• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालले भारत र चीनसँग सुमधुर सम्बन्ध राखिरहोस्: रिचर्ड थम्पसन, नेपालका लागि अमेरिकी राजदूत

  •  
  • २०८१ आश्विन ८, मंगलवार ०४:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७७ वर्ष पुगेको छ । यसैबीच नेपालका लागि अमेरिकी राजदूत डिन रिचर्ड थम्पसनले भर्खरै आफ्नो कार्यकालको दुई वर्ष पूरा गरेका छन् । सन् २०२२ को आमनिर्वाचनअघि नेपाल आएका उनले नेपाली राजनीति र समाजलाई नजिकबाट नियालेका छन् ।नेपालमा एमसीसीअन्तर्गतका ठूला अमेरिकी परियोजना, चीनसँगको भूराजनीतिक प्रतिस्पर्धा, भारतसँगको साझेदारीलगायतका विषयमा थम्पसनसँग उमेश चौहान र विश्वास बरालले गरेको संवाद :

     तपाईंले नेपालमा अमेरिकी राजदूतका रूपमा दुई वर्ष बिताइसक्नुभएको छ । यसबीच नेपाली राजनीतिमा कस्ता विकासक्रम देख्नुभयो ? नेपालमा तपाईंलाई के विषय विशेष लाग्यो ?नेपाली राजनीतिमा धेरै परिवर्तन भएका छन् । म सन् २०२२ नोभेम्बरमा सम्पन्न आमनिर्वाचनभन्दा केहीअघि यहाँ आएको थिएँ । यहाँको लोकतान्त्रिक प्रक्रियालाई हेर्नु, ठूलो संख्याका नेपाली आफ्नो मत दिन सहभागितालाई अवलोकन गर्नु साँच्चै नै रमाइलो अनुभव रह्यो । जुनसुकै देशमा होस्, लोकतन्त्र निकै सजीव र रंगीन अभ्यास हो । यस सन्दर्भमा नेपालले निराश तुल्याएन । यो विकसित भएको र विभिन्न सरकारको गठन प्रक्रियालाई नजिकबाट हेर्न पाउनु रोचक रह्यो ।

    सबैभन्दा राम्रो कुरा भनेको विभिन्न सरकारले द्विपक्षीय साझेदारीलाई अगाडि बढाउने र परियोजनाहरूमा काम गर्ने प्रतिबद्धता देखाए । म यहाँको अर्थतन्त्रका विभिन्न क्षेत्रमा भएका नवीन कामसँग पनि निकै प्रभावित भएको छु । आईटी क्षेत्रमा भएको रोमाञ्चक कार्य देखेको छु । जस्तो : पारम्परिक ब्याक–अफिस अपरेसनदेखि अत्याधुनिक एआई अनुसन्धान, स्कुले विद्यार्थीका लागि शैक्षिक ‘एप’ को विकास र हामीले पछिल्ला दुई वर्षमा आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर्स’ मेलामा सहभागिता । आफ्नो समाज र संस्कृतिबारे विभिन्न तरिकामा व्यक्त गर्ने नेपालीहरूको सिर्जनशीलता देख्दा निकै राम्रो लाग्यो । सबै हिसाबले यो अनुभव अद्वितीय भएको छ ।

    नेपाल र अमेरिकाबीच सम्बन्ध स्थापित भएको ७७ वर्ष पुगेको छ, यो कूटनीतिक इतिहासमा नेपालसँगको सम्बन्धलाई अमेरिकाले कसरी मूल्यांकन गर्छ ? तपाईंका विचारमा यो सम्बन्धका मुख्य विशेषता के–के हुन् ?

    हामीले सधैं नेपाली समाजसँग संवाद गर्ने र सुन्ने प्रयास गरेका छौं । यस आधारमा, हामीले सेवा दिने उत्पादनको दायरा परिष्कृत गरेका छौं । पिस कोर, यूएसएआईडी, मिलेनियम च्यालेन्ज कर्पोरेसन, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन वा हाम्रा सहायता र विकास प्रतिबद्धताका विभिन्न उपकरण छन् । यसको उपयोग गर्न नेपालले पनि आफ्नो क्षमता बढाएको छ । अमेरिका नेपाललाई आफ्नो अर्थतन्त्र विकासमा प्रयोग गर्न सकिने उपकरण र स्रोत थप्न सक्षम भएको छ । म यस कुरामा निकै गर्व गर्छु कि हामीले यो काम मुख्य रूपमा अनुदान–आधारित सहायतामार्फत गरेका छौं । जसले गर्दा यसका नकारात्मक पक्ष धेरै कम छन् । यसैबीच, हामीले अर्थतन्त्र वा समाजका विभिन्न क्षेत्रमा ध्यान केन्द्रित गरेका छौं । उदाहरणका लागि, डेभलपमेन्ट फाइनान्स कर्पोरेसनमार्फत हामी अहिले वित्तीय क्षेत्रसँग मिलेर काम गर्न सक्छौं । जसले साना र मध्यमस्तरका उद्यम, विशेषगरी महिलाद्वारा सञ्चालित उद्यमका लागि थप अवसर सिर्जना गर्न सकिन्छ । यूएसएआईडीमार्फत परम्परागत सहायता संयन्त्रहरूको प्रयोग गर्न सक्छौं ।

