा असर पार्ने गरेको छ। संयुक्त राष्ट्रसंघले शान्ति स्थापना, द्वन्द्व समाधान र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउन महिलाको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएको छ। संस्थाले कूटनीतिक क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्न सदस्य राष्ट्रहरूलाई थप अवसर, नेतृत्व विकास कार्यक्रम र समावेशी नीति अवलम्बन गर्न आग्रह गर्दै आएको छ।
अन्तर्राष्ट्रिय महिला कूटनीति दिवसले विश्व शान्ति, सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन महिलाले पुर्याएको योगदानको सम्मान गर्दै कूटनीतिक नेतृत्वमा उनीहरूको सहभागिता बढाउने सन्देश दिएको छ। कूटनीतिमा महिलाहरू अन्तर्राष्ट्रिय मामिलाका केवल सहभागी मात्र होइनन् उनीहरू शान्तिका शिल्पकार, समानताका पक्षधर र विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन्। विश्वले सामना गरिरहेका जटिल चुनौतीहरूको समाधान खोज्न तथा थप समावेशी, न्यायपूर्ण र उत्थानशील समाज निर्माण गर्न महिलाहरूको आवाज, दृष्टिकोण र नेतृत्व अपरिहार्य छ। अन्तरसम्बन्धित विश्वका नयाँ आवश्यकता अनुरूप कूटनीति विकसित हुँदै जाँदा निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु केवल समानताको विषय मात्र होइन, प्रभावकारी विश्व शासनको पूर्वशर्त पनि हो। यसले बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूका प्रतिबद्धताहरूलाई समेत सुदृढ बनाउँछ। निर्णय हुने स्थानहरूमा महिलाको उपस्थिति हुँदा कूटनीति जनताको वास्तविक प्रतिनिधित्व गर्ने, दिगो शान्ति, दिगो विकास र मानव मर्यादाको प्रवर्द्धन गर्न सक्षम बन्ने गर्दछ।
विश्वभरका कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तर्राष्ट्रिय वार्ताहरूमा महिलाहरूले संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तर्राष्ट्रिय सहकार्यमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई प्रवर्द्धन गर्ने समाधानहरू अघि बढाउन मद्दत गरेको छ। कूटनीतिमा महिलाको अन्तर्राष्ट्रिय दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशिता आवश्यक रहेको सन्देश दिन्छ। यो दिवस महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान मात्र नभई विद्यमान अवरोध हटाउन, अवसर विस्तार गर्न र भावी पुस्ताका महिलाहरूलाई अन्तर्राष्ट्रिय मामिलामा नेतृत्व गर्न, प्रभाव पार्न तथा दिशा निर्धारण गर्न सक्षम बनाउने आह्वान पनि हो।
इतिहासमा महिलाहरूलाई औपचारिक कूटनीतिक भूमिका र अन्तर्राष्ट्रिय निर्णय प्रक्रियाबाट धेरै हदसम्म बाहिर राखिएको थियो। समयक्रमसँगै उनीहरूले विभिन्न अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तर्राष्ट्रिय संगठन, शान्ति प्रक्रिया तथा बहुपक्षीय वार्ताहरूमा आफ्नो उपस्थिति विस्तार गरेका छन्। उनीहरूको योगदानले विश्वभर शान्ति, सुरक्षा, विकास र मानव अधिकार प्रवर्द्धनका प्रयासहरूलाई सुदृढ बनाएको छ। यद्यपि, उल्लेखनीय प्रगतिका बाबजुद महिलाहरू अझै पनि धेरै कूटनीतिक तथा राजनीतिक नेतृत्व पदहरूमा कम प्रतिनिधित्व भएका छन्। यसले समान सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न थप प्रयासको आवश्यकता रहेको देखाउँछ।
