नेपालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने कुटपिट, गालीगलौज र धम्कीका घटना बढ्दै गएपछि ईमरजेन्सीबाहेकका सेवाहरु बन्द गरेको चिकित्सक संघले जनाएको छ। नेपाल चिकित्सक संघका महासचिव डा सञ्जीव तिवारीका अनुसार पछिल्लो १० महिनामा देशभर ९० भन्दा बढी यस्ता घटना भएका छन्।
पछिल्लो १० महिनामा ९० भन्दा बढी चिकित्सकमाथि कुटपिट तथा गालीगलौज र धम्कीका घटना भएका छन्,’ डा तिवारीले भने, ‘सबै घटनाको उजुरी हुँदैन किनकि सबै चिकित्सकले उजुरी गर्दैनन् र कतिपय घटना स्थानीय तहमै मिलाउँछन । बाहिर सार्वजिक नभएका घटनाहरु पनि चिकित्सक संघमा भने दर्ता हुने गरेको बताइएको छ ।

हालै उदयपुरको कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा गौरव शाहलाई पोस्टमार्टम रिपोर्टको विषयलाई लिएर केही व्यक्तिले मौखिक दुर्व्यवहार गर्नुका साथै धम्की दिएको घटना सार्वजनिक भएको थियो। यसअघि नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा एक समूह प्रवेश गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको, घटनाको भिडियो खिचेको र ज्यान मार्ने धम्की दिएको आरोप पनि सार्वजनिक भएको थियो।
चिकित्सक संघले यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउने र स्वास्थ्य सेवा प्रवाहमै असर पर्ने जनाएको छ। संघले अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षा व्यवस्था कडा बनाउन, दोषीलाई कानुनी कारबाही गर्न र स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्न सरकारसँग माग गरेको छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार चिकित्सकमाथि बढ्दो हिंसाले ग्रामीण तथा सरकारी अस्पतालमा सेवा दिने चिकित्सक थप निरुत्साहित हुने जोखिम रहेको छ। उनीहरूले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित नगरी गुणस्तरीय स्वास्थ्य सेवा अपेक्षा गर्न कठिन हुने बताएका छन्।
यी रयस्ता घटनाका कारण नेपालमा चिकित्सकहरूको विदेश पलायन ब्रेन ड्रेन चिन्ताजनक रूपमा बढ्दै गएको छ। नेपाल मेडिकल काउन्सिलका पछिल्ला तथ्याङ्कअनुसार विदेशमा अध्ययन वा रोजगारीका लागि आवश्यक ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिने चिकित्सकको संख्या नेपालभित्र नयाँ अभ्यास अनुमति लाइसेन्स लिने चिकित्सकको संख्याभन्दा बढी हुन थालेपछि देशको स्वास्थ्य प्रणालीमाथि दीर्घकालीन असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२५ मा २ हजार ३ सय ९० जना चिकित्सकले विदेश जान आवश्यक ‘गुड स्ट्यान्डिङ सर्टिफिकेट’ लिएको तथ्यांक छ । सोही अवधिमा २ हजार १ सय २२ जनाले मात्रै नेपालमा चिकित्सकीय अभ्यासका लागि नयाँ लाइसेन्स प्राप्त गरेका थिए। सन् २०२० यता ११ हजारभन्दा बढी नेपाली चिकित्सकले विदेश जाने प्रक्रिया अघि बढाएको विवरणले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति टिकाइराख्नु नेपालका लागि ठूलो चुनौती बनेको देखाउँछ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार कम पारिश्रमिक, सीमित करिअर विकास, विशेषज्ञ अध्ययनका न्यून अवसर, कार्यस्थलको असुरक्षा, चिकित्सकमाथि हुने हिंसा तथा आधुनिक स्वास्थ्य पूर्वाधारको अभाव चिकित्सक पलायनका प्रमुख कारण हुन्। अर्कोतर्फ अमेरिका, बेलायत, अष्ट्रेलिया, माल्दिभ्स, संयुक्त अरब इमिरेट्सलगायत देशमा उच्च तलब, सुरक्षित कार्य वातावरण, अत्याधुनिक प्रविधि र अनुसन्धानका अवसर उपलब्ध भएकाले नेपाली चिकित्सक विदेशतर्फ आकर्षित भइरहेका छन्।
नीतिगत अध्ययनहरूले नेपालमा चिकित्सक–जनसंख्या अनुपातमा ठूलो असमानता रहेको देखाएका छन्। काठमाडौं उपत्यकामा चिकित्सकको उपलब्धता अपेक्षाकृत राम्रो भए पनि दुर्गम जिल्लाहरूमा एक चिकित्सकले हजारौं नागरिकलाई सेवा दिनुपर्ने अवस्था रहेको अध्ययनहरूले औंल्याएका छन्। यसले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच थप कमजोर बनाएको छ।
चिकित्सक पलायनले सरकारी अस्पतालमा जनशक्तिको अभाव, ग्रामीण स्वास्थ्य सेवाको कमजोर पहुँच, चिकित्सा शिक्षामा भएको सार्वजनिक लगानीको प्रतिफल विदेशिने र स्वास्थ्य सेवामा असमानता बढ्ने जोखिम सिर्जना गरिरहेको देखाएको छ। स्वास्थ्य विज्ञहरूले चिकित्सकलाई देशमै टिकाइराख्न पारिश्रमिक र सेवा–सुविधामा सुधार, विशेषज्ञ अध्ययनका अवसर विस्तार, सुरक्षित कार्य वातावरण, पारदर्शी मानव स्रोत व्यवस्थापन तथा अनुसन्धान र आधुनिक स्वास्थ्य पूर्वाधारमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन्। यस्ता सुधारबिना दक्ष चिकित्सकको विदेश पलायन रोक्न कठिन हुने उनीहरूको निष्कर्ष छ।