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आफैंले धेरै कुरा स्पष्ट गर्छ । यसले नेपालको अर्थतन्त्रमा परिवर्तनकारी हुने ठूला पूर्वाधार परियोजनालाई लक्षित गर्छ । यसले सडक र पूर्वाधार सञ्जालको विकासमा मद्दत पुर्‍याएको छ र नयाँ प्रविधि देखाएको छ । यसले सञ्जाल विस्तार गर्न, सडक थप सुरक्षित, भरपर्दो र मर्मतका लागि सजिलो बनाउन मद्दत पुर्‍याउन सक्छ । यसले बिजुली पूर्वाधार निर्माण गर्न मद्दत गरेको छ । जसले नेपाललाई हरित जलविद्युत्को आन्तरिक प्रयोग गर्न मात्र होइन, त्यसलाई क्षेत्रीय रूपमा निर्यात गरेर थप आम्दानी गर्न पनि मद्दत गर्नेछ । पछिल्ला ७७ वर्षमा भएका घटना र अहिलेको अवस्थालाई समेत देखेर हामी निकै उत्साहित छौं ।

    मिलेनियम च्यालेन्ज एकाउन्ट, नेपालअन्तर्गतका परियोजना कार्यान्वयनको अवस्था अहिले कस्तो छ ?

    एमसीसीमा स्पष्ट रूपमा ऊर्जा उच्च प्राथमिकतामा रहेको छ । यातायात पनि प्राथमिकताको विषय हो । हामीले सब–स्टेसनका लागि ठेक्का सम्झौता गरेका छौं । १८ किलोमिटर सीमापार प्रसारण लाइनका लागि सम्झौता गरिसकेका छौं । २९७ किलोमिटर लामो व्यापक प्रसारण लाइन प्याकेजका लागि पुनः टेन्डर गरेका छौं । जसलाई लागतमा भएका परिवर्तनका कारण पुनरावलोकन गर्नुपरेको थियो । तर हामी यो वर्षको अन्त्यसम्ममा यो काम पुनः सही दिशामा फर्काउने र परियोजनालाई पाँच वर्षको समयसीमाभित्र पूरा गर्ने कुरामा दृढ छौं । यसबारेमा हामी सकारात्मक छौं ।

    तर केही अवरोध पनि देखिएका छन् । किनकि प्रसारण लाइन थुप्रै स्थानीय तह भएर गुज्रिन्छ, समुदायका आफ्ना सरोकार पनि छन् । खरिद प्रक्रिया र प्रशासनिक प्रश्नहरू पनि छन् । तपाईं प्रसारण लाइन र सडक परियोजना पाँच वर्षमा सम्पन्न हुने अपेक्षा गर्नुहुन्छ ?

    मलाई यसबीच अझै पनि थप अवरोध आउँछन् जस्तो लाग्छ । सबैभन्दा ठूलो चुनौती २९७ किलोमिटर लामो प्रसारण लाइनका लागि बोलपत्रहरू प्राप्त हुँदा आयो । कोभिड, विश्वव्यापी महँगी, आपूर्ति शृंखला परिवर्तनजस्ता कारणले ढिलाइ भए । मानिसले सम्पूर्ण रूपमा यसको पूर्वानुमान गरेका थिएनन् । मलाई अचम्म लागेन । एमसीसीले अब संसारभरि यस्ता परियोजनाको धेरै अनुभव बटुलेको छ । त्यसैले यसमा चुनौती आउनु र पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना हुनु स्वाभाविक हो ।

    तर वास्तविक उपलब्धि त अगाडि बढ्ने सुनिश्चितता हो, जसले परियोजनालाई समयमै पूरा गर्न र सही दिशामा अघि बढ्न केन्द्रित हुन मद्दत गर्छ । नेपालको हकमा हामी भाग्यमानी छौं, किनभने हामीसँग यस्तो साझेदार छ, जसले परियोजनामा आफ्नै धेरै स्रोत लगानी गरेको छ । हामीसँग ५०० मिलियन अनुदान छ र नेपाल आफैंले झन्डै २०० मिलियन लगानी गरेको छ । यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा बनाइएको छ । अरू समस्या पनि अनिवार्य रूपमा आउनेछन् ।