शान्ति निर्माण, मध्यस्थता तथा द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले थप समावेशी र दिगो परिणाम ल्याउने गरेको अध्ययनहरूले देखाएका छन्। त्यस्तै, लैङ्गिक समानता र महिला तथा बालिकाको सशक्तीकरण दिगो विकास हासिल गर्न र सबैले योगदान गर्न तथा समृद्ध हुन सक्ने समाज निर्माण गर्न अत्यन्त आवश्यक छ। हरेक वर्ष जुन २४ मा मनाइने ‘अन्तर्राष्ट्रिय महिला कूटनीति दिवस’ले कूटनीतिमा महिलाको योगदान र उपलब्धिको सम्मान गर्दै सरकार, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक प्रतिष्ठान, नागरिक समाज र कूटनीतिक समुदायलाई महिलाको सहभागिता बढाउन, संरचनागत अवरोध हटाउन तथा समुदाय, राष्ट्र र विश्वलाई असर गर्ने निर्णय प्रक्रियामा महिलालाई समान अवसर सुनिश्चित गर्न प्रेरित गर्दछ।
महिलाहरू यथार्थवादी हुन्छन्। उनीहरू आफ्नो पाइला जमिनमा राख्दै भविष्यका टाढाका सम्भावनातर्फ पनि दृष्टि केन्द्रित गर्न सक्छन्। अन्तर्राष्ट्रिय मान्यता र मापदण्डहरूले विश्व समुदायका लागि साझा मापदण्ड तय गर्न तथा राष्ट्रहरूले त्यसलाई कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेल्छन्। विश्व कूटनीतिमा महिलाको बढ्दो उपस्थितिले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नेपालमा पनि महिला कूटनीतिज्ञहरूको संख्या क्रमशः बढ्दै गएको छ। नेपाली महिलाहरू राजदूत, परराष्ट्र सेवाका अधिकारी तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिका रूपमा सक्रिय हुँदै आएका छन्। यद्यपि निर्णय तहमा अझ व्यापक र प्रभावकारी सहभागिताको आवश्यकता रहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार दिगो शान्ति, समावेशी विकास र प्रभावकारी कूटनीतिका लागि महिलाको अर्थपूर्ण सहभागिता अपरिहार्य छ। यस दिवसले कूटनीतिक क्षेत्रमा योगदान पुर्याएका महिलाहरूको सम्मान गर्दै नयाँ पुस्ताका महिलालाई नेतृत्वका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघ (यूएन) स्वयंले पनि लैङ्गिक समानता हासिल गर्ने क्रममा विभिन्न चुनौतीहरूको सामना गरेको छ। तथापि, पछिल्ला छ वर्षमा महासचिवको नेतृत्वमा यस क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। सन् २०२० मा संयुक्त राष्ट्रसंघका वरिष्ठ नेतृत्व तहमा लैङ्गिक समानता हासिल गरिएको थियो। संगठनले आगामी पाँच वर्षभित्र मुख्यालयका सबै तहमा समान प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यतर्फ प्रगति गरिरहेको छ। तर, संयुक्त राष्ट्रसंघले अहिलेसम्म कुनै महिला महासचिव पाएको छैन। साथै, सुरक्षा सम्बन्धी यूएन मिसन तथा शान्ति स्थापना अभियानहरूमा महिलाको प्रतिनिधित्व अझै पनि न्यून छ, जबकि त्यस्ता क्षेत्रमा विविधता अत्यन्त महत्वपूर्ण मानिन्छ।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानमा सक्रिय योगदानकर्ता देशका रूपमा काजाखस्तानले नियमित रूपमा महिला शान्ति सैनिक तथा महिला सैनिक पर्यवेक्षकहरू यूएन मिसनहरूमा पठाउँदै आएको छ। यसका अतिरिक्त, काजाखस्तानले महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १३२५ कार्यान्वयन गर्न राष्ट्रिय कार्ययोजना अपनाएको छ, जसमा अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा संवादहरूमा महिलाको सहभागिता बढाउने प्रतिबद्धता प्रमुख प्राथमिकताका रूपमा समावेश गरिएको छ। पूर्ण र न्यायोचित प्रतिनिधित्व हासिल गर्न महिलाका अधिकारलाई सशक्त बनाउने सन्तुलित नीति तथा उपायहरू आवश्यक हुन्छन्। महिलाको समान सहभागितामा बाधा पुर्याउने संरचनागत अवरोधहरू हटाइनुपर्छ, किनकि विश्वभरका धेरै परराष्ट्र मन्त्रालयहरूमा महिलाहरू अझै पनि सहयोगी वा सहायक भूमिकामा बढी केन्द्रित रहेको देखिन्छ।





