होम लम्साल,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई लक्षित गर्दै नयाँ आप्रवासन नीति लागू गर्ने तयारी गरेपछि विश्वभरका अमेरिका अध्ययनको लागि जाने विद्यार्थी समुदायमा चासो र चिन्ता बढोएको छ । ट्रम्प प्रशासनले राष्ट्रिय सुरक्षा, भिसा दुरुपयोग नियन्त्रण र आप्रवासन प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यले विद्यार्थी भिसा प्रणालीमा व्यापक परिवर्तन प्रस्ताव गरिएको बताइएको छ ।
नयाँ प्रस्तावित नियमअनुसार अमेरिकामा अध्ययनका लागि जाने एफ–१ र जे–१ भिसाधारी विद्यार्थीहरूलाई दिइने बसाइ अवधि, अध्ययनपछि अमेरिकामा रहने समय तथा भिसा व्यवस्थापनका विभिन्न पक्षमा कडाइ गरिने उल्लेख छ । यसले अमेरिका अध्ययन गन्तव्य बनाइरहेका हजारौं हजारौ नेपाली विद्यार्थीलाई पनि प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ।
हालसम्म अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन कार्यक्रम पूरा नहुन्जेलसम्म अमेरिकामा बस्न पाउने व्यवस्था रहेको थियो। तर नयाँ प्रस्तावअनुसार अधिकांश विद्यार्थीलाई अधिकतम चार वर्षको निश्चित बसाइ अवधि दिइनेछ। यदि अध्ययन वा अनुसन्धान पूरा गर्न थप समय आवश्यक परे सम्बन्धित निकाय राज्य वा विश्वाविधालयबाट प्रमाणित गरेर अवधि थप गर्नुपर्ने व्यवस्था उल्लेख छ ।
अध्ययन पूरा भएपछि अमेरिका छोड्नुअघि पाइने ६० दिनको ‘ग्रेस पिरियड’लाई ३० दिनमा सीमित गर्ने प्रस्ताव गरिएको छ। यसले अध्ययनपछि रोजगारी खोज्ने वा अर्को शैक्षिक कार्यक्रममा प्रवेश गर्ने तयारी गरिरहेका विद्यार्थीहरूलाई थप दबाब पर्ने विश्लेषण गरिएको छ। त्यति मात्रै नभएर अमेरिका आएपछि पटक पटक कलेज परिवर्तन गर्ने र विषय फर्नेहरुका लागि पनि अबको दिन कठिनाई हुने देखिन्छ ।

विद्यालय परिवर्तन, अध्ययनको विषय परिवर्तन वा अन्य शैक्षिक अवस्थासम्बन्धी प्रक्रियामा समेत थप सरकारी निगरानी रहने जनाइएको छ। साथै, भिसा आवेदन तथा केही अवस्थामा आवेदकका सामाजिक सञ्जाल गतिविधिको विस्तृत समीक्षा गर्ने नीति पनि अघि बढाइएको छ। ट्रम्प प्रशासनले यी परिवर्तनलाई राष्ट्रिय सुरक्षा मजबुत बनाउने, भिसाको दुरुपयोग रोक्ने, भिसा अवधि समाप्त भएपछि गैरकानुनी रूपमा बस्ने ओभरस्टे समस्या घटाउने तथा विद्यार्थी सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने कदमका रूपमा व्याख्या गरेको छ।
अमेरिकी विश्वविद्यालयहरू, उच्च शिक्षा संस्थाहरू तथा शिक्षा क्षेत्रका विज्ञहरूले भने यो प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूको भनाइमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू अमेरिकाको उच्च शिक्षा, अनुसन्धान र नवप्रवर्तनका महत्वपूर्ण आधार हुन्। अत्यधिक कडा नियमले विश्वभरका प्रतिभाशाली विद्यार्थीलाई अमेरिका आउन निरुत्साहित गर्न सक्ने र यसको दीर्घकालीन असर अमेरिकी विश्वविद्यालयको प्रतिस्पर्धात्मक क्षमतामा समेत पर्न सक्ने उनीहरूको तर्क छ।