    तर त्यसको सामना गर्न हामीसँग राम्रो टोली रहेको विश्वास गर्छौं र परियोजनालाई अगाडि बढाइरहनेछौं । यसले विकास सहयोग र ठूला पूर्वाधार परियोजना साझेदारीमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने सकारात्मक मोडलका रूपमा काम गर्न सक्छ । जुन मुख्य रूपमा आन्तरिक प्रक्रियाको परिणाम हो ।

    नेपालले एमसीसी परियोजनाका लागि अनुरोध गरेको कुरा नबिर्सौं । नेपाल सरकारले परामर्श प्रक्रियामार्फत यस परियोजनाको अवधारणा तयार गरेको हो, परियोजनाको डिजाइन गरेको हो र अहिले यसको मुख्य कार्यान्वयनकर्ता हो । हामी एक वित्तीय साझेदार हौं, तर यो अत्यधिक रूपमा नेपालको नेतृत्वमा भएको प्रयास हो ।

    एमसीसी परियोजना समयमा सकिनेमा अझै पनि शंका छ, परियोजना पाँच वर्षको समयसीमाभित्र पूरा गर्न नसकेमा के हुन्छ ?

    परियोजना पाँच वर्षभित्र पूरा हुने हो । तर कुनै विशेष चुनौतीको कारण परियोजना ६ वा ७ महिना ढिलाइ हुनेछ वा केही यस्तै अवस्था आउनेछ कि भन्ने विषयमा म केही भन्न सक्दिनँ । हाम्रो योजना र प्रक्षेपणमा, हामी यसलाई समयभित्रै सक्ने गरी अगाडि बढाउन सक्ने आशा गर्छौं । यदि यसलाई पाँच वर्षभन्दा पर लैजानुपरेमा साझेदारसँग मिलेर काम गर्नेछौं र समाधान निकाल्नेछौं ।

    म विश्वस्त छु कि अमेरिकाले प्रदान गरेको ५०० मिलियन डलर पाँच वर्षभित्र खर्च हुनेछ र यसले परियोजनाको पूरा कार्यान्वयनका लागि दृढ आधार बनाउनेछ । तर तपाईंको ‘हाइपोथेसिस’ मा फर्किने हो भने, वास्तवमै विभिन्न समुदाय छन् । धेरै मानिस यसबाट प्रभावित छन् । एकातिर यही कारणले हामी परामर्श प्रक्रियामा जोड दिन्छौं र हरेक कुरा यथासम्भव पारदर्शी बनाउनमा जोड दिन्छौं ताकि मानिसले थाहा पाउन सकुन्, के हुँदै छ ? पैसा कहाँ खर्च हुँदै छ ? कति रूख काट्नुपर्ने वा कुन ठाउँमा सडक निर्माण हुनेछ ? हाम्रा लागि सबैभन्दा मुख्य कुरा हो, समुदायका लागि कुनै अप्रत्याशित कुराहरू नआऊन् ।

    यदि अरू क्षेत्रमा चुनौती आए भने पनि हामीले परियोजनालाई अगाडि बढाउने प्रक्रिया छन् । म अझै पनि निकै विश्वस्त छु कि हामी सही ‘ट्र्याक’ मा छौं र चुनौतीहरू समाधान गर्नका लागि हामीसँग सही प्रणाली छन् । यो एक महत्त्वाकांक्षी प्रयास हो, यसमा कुनै शंका छैन । एमसीए नेपाल पनि यसलाई पाँच वर्षभित्र सफल बनाउन प्रतिबद्ध छ । तिनीहरू मिलेर काम गर्दै छन् ताकि यसलाई सही तरिका र पारदर्शी रूपमा पूरा गर्न सकियोस् भन्ने सुनिश्चित होस् । म विश्वस्त छु, हामी आवश्यक कुरा पूरा गर्न सक्षम हुनेछौं । साथै, सरकारबाट पनि दृढ प्रतिबद्धता रहेको छ कि यदि कतै कुनै सानो भाग बाँकी रह्यो भने अगाडि बढ्ने सुनिश्चित गरिनेछ ।

