अमेरिकी गृह सुरक्षा विभाग होमल्याण्ड सेक्यूरिटीले जनाए अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि हालसम्म अनुमानित २५ लाख अवैध आप्रवासीहरू अमेरिकाबाट बाहिरिएका छन्। “ट्रम्प प्रशासनले २५ लाखभन्दा बढी अवैध आप्रवासीहरू अमेरिका छोड्न बाध्य बनाउँदै ऐतिहासिक कीर्तिमान तोडिरहेको दावी गरेको छ । होमल्याण्ड सेक्यूरिटले ६ लाख ५ हजारभन्दा बढी अवैध आप्रवासीलाई निष्कासन गरिएको र थप १९ लाखले आफैं देश छोडेको उल्लेख छ । २०२५ जनवरी २० देखि हालसम्म होमल्याण्ड सेक्यूरिटीले ५ लाख ९५ हजारभन्दा बढी अवैध आप्रवासीलाई पक्राउ गरेको छ,” सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले प्रेस विज्ञप्तिमा बताएकी छिन ।


होमल्याण्ड सेक्यूरिटीले निष्कासनसम्बन्धी तथ्याङ्क कडाइका साथ अभिलेख राखे पनि, आफैं देश छोड्ने अवैध आप्रवासीहरूको संख्या केवल अनुमान मात्र हो, किनकि धेरैजसो आप्रवासीहरूले सरकारलाई जानकारी नदिई देश छोड्छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको छ महिनाको समयमा, १ लाख ५० हजार निष्कासन भएको र कुल १६ लाख अवैध आप्रवासीले देश छोडेको जनाएको थियो। तर होमल्याण्ड सेक्यूरिटीले आफैं देश छोडेका करिब १३ हजार आप्रवासी मात्र अभिलेख गरेको थियो। जसअन्तर्गत अवैध आप्रवासीहरूलाई देश छोड्न निःशुल्क हवाई टिकट र १,००० डलर बोनस दिइएको थियो त्यो प्रयोग गर्नेको सख्या भने निकै न्यून रहेको उल्लेख छ ।
होमल्याण्ड सेक्यूरिटीले जुलाईयतादेखि निष्कासनको संख्या झन्डै चार गुणा बढेको छ—चारदेखि पाँच महिनाको अवधिमा १ लाख ५० हजारबाट बढेर ६ लाख ५ हजार पुगेको उल्लेख छ । होमल्याण्ड सेक्यूरिटीले आप्रवासन कार्यान्वयन अभियानमा एउटा ठूलो मोड ट्रम्पले कार्यकारी आदेश कानुनमा हस्ताक्षर गरेपछि आएको हो। यस कानुनले आप्रवासन कार्यान्वयनका लागि करिब १७० अर्ब डलर विनियोजन गरेको छ, जसमा आप्रवासन तथा भन्सार प्रवर्तनको थुनुवा क्षमता विस्तारका लागि ४५ मिलियन डलर र कर्मचारी तथा कार्यान्वयन अभियानका लागि ३० अर्ब डलर समावेश थियो ।
ट्रम्प प्रशासनले आफ्ना अभियानहरू अवैध आप्रवासीहरूमध्ये “सबैभन्दा खराब अपराधीहरू” लाई लक्षित गर्दै आपराधिक इतिहास भएका व्यक्तिहरूको पक्राउमा केन्द्रित रहेको दाबी गरेको छ। विभागका अनुसार पक्राउ परेका अवैध आप्रवासीहरूमध्ये ७० प्रतिशत माथि अपराधको अभियोग लागेको वा दोषी ठहर भइसकेको छ। यसै साता विभागले “The Worst of the Worst” शीर्षकको नयाँ वेबसाइट सार्वजनिक गरेको छ, जसमा नाबालकहरूमाथि यौन दुर्व्यवहारजस्ता जघन्य अपराधमा अभियोग लागेका अवैध आप्रवासीहरूको विवरण देखाइन्छ।