विशेष गरी पीएचडी, अनुसन्धान तथा चार वर्षभन्दा लामो शैक्षिक कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीहरू, साथै विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा अध्ययन गरी ओपिटी मार्फत काम गर्ने योजना बनाएका विद्यार्थीहरू यस परिवर्तनबाट बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थी तथा नयाँ आवेदन दिने विद्यार्थीहरूले आफ्नो सेभिज अभिलेख अद्यावधिक राख्ने, पूर्णकालीन अध्ययन निरन्तर गर्ने, विद्यालय वा ठेगाना परिवर्तन भए समयमै जानकारी गराउने तथा आफ्नो भिसाको सर्त कडाइका साथ पालना गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने विज्ञहरूको दिएका छन ।
ट्रम्प प्रशासनको यो कदम अमेरिकी आप्रवासन नीतिलाई थप नियन्त्रणमुखी बनाउने व्यापक रणनीतिको हिस्साको रुपमा लिइएको छ । एकातिर सरकारले सुरक्षा र कानुनी पालनालाई प्राथमिकता दिएको दाबी गरिरहेको छ भने अर्कोतर्फ विश्वविद्यालय र शिक्षा क्षेत्रले यसले अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक आकर्षणमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिएका छन्। यदि यी प्रस्तावित नियमहरू पूर्ण रूपमा लागू भए भने अमेरिका अध्ययनका लागि जाने भावी अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेषगरी नेपाली विद्यार्थीहरूले आफ्नो अध्ययन योजना, बसाइ अवधि तथा भविष्यको करिअर योजनामा नयाँ व्यवस्थालाई ध्यानमा राखेर तयारी गर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ।
अघिल्लो बर्ष ट्रम्प प्रशासन अघि अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या इतिहासकै उच्च बिन्दुमा पुगेको थियो । तर ट्रम्प प्रशासनले गरेको कडाईका कारण पछिल्लो प्रारम्भिक तथ्यांकअनुसार २०२५–२६ शैक्षिक सत्रमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले घटेको तथ्यांकहरुले देखाएको छ । शिक्षा क्षेत्रका विज्ञहरूले यसलाई पछिल्ला वर्षहरूमा देखिएको सबैभन्दा ठूलो गिरावट भएको भन्दै त्यसबाट अमेरिकी अर्थतन्त्रमा गंभीर प्रभाव पर्ने बताइएको छ।
पछिल्लो ओपन डोर्स २०२५ को प्रतिवेदनअनुसार सन् २०२४–२५ शैक्षिक सत्रमा अमेरिकाका विश्वविद्यालय तथा कलेजहरूमा ११ लाख ७७ हजार ७६६ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेका थिए । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी थियो । सो प्रतिवेदनअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकाको कुल उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये करिब ६ प्रतिशत हिस्सा ओगटेका छन्। यसले विश्वभरका विद्यार्थीहरूको रोजाइमा अमेरिका अझै पनि प्रमुख अध्ययन गन्तव्य रहेको देखाएको छ।
सो तथ्यांक अनुसार सबैभन्दा धेरै विद्यार्थी अमेरिका पठाउने देशको सूचीमा भारत पहिलो स्थानमा पुगेको थियो, जसमा २०२४–२५ शैक्षिक सत्रमा भारतबाट ३ लाख ६३ हजार १९ विद्यार्थी अमेरिकामा अध्ययनरत छन्। चीन २ लाख ६५ हजार ९१९ विद्यार्थीका साथ दोस्रो स्थानमा रहेको थियो । नेपाल पनि अमेरिका अध्ययनका लागि विद्यार्थी पठाउने प्रमुख मुलुकमध्ये एक बनेको छ। प्रतिवेदनअनुसार २०२४–२५ शैक्षिक सत्रमा अमेरिकामा २४ हजार ८९० नेपाली विद्यार्थी अध्ययनरत छन्। यससँगै नेपाल अमेरिका पठाउने शीर्ष स्रोत मुलुकहरूमध्ये छैटौँ स्थानमा पुगेको छ। अघिल्लो बर्ष सार्वजनिक एक तथ्यांकका अनुसार अमेरिकामा अन्तराष्ट्रिय विधार्थीबाट चार लाख रोजगारी थपिएको र ५० विलियन डलर जिडिपीमा योगदान गरेको थियो ।