    म परियोजनाको अन्तिम सम्पन्नताबारे चिन्तित छैन । बरु हामीले यसलाई यथाशक्य चाँडो कसरी अघि बढाउने भन्नेमा म अझ बढी केन्द्रित छु । किनकि केवल परियोजनाको कार्यान्वयनले करिब १० हजार नेपालीलाई रोजगार दिन सक्नेछ । मलाई साँच्चै नै समुदायहरूले यथाशक्य छिटो यस परियोजनाको फाइदा लिन सुरु गरून् भन्ने चाहना छ । किनकि यही नै यसको रूपान्तरणकारी पक्ष हो । यसको एउटा भाग निर्माण गर्नु हो, अर्को भाग कार्यान्वयन गर्नु हो र अझ अर्को भाग यस प्रक्रियाबाट सिक्नु हो । तर जब यो पूर्वाधारको व्यवस्था पूरा हुन्छ, त्यसले नेपालको आर्थिक समृद्धिमा परिवर्तन ल्याउनेछ ।

    कतिपयको चासो छ कि परियोजना समयमा पूरा नभए द्विपक्षीय सम्बन्धमा दरार आउन सक्छ !

    उनीहरू डराउनुपर्छ भन्ने मलाई लाग्दैन । हामी यसमा साझेदार हौं । यदि कुनै समस्या या चुनौती आउँछन् भने हामी मिलेर समाधान गर्नेछौं । वास्तवमा, केही चुनौती छन् । जस्तै : प्रसारण लाइनको समस्या पहिले नै आइसकेका छन् । चुनौती आउँदा हामी मिलेर काम गर्दै छौं । त्यसैले, मानिसहरूले चिन्ता गर्न आवश्यक छैन । बरु परियोजनालाई सकेसम्म चाँडो र पूर्ण रूपमा कार्यान्वयन गर्नतिर ध्यान केन्द्रित गर्नुपर्छ ।

    अब भूराजनीतिका कुरा गरौं । क्षेत्रीय रूपमा भारत–चीनबीच प्रतिस्पर्धा भइरहेको हामी देख्छौं । उनीहरूको भाव यस्तो देखिन्छ कि, दुईमध्ये एकतिर हुनुपर्छ । नेपालको यो भूराजनीतिक स्थितिलाई कसरी हेर्नुहुन्छ ?

    वर्तमानमा देखिएको स्थिति र भविष्य कुन दिशातर्फ जाँदै छ भन्ने सन्दर्भमा यो राम्रो प्रश्न हो । हामीले विगतका केही वर्षहरूमा भारत–चीन सम्बन्ध र यसको विकासलाई केही हदसम्म चासोका साथ हेरिरहेका छौं । स्पष्ट छ, केही वर्ष पहिला उनीहरूबीच संघर्ष भएको थियो । मलाई लाग्छ, उनीहरू त्यसलाई व्यवस्थापन गर्न खोजिरहेका छन् । शंकै छैन, यस क्षेत्रका अन्य देशले पनि त्यसलाई गहिरो रूपमा महसुस गरिरहेका छन् ।

    हाम्रो दृष्टिकोणबाट, हामी चाहन्छौं कि यस क्षेत्रका देशहरू— विशेष गरेर नेपाल, किनकि म यहाँ नियुक्त छु र मलाई यहाँको केही ज्ञान छ— नेपालले आफ्नो सार्वभौमसत्ता प्रयोग गर्न सकोस् र आफ्ना जनताका तर्फबाट सकारात्मक तरिकामा भविष्यको निर्णय गर्न ठाउँ पाओस् ।

    हामीलाई लाग्दैन कि देशहरूले पक्ष छान्नुपर्छ । हाम्रो अपेक्षा छ, नेपालले भारत र चीनसँग सुमधुर सम्बन्ध राखिरहोस् । तिनीहरू दुई छिमेकी हुन् । तिनीहरू यस क्षेत्रका ठूला देशहरू हुन् । नेपालका लागि यी दुवै देशसँग काम गर्नु र तिनीहरूबाट लाभ उठाउनु अत्यन्त महत्त्वपूर्ण छ । त्यसै क्रममा, यसले हाम्रो सम्बन्धमा कुनै असर पार्नुपर्ने कारण देख्दैनौं । नेपालले अमेरिकाले प्रदान गरेको फाइदाहरूको पूर्ण रूपमा लाभ उठाउन नसक्नुपर्ने कुनै कारण छैन । हामी नेपालसँग साझेदारका रूपमा मिलेर काम गर्न र नेपाली जनताका लागि फाइदाजनक निर्णय गर्ने सक्षमताको प्रयोग गर्न प्रोत्साहन गर्दछौं ।

    अहिलेको अवस्थामा अमेरिका–चीन सम्बन्ध पनि निकै अनिश्चित छ । यसले अमेरिकाले विश्वभरि, विशेषतः नेपालमा चीनको भूमिकालाई कसरी हेर्छ भन्ने पनि चासो छ नि, होइन र ?

