अमेरिकाको सर्वोच्च अदालतले एउटा महत्त्वपूर्ण फैसला गर्दै अमेरिकामा बसोबास गर्ने कुनै ग्रीन कार्डवाहकले नैतिक पतनसँग जोडिएको अपराध गरेमा उसलाई स्थायी बासिन्दा भए पनि अमेरिकाबाट देश निकाला गर्न सकिने जनाएको छ । ६ न्यायाधिशको बहुमतको फैसला एक आप्रवासन अधिकारीले सन् २०१२ मा गरेको निर्णयसँग सम्बन्धित छ । त्यतिबेला वैध अमेरिकी ग्रीनकार्डवाहक स्थायी बासिन्दा मुक चोइ लाउ चीनको छोटो भ्रमणबाट अमेरिका फर्कने क्रममा जाली नोट वा नक्कली सामान उत्पादन तथा बिक्रीसम्बन्धी अपराधको आरोपका कारण आप्रवासन पेरोलमा राखिएका थिए ।

लाउले उक्त निर्णय अधिकारीको कानुनी अधिकार क्षेत्रभन्दा बाहिर गएर गरिएको तर्क गरेका थिए । तर, सर्वोच्च अदालत यस तर्कसँग सहमत भएन । न्यायाधीश क्लेरेन्स थोमसले बहुमतको राय लेख्दै भनेका छन्, “लाउले नैतिक पतनसँग सम्बन्धित अपराध गरेका थिए भन्ने कुरा स्पष्ट र ठोस प्रमाणमार्फत प्रमाणित गर्ने दायित्व सीमा अधिकारीहरूको होइन ।” न्यायाधीश क्लेरेन्स थोमसका अनुसार, न्युजर्सीमा नक्कली लुगा बिक्री गरेको आरोप स्वीकार गरेपछि गृह सुरक्षा विभागले उनीविरुद्ध देश निकाला प्रक्रियालाई अघि बढाउन सोही निर्णयले अनुचित रूपमा आधार प्रदान गरेको थियो । यो फैसलपछि अमेरिकाका सीमा सुरक्षा अधिकारीहरूलाई अब त्यस्ता व्यक्तिहरूलाई अमेरिकाबाट निकाल्न सजिलो हुने विश्लेषण गरिएको छ ।
अमेरिकी न्यायाधीश क्लेरेन्स थोमसले फैसला सुनाउँदै आप्रवासन अधिकारीहरूलाई अब स्पष्ट प्रमाणको आवश्यकता नपर्ने बताएका छन् । यदि उनीहरूलाई अपराध भएको लाग्छ भने पनि कारबाही गर्न सक्ने बताएका छन् । न्यायाधीशले आप्रवासन र नेसनलिटी एक्टमा प्रमाणको आवश्यकता पर्ने कुरा उल्लेख नभएको बताए ।