अमेरिकामा अध्ययन गर्ने विदेशी विधार्थीहरुको तथ्यांकका लागि ईन्टिच्यूट अफ ईन्टरनेसनल ईडुकेसन (आईआईई) ले अमेरिकी विदेश मन्त्रालयको सहयोगमा वार्षिक ओपन डोर्स प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ त्यस (आईआईई) को प्रतिवेदनले सन् २०२४–२५ शैक्षिक वर्षमा अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको नामांकन, सबैभन्दा धेरै अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्था र अध्ययनका प्रमुख विषयहरू, साथै विदेशमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीहरूको सहभागिता सम्बन्धी विवरण प्रस्तुत गरेको थियो ।
(आईआईई) ले ८ सय २८ अमेरिकी शैक्षिक संस्थाहरूको प्रतिक्रियामा आधारित वार्षिक “स्न्यापसट” सर्वेक्षण पनि सार्वजनिक गरेको छ, जसले सन् २०२५–२६ शैक्षिक वर्षको प्रारम्भिक अन्तर्राष्ट्रिय विद्यार्थीको घट्दो सख्या देखाएको छ। ओपन डोर्स २०२४–२५ को तथ्यांकअनुसार नयाँ र अध्ययन जारी राखेका दुवै विद्यार्थीसमेत गरी अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको कुल संख्या ४ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । तर यसको विपरीत, स्न्यापसट सर्वेक्षणले २०२५–२६ शैक्षिक वर्षमा हालसम्म कुल अन्तर्राष्ट्रिय विद्यार्थीको नामांकन १ प्रतिशतले घटेको देखाएको छ। कोभिड–१९ महामारीपछि लगातार चार वर्षसम्म भएको वृद्धिपछि यो पहिलो वार्षिक गिरावट हो।
यो गिरावटको मुख्य कारण नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको नामांकनमा १७ प्रतिशतको कमी र स्नातकोत्तर तहका विद्यार्थीको नामांकनमा १२ प्रतिशतको गिरावट हो। यद्यपि स्नातक तहको नामांकन २ प्रतिशतले बढेको छ ।
सर्वेक्षणमा सहभागी ९६ प्रतिशत शैक्षिक संस्थाहरूले भिसा आवेदन प्रक्रियासम्बन्धी समस्या—विशेषगरी ढिलाइ र भिसा अस्वीकृतिलाई नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घट्नुको प्रमुख कारण बताएका छन्। अन्य प्रमुख कारणहरूमा अमेरिकाको यात्रा प्रतिबन्ध ६८ प्रतिशत, विद्यार्थीहरूले अमेरिकामा आफूहरूलाई स्वागत नगरिएको महसुस गर्नु ६७ प्रतिशत तथा अमेरिकाको समग्र सामाजिक–राजनीतिक वातावरण ६४ प्रतिशत रहेका बताइएको छ । समग्रमा हेर्दा पछिल्लो ट्रम्प प्रशासनको कडाईको कारण अमेरिकामा विदेशी विधार्थीहरु क्रमश घट्दै गई रहेको बेला फेरी आउन लागेको नयाँ कडाई गर्ने नियमले झन ठुलो गिरावट ल्याउने निश्चित देखिन्छ ।
अमेरिकामा लामो समयदेखि उच्च शिक्षा हासिल गर्न चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको प्रमुख गन्तव्य रहँदै आएको छ। अमेरिकाका धेरै प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूले विश्वस्तरीय शिक्षा, अनुसन्धानका अवसर र विभिन्न विषयका कार्यक्रमहरू उपलब्ध गराउने भएकाले विद्यार्थीहरूले आफ्नो भविष्य निर्माणका लागि अमेरिका रोज्ने गरेका छन्। तर अमेरिकामा अध्ययन गर्नु अवसरले मात्र भरिएको यात्रा होइन। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले त्यहाँ अध्ययनका क्रममा विभिन्न चुनौतीहरूको पनि सामना गर्नुपर्छ।
अमेरिकामा पुगेपछि विद्यार्थीहरूले आफूले हुर्केको समाजभन्दा फरक संस्कृति अनुभव गर्छन्। उदाहरणका लागि, अमेरिकी समाजमा उमेर वा पदमा आफूभन्दा वरिष्ठ व्यक्तिलाई पनि प्रायः नामबाट सम्बोधन गर्ने चलन छ। दक्षिण एसियाली समाजका धेरै विद्यार्थीका लागि यो अनौठो लाग्न सक्छ। तर अमेरिकी संस्कृतिमा यसलाई अपमानको रूपमा होइन, सामान्य व्यवहारको रूपमा लिइन्छ।