    हालसालै हाम्रा राष्ट्रिय सुरक्षा सल्लाहकारको उच्चस्तरीय भ्रमण चीनमा भयो । विदेशमन्त्री, वाणिज्यमन्त्री र वित्तमन्त्रीको भ्रमण पनि हालसालै भयो । म विश्वास गर्छु कि अहिलेको प्रतिस्पर्धालाई सकारात्मक तरिकाले व्यवस्थित गर्ने वास्तविक प्रयास छ, जसले थप सहकार्यतर्फ अग्रसर गराउन सक्छ । यो च्यानल अमेरिका र चीनले निरन्तर जारी राख्नुपर्छ, तर यो हाम्रो नेपालसँगको सम्बन्ध वा भारतसँगको सम्बन्धको परावर्तन होइन ।

    यो नेपालसँग मिलेर हामीले के गर्न सक्छौं भन्ने कुरामा आधारित छ । म अरू देशले हाम्राबारे के भनिरहेका छन् वा उनीहरूले कसरी हामीलाई प्रभाव पार्न खोजिरहेका छन् भन्नेमा टिप्पणी गर्न चाहन्नँ । म जोड दिएर के भन्न चाहन्छु भने हामी सकेसम्म पारदर्शी रहनेछौं, ताकि नेपालीहरूले हाम्रो सम्बन्धबाट के हुँदै छ भन्नेबारेमा आफैं निर्णय गर्न सकुन् ।

    हालसालै, बंगलादेशबाट शेख हसिना हट्नुमा अमेरिकालाई दोष लगाइएको थियो । अमेरिकालाई प्रायः अन्य दक्षिण एसियाली राष्ट्र र विश्वका अन्य भागमा घरेलु मामिलामा हस्तक्षेप गरेको आरोप लगाइन्छ । यसमा तपाईंकोप्रतिक्रिया के छ ?

    जसलाई आफ्नो देशबाट भाग्न बाध्य पारिएको छ, उसले भनेका कुनै पनि कुरा सतर्कतापूर्वक लिनुपर्छ । संयुक्त राज्य अमेरिका अन्य देशहरूको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दैन । हामी हाम्रा सम्बन्ध, हामीले के गरिरहेका छौं र हाम्रो उद्देश्य के हो भन्ने कुरालाई सकेसम्म पारदर्शी बनाउन धेरै मिहिनेत गर्छौं । यसको मतलब यो होइन कि यदि हामी कुनै देशसँग कुनै नीति वा मुद्दामा असहमत हुन्छौं भने हामीले त्यसलाई उठाउँदैनौं । तर अमेरिका सरकारले कुनै देशको सरकारलाई परिवर्तन गरेर फाइदा लिने कुरा हाम्रो कूटनीतिमा पर्दैन । बरु, हामी हाम्रा साझेदार देशहरूसँग सबैभन्दा बलियो सम्बन्ध निर्माण गर्न प्रयास गर्छौं । हामी जनता–जनताको सम्बन्धमार्फत बलियो सम्बन्ध निर्माण गर्न र हाम्रा साझेदार देशहरूमा सकेसम्म धेरै विकास अवसरहरू उपलब्ध गराउन रुचाउँछौं । त्यसैले म यस्ता हल्ला वा भनाइलाई कुनै महत्त्व दिन्नँ ।

    अहिले यस्तो धारणा पनि छ कि अमेरिका र भारत रणनीतिक मुद्दामा सँगै काम गर्दै छन् । खासगरी दक्षिण एसियामा यी दुई देशको साझेदारी कसरी अघि बढ्दै छ ?

    निश्चय नै, अमेरिका र भारतबीच रणनीतिक साझेदारीमा ठूलो वृद्धि भएको छ । मलाई लाग्छ, हामी यसमा सकारात्मक रूपमा अगाडि बढ्न चाहन्छौं । तर, त्यही समयमा, विभिन्न मुद्दामा अमेरिका र भारतबीच असहमति भएका छन्, जसरी हामीले हाम्रा अन्य धेरै साझेदारसँग असहमति राख्छौं ।

    हामी ती मुद्दालाई सक्रिय, व्यावसायिक र उत्पादक तरिकाले सम्बोधन गर्ने प्रयास गर्छौं । तर, फेरि पनि हामी हरेक देशसँगको सम्बन्धलाई द्विपक्षीय दृष्टिकोणबाट हेर्छौं । त्यसैले, यदि अमेरिका र भारतले सँगै काम गर्ने कुनै तरिका उपयोगी हुन सक्छ भने र अर्को देशले पनि यस्तो सहकार्यमा सहमति जनाएको छ भने त्यो ठीक छ । तर, जब नेपालको कुरा आउँछ, हामी हाम्रो सम्बन्ध र हाम्रो प्रयासलाई पहिलो प्राथमिकतामा राखेर द्विपक्षीय छलफल र द्विपक्षीय सम्बन्धमा आधारित गर्नेछौं ।

    अहिले हामी यो अन्तर्वार्ता गरिरहेका बेला, अमेरिकी र नेपाली सेना नेपालमा संयुक्त प्रशिक्षण गर्दै छन् । तपाईं दुई सेनाबीचको सम्बन्धलाई कसरी चित्रण गर्नुहुन्छ ?

