इजरायलको हवाई आक्रमणमा परी अल-जजीराका पाँच जनासहित छ पत्रकार मारिएका छन् । आइतबार इजरायलले गाजास्थित अल-शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् ।
अल-जजिराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् ।

रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)का अनुसार सोही आक्रमणमा परेर थप ३ जना पत्रकार घाइते भएका छन् ।
पत्रकार शरीफले ‘हमास’को आतंकवादी सेलको प्रमुखको रुपमा काम गरेको आरोप लगाउँदै इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हवाई आक्रमण गरेको स्वीकार गरेको छ । आईडीएफले टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रुपमा काम गरिरहेका थिए ।’
तर अल-जजिराले सो आरोपलाई अस्वीकार गर्दै उनीहरु अस्पतालको मुख्य द्वारमा बनेको एक त्रिपालमा बसेर रिपोर्टिङ गरिरहेको बताएको छ । अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग भनेका छन्, ‘अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र आवाज थिए ।’
कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे)ले पनि अल-शरीफ गाजापट्टीमा जारी युद्धको सुरुवातदेखि नै अल-जजिराका लागि काम गर्दै आएका थिए ।
आईडिएफले यसअघि देखि नै शरीफलाई हमासको सैन्य सदस्य रहेको भन्दै आरोप लगाउँदै आएको थियो । गत जुलाई २४ मा आईडीएफले पत्रकार अल शरीफ सन् २०१३ मा हमासको सैन्य शाखा अल-कस्मामको एक सदस्य रहेको आरोप लगाएको थियो ।
आईडीएफका प्रवक्ता अविचाय अद्राईले एक भिडियो जारी गर्दै शरीफले ‘सबैभन्दा आपराधिक र आक्रमक च्यानल’का लागि काम गरेको आरोप लगाएका थिए ।
तर शरीफले आफू कुनै पनि आतंकवादी संगठनमा नरहेको भन्दै आरोपको खण्डनसमेत गरेका थिए । उनले ‘सिपिजे’सँग मिडियालाई बदनाम गर्नका लागि झुटो आरोप लगाएको बताएका थिए । उनले भनेका थिए– ‘गाजापट्टीमा इजरायलले मच्चाएको अपराधबारे मैले गरेको रिपोर्टिङका कारण उनीहरु मलाई मार्न चाहन्छन् ।’
तर लामो समयदेखि आरोप लगाउँदै आएका शरीफसहित छ जना पत्रकार आइतबार हवाई आक्रमणमा मारिए । विना प्रमाण पत्रकारलाई झुटो आरोप लगाउनुले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सिपिजेले यसको विरोध गरेको छ ।
सिपिजेका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा भइरहेको युद्धमा परेर हालसम्म १८६ जना पत्रकार मारिएका छन् । जसमध्ये १७८ जना प्यालेस्टाइनी पत्रकारहरु छन् । अल जजिराका अनुसार युद्धमा परी ६१ हजारभन्दा बढी नागरिक मारिएका छन् भने एक लाख ५३ हजारभन्दा बढी घाइते भएका छन् ।