नयाँ देशमा पुगेपछि धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले घरपरिवार र आफ्नो देशको सम्झनाले सताउने अनुभव हुनु स्वाभाविक नै हो । नयाँ वातावरणमा घुलमिल हुन समय लाग्नु स्वाभाविक हो। त्यसैले खुला सोचका साथ नयाँ संस्कृति स्वीकार्ने, सबै देशका सामाजिक मान्यता एउटै हुँदैनन् भन्ने बुझ्ने र नयाँ अनुभवलाई सकारात्मक रूपमा लिने प्रयास गर्नु आवश्यक हुन्छ। विश्वविद्यालयका विद्यार्थी क्लब, संगठन वा विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधिमा सहभागी हुनु उपयोगी हुन्छ। समूहगत परियोजनामा सहकार्य गर्दा नयाँ साथी बनाउन, सामाजिक सम्बन्ध विस्तार गर्न र अमेरिकी समाज तथा संस्कृतिलाई अझ राम्रोसँग बुझ्न मद्दत पुग्छ।
अमेरिका पुगेपछि सुरुका केही दिन नयाँ वातावरणमा बसोबास मिलाउने, कक्षा प्रणाली बुझ्ने तथा दैनिक जीवन व्यवस्थापनमै बित्न सक्छ। त्यसैले सुरुवाती चरणमा पढाइमा अपेक्षाअनुसार नतिजा नआउनु अस्वाभाविक होइन। यस्तो अवस्थामा अध्ययन समूहमा सहभागी हुने, प्राध्यापकसँग परामर्श लिने तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सहकार्य गर्ने हो भने पढाइमा ध्यान केन्द्रित गर्न र शैक्षिक प्रदर्शन सुधार्न सहयोग मिल्छ।
विदेशमा अध्ययन गर्नु सामान्यतया आफ्नै देशमा अध्ययन गर्नुभन्दा धेरै खर्चिलो हुन्छ। विशेषगरी अमेरिकाका निजी विश्वविद्यालयहरूको शुल्क निकै महँगो हुन सक्छ। शिक्षण शुल्क, आवास, स्वास्थ्य बीमा, खानपान, यातायात तथा अन्य दैनिक खर्चका कारण विद्यार्थीमाथि आर्थिक दबाब पर्न सक्छ। त्यसैले अमेरिका अध्ययन गर्नुअघि आफ्नो आर्थिक योजना स्पष्ट बनाउनु आवश्यक हुन्छ। छात्रवृत्ति, वैधानिक रूपमा गर्न पाइने काम तथा आवश्यक परे शैक्षिक ऋण जस्ता विकल्पबारे जानकारी लिएर तयारी गर्दा आर्थिक चुनौतीलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
अमेरिकामा अध्ययन गर्नु विश्वस्तरीय शिक्षा, अनुसन्धान, सीप विकास र अन्तर्राष्ट्रिय करिअर निर्माणका लागि उत्कृष्ट अवसर हो। तर सफलता हासिल गर्न शैक्षिक तयारी मात्र पर्याप्त हुँदैन। नयाँ संस्कृति, सामाजिक वातावरण, आर्थिक व्यवस्थापन र शैक्षिक प्रणालीमा आफूलाई अनुकूल बनाउन सक्ने क्षमता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। पर्याप्त जानकारी, सकारात्मक सोच र योजनाबद्ध तयारीका साथ अघि बढ्ने विद्यार्थीहरूले यी चुनौतीहरू पार गर्दै अमेरिकामा अध्ययनको अनुभवलाई सफल र फलदायी बनाउन सक्छन्। जव अमेरिकी विश्वविधालयबाट पढाई पुरा गर्दछन ती व्यक्तिहरु विश्वभर आफ्नो कुनै पनि कामका लागि तयार हुन्छन । अमेरिकामा जसरी विदेशी विधार्थी तथा आप्रवासीमाथी कडाई गरिएको पक्कै हो तर अन्याय वा दमन भएको भन्दै सामाजिक सन्जालमा हल्ला फैलिएका हल्लामा पुर्णतय सत्य छैन । अबैध आप्रवासन र अबैध तरिकाले अमेरिका प्रवेश गरेका र त्यो भन्दा पनि अपराध र गैरकानुनी रुपमा गतिविधि गर्नेहरुमाथी सरकारले थप कडाई गरेको भने सत्य हो ।
विभिन्न अन्तराष्ट्रिय समाचार तथा अध्धयनहरुको तथ्यांकमा आधारित