    हो, ‘प्यासिफिक एन्जल’ अभ्यास चलिरहेको छ, जुन विपद् राहत र मानवीय सहयोगमा केन्द्रित छ । दुई सेनाबीचको सम्बन्ध बलियो छ, यो बलियो नै रहिरहनेछ । किनभने नेपालले चाहेको क्षेत्रमा नै हामीले पनि ध्यान दिएका छौं, जसले विपद्मा प्रतिक्रिया दिन सक्षम र उत्कृष्ट नेपाली सेना निर्माण गर्दै छ, मानवीय सहायता प्रदान गर्दै छ र संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि विश्वव्यापी सञ्जालको हिस्साका रूपमा काम गर्दै छ । जसमा नेपाल सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा छ । हामी नेपाललाई व्यावसायिक बनाउँदै र ती क्षेत्रमा क्षमता विकास गरेको देख्न चाहन्छौं । त्यसैले, हाम्रो ध्यान त्यहीं छ र हामी त्यही क्षेत्रमा प्रयास गरिरहनेछौं ।

    नेपालमा पनि इन्डो–प्यासिफिक रणनीति (आईपीएस) र यसको दक्षिण एसियामा प्रयोगबारे धेरै बहस भयो, अहिले यो बहस केही सतहमुनि गएजस्तो देखिन्छ खासगरी नेपालमा । तर, यसको वर्तमान अवस्था के छ ?

    इन्डो–प्यासिफिक रणनीति संयुक्त राज्य अमेरिकाको एक व्यापक रणनीति हो, जसले यस क्षेत्रमा कसरी हेर्छ भन्ने विषयलाई सम्बोधन गर्छ । यसमा, हामी कसरी सबैका लागि खुला, स्वतन्त्र र सार्वभौम इन्डो–प्यासिफिक क्षेत्र बनाउन सक्छौं भन्ने कुरा समेटिएको छ । हामीले गर्नुपर्ने काम भनेको यस क्षेत्रका हरेक देशसँगको सम्बन्धलाई सुदृढ गर्न यो रणनीतिलाई प्रयोग गर्नु हो ।

    हामी कसरी लोकतान्त्रिक विकासलाई समर्थन गर्न सक्छौं ? कसरी आर्थिक विकासलाई सहयोग गर्न सक्छौं ? हामीले बिर्सनु हुँदैन कि संसारको लगभग ६० प्रतिशत व्यापार कुनै न कुनै रूपमा इन्डो–प्यासिफिक क्षेत्रबाट हुँदै छ । यसलाई खुला र स्वतन्त्र राख्नु सबैका लागि हितकर हुन्छ । यस क्षेत्रका देशहरूले आफ्नै हितमा स्वतन्त्र रूपमा काम गर्न सकुन् भन्ने कुरा महत्त्वपूर्ण छ ।

    आईपीएसबाट अमेरिकाले र बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट चीनले एकअर्कालाई चुनौती दिन खोजिरहेका छन् भन्ने विश्वास गरिन्छ र नेपालले यी दुईबीच सन्तुलन कायम राख्न संघर्ष गरिरहेको छ । यसबारे तपाईंको धारणा के छ ?

    यूएसएआईडी, एमसीसी, डेभलपमेन्ट फाइनान्स कर्पोरेसन— हाम्रा सबै विकास कार्यक्रमको एउटै उद्देश्य हो कि हामीले हाम्रा द्विपक्षीय साझेदारसँग मिलेर उनीहरूको अर्थतन्त्रलाई विकास गर्ने, उनीहरूलाई आफ्ना जनताको आवश्यकता पूरा गर्न थप सक्षम बनाउने । त्यसैमा हामी केन्द्रित छौं । त्यही उद्देश्यले यी कार्यक्रम तयार गरिएका हुन् । हामी तिनलाई त्यही रूपमा हेर्नेछौं । बीआरआई भने चीनको पहल हो । चीनले यसलाई अगाडि बढाइरहेको छ । प्रत्येक देश अरूसँग कसरी सहकार्य गर्ने भन्ने निर्णय गर्न स्वतन्त्र छन् ।

    हाम्रो विश्वास छ कि यूएसएआईडी वा एमसीसीजस्ता कार्यक्रम, अनुदान–आधारित र आर्थिक विकासमा केन्द्रित भएकाले लाभदायक सिद्ध भइरहेका छन् । हामीले तिनलाई अझै अघि बढाउनेछौं किनकि हामीसँग भएका तथ्यांक र ऐतिहासिक अनुभवले तिनको समर्थन गर्छ । हामीले काम गर्ने हरेक क्षेत्रमा आफ्ना साझेदारहरूलाई समान रूपमा सम्बोधन गर्न सहयोग गर्नु हाम्रो जिम्मेवारी हो । यो अत्यन्त महत्त्वपूर्ण कुरा हो, जसलाई हामीले स्वीकार गर्नुपर्छ । र, हामीले सुनिश्चित गर्नुपर्छ कि उनीहरू पनि यसलाई स्वीकार गर्न सक्षम छन् ।

    यो विश्वास निर्माण गर्ने कुरा हो । हाम्रा उद्देश्य सही छन् भन्ने देखाउने कुरा हो । हामीले साझेदारहरूका हितलाई ध्यानमा राखेर काम गरिरहेका छौं भन्ने कुरा हो । र, हामीले सबैमा समान र पारदर्शी मापदण्ड लागू गरिरहेका छौं भन्ने देखाउने कुरा हो । उदाहरणका लागि, एमसीसीमा, हामीले सबै कुरा इन्टरनेटमा प्रकाशित गरेका छौं । नेपालमा जोसुकैले पनि परियोजनाको कुनै पक्षबारे प्रश्न गर्न चाहन्छ भने, वेबसाइटमा गएर परियोजनाबारे पढ्न सक्छन्, ‘ब्लुप्रिन्ट’ हेर्न सक्छन् र परियोजनाले के समेट्छ भन्नेबारेमा जानकारी प्राप्त गर्न सक्छन् ।

    यसैगरी हामी सम्बन्ध निर्माण गर्छौं । यदि म नेपालमा आएर ‘हेर्नुहोस्, म कुनै परियोजना गर्न चाहन्छु किनकि मलाई अर्को कुनै देशलाई चुनौती दिनु छ’ भनें भने अवश्य पनि मैले यहाँ राम्रो स्वागत पाउने छैन । हामी संसारलाई त्यस्तो रूपमा हेर्दैनौं । यो दीर्घकालीन रूपमा स्वस्थ दृष्टिकोण होइन । तर द्विपक्षीय ध्यान नै जनतालाई सशक्त बनाउन खोज्नमा छ भने मलाई विश्वास छ, हामीलाई अगाडि बढ्नका लागि उत्तम मौका छ ।

    नेपालको संसद्ले अन्ततः संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गरेको छ । यो अन्तर्राष्ट्रिय सरोकार भएको विषय पनि हो । अमेरिकाले यसलाई कसरी हेर्छ ? तपाईं संक्रमणकालीन न्याय प्रक्रियालाई कसरी हेर्नुहुन्छ ?

    यो एउटा महत्त्वपूर्ण कदम हो । हामी यसको वर्तमान दिशालाई सकारात्मक रूपमा हेरिरहेका छौं र हामी कसरी सहयोग गर्न सक्छौं भन्ने कुरा हेर्ने प्रयास गरिरहेका छौं । तपाईंले सायद याद गर्नुभएको होला, संसद्ले विधेयक पारित गरेपछि हामीले अन्य धेरै साझेदार देशहरूसँग मिलेर समर्थनको वक्तव्य जारी गर्‍यौं । हामी सबैलाई थाहा छ, यस्तो स्तरको द्वन्द्वलाई अन्त्यमा पुर्‍याउनु सधैं चुनौतीपूर्ण हुन्छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भइसकेको छ, जुन कठिन चुनौती थियो । तर, कार्यान्वयन पनि कठिन हुनेछ ।

    हामी कसरी सहयोगी बन्न सक्छौं भन्ने कुरा पत्ता लगाउन उत्सुक छौं र अन्य साझेदारहरू कसरी सहयोगी हुन सक्छन् भन्ने कुरा पनि हेर्नेछौं । यसमा केही द्विपक्षीय माध्यमहरूबाट हुन सक्छ, केही बहुपक्षीय माध्यमहरूबाट पनि हुन सक्छ । तर, म विशेष रूपमा उत्साहित छु, हामीले सधैं भनेका थियौं कि यो नेपालीले नै चलाउने प्रक्रिया हुनुपर्छ । र, यो नेपालीकै नेतृत्वमा आएको छ । यो पीडितकेन्द्रित हुनुपर्छ । मलाई लाग्छ, यो त्यस्तै छ । त्यसैले, तपाईंहरू कार्यान्वयनतर्फ अघि बढ्दा परामर्श प्रक्रियालाई जीवित राख्नुपर्छ भन्ने कुरा सुनिश्चित गर्न आवश्यक छ, ताकि पीडित समूह, बाल सैनिक समूह र अन्य समूहले आवाज उठाउन सकुन् । कसरी यसलाई समाधान गर्ने, क्षतिपूर्ति कसरी दिने र ती घटनामा न्याय दिलाउन कसरी अघि बढ्ने भन्ने कुरा मिलेर समाधान गर्न सकुन् ।

    प्रत्येक दिन हजारौं नेपाली युवा राम्रो रोजगारीको खोजीमा देश छोडिरहेका छन् । यो अवस्था किन छ भने देशमा उद्योगको विकास भएको छैन । यस सन्दर्भमा, अमेरिकाबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउने र नेपालमा पर्याप्त राम्रो रोजगारी सिर्जना गर्न सक्ने सम्भावना देख्नुहुन्छ ?

    म अवश्य देख्छु । अन्तर्वार्ताको सुरुमै मैले अहिले निकै उत्साहजनक देखिएका केही क्षेत्रका बारेमा कुरा गरेको थिएँ । अहिले आईटी, पर्यटन, स्वास्थ्य र ऊर्जा क्षेत्रमा अमेरिकाबाट धेरै चासो देखिएको छ, किनकि यी क्षेत्रहरू विकास भइरहेका छन् । हामी यहाँ थप अमेरिकी लगानी ल्याउने उपाय खोज्न निकै इच्छुक छौं, चाहे त्यो ‘इक्विटी’ जस्ता विकल्पबाट होस् वा प्रत्यक्ष द्विपक्षीय लगानीमार्फत । यो पनि सकारात्मक हुन सक्छ । नेपालले यस वर्षको अप्रिलमा लगानी शिखर सम्मेलन आयोजना गरेर राम्रो काम गर्‍यो । यसले निकै सकारात्मक सन्देश दिएको छ । यूएस चेम्बर अफ कमर्सका प्रतिनिधि अतुल केशप कार्यक्रममा उपस्थित थिए भन्ने कुरा तपाईंलाई याद होला । विगत डेढ वर्षमा, धेरै उच्चस्तरीय अमेरिकी अधिकारीहरूले यहाँ भ्रमण गरेका छन्, जुन उत्कृष्ट छ । अहिलेको महत्त्वपूर्ण कुरा भनेको नेपालले आफ्नो निजी क्षेत्र, आफ्नो सरकारमार्फत यहाँको लगानी वातावरणलाई सकेसम्म आकर्षक कसरी बनाउन सकिन्छ भन्ने पत्ता लगाउनु हो । यस अन्तर्वार्तामा हामीले देशहरूबीचको प्रतिस्पर्धाको विचारबारे कुरा गरेका छौं । लगानी आकर्षित गर्ने प्रतिस्पर्धा रहेको कुरा स्वीकार गर्छु । त्यसैले, नेपालले आफूलाई सकेसम्म आकर्षक कसरी बनाउन सकिन्छ र व्यवसाय गर्न कसरी सजिलो बनाउन सकिन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । यसले अन्य देशबाट आउने लगानीहरूलाई मात्र मद्दत गर्दैन, नेपालीहरूलाई पनि व्यवसाय सुरु गर्न सजिलो बनाउँछ । यसले नेपालीलाई आफूले चाहेको काम गर्न सजिलो बनाउँछ ।

    त्यसैले, अमेरिकी कम्पनीहरू, ब्रिटिस वा क्यानडाली कम्पनीलाई स्वागत गर्नुका साथै, विदेश गएका नेपाली पनि फर्केर यहाँको अर्थतन्त्र बलियो बनाउन मद्दत गरे भने हामी पनि खुसी हुनेछौं । हामीले देख्यौं कि उनीहरू अन्य देशहरूको अर्थतन्त्र बलियो बनाउन सक्षम र गतिशील छन् । हामीले यहाँ घरमै पनि त्यही गर्नुपर्छ । नेपालसँग हामीले गरिरहेका व्यापार र लगानी संरचना वार्ता सातौं चरणमा छन् । मेरो कार्यकालको बाँकी समयभरि, यसलाई अगाडि बढाएर लगानीको आकार दिन र यहाँको अर्थतन्त्रलाई फलिफाप बनाउन योगदान दिन उत्सुक छु ।

    कान्तिपुर अनलाईनबाट साभार

    Post Views: 215
    प्रकाशित मिति: २०८१ आश्विन ८, मंगलवार ०४:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.